१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०८० फाल्गुण २ बुधबार १३:२४:००
Read Time : > 1 मिनेट
विश्व डिजिटल संस्करण

अमेरिकी राष्ट्रपतिले ल्याएको युक्रेन सहायता ‘प्याकेज’ सभामुखद्वारा अस्वीकार

Read Time : > 1 मिनेट
२०८० फाल्गुण २ बुधबार १३:२४:००

अमेरिकी प्रतिनिधिसभाका सभामुखले रुसी नेता भ्लादिमिर पुटिनविरुद्ध उभिनका लागि युक्रेनलाई युद्ध सहायता प्रदान गर्न आवश्यक रहेको अमेरिकी राष्ट्रपति जो बाइडेनको आग्रहलाई बेवास्ता गर्दै मंगलबार युक्रेनका लागि युद्ध सहायता रोकेका छन्।

आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा बाइडेनका सम्भावित प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पनिकट सभामुख माइक जोनसनले आफूले विधेयकमाथिको मतदानलाई अगाडि बढाउने कुनै मनसाय नरहेको बताएका छन्।

उक्त विधेयक मंगलबार सिनेटमा पारित भएको थियो। यसमा मुख्यतया पश्चिमसमर्थक युक्रेनको सुरक्षाका साथै इजरायल र ताइवानको शीर्ष अमेरिकी रणनीतिक प्राथमिकताहरूका लागि ९५ अर्ब अमेरिकी डलरको कोष समावेश छ।

ह्वाइटहाउसमा बाइडेनले अमेरिकी सहयोगी राष्ट्रलाई सहयोग गर्नु र विशेषगरी युक्रेनले दुई वर्षदेखि जारी रुसी आक्रमणलाई रोक्न संघर्ष गरिरहेको अवस्थामा सहयोग गर्नु आधारभूत जिम्मेवारी भएको बताएका थिए।

‘इतिहासले चिहाइरहेको छ,’ बाइडेनले टेलिभिजनमा पाँचपटक उक्त वाक्यांश दोहोर्‍याउँदै भनेका थिए, ‘यो विधेयकको समर्थन गर्नु पुटिनको विपक्षमा उभिनु हो। यसको विरोध गर्नु पुटिनको हातमा खेल्नु हो।’

पूर्वराष्ट्रपति ट्रम्पले आर्थिक प्रतिबद्धता पूरा गर्न असफल भएका नेटो सदस्यराष्ट्रहरूमाथि आक्रमण गर्न रुसलाई प्रोत्साहित गरेपछि राष्ट्रपति बाइडेनले ट्रम्पको पनि आलोचना गरेका थिए।

संसद् (अमेरिकी कङ्ग्रेस) मा रहेको अस्तव्यस्तताका कारण युक्रेनलाई दिने अमेरिकी सहयोग महिनौँदेखि ठप्प भएको छ भने युक्रेनी नेताहरूले बढ्दो रुसी आक्रमणको सामना गर्न मद्दतको याचना गरिरहेका छन्।

सिनेटको ९५ अर्ब डलरको प्याकेजमा इजरायली सेना र ताइवानका लागि आर्थिक सहयोग समावेश गरिएको छ, तर ६० अर्ब अमेरिकी डलरको ठूलो हिस्साले युक्रेनलाई गोलाबारुद आपूर्ति, हतियार र अन्य महत्वपूर्ण आवश्यकताहरूको पुनः भण्डारण गर्न मद्दत गर्नेछ।

केही रिपब्लिकनहरूले ट्रम्पको पर्दा पछाडिको चालबाजीलाई अस्वीकार गरेपछि यो सिनेटमा सजिलै पारित भएको थियो। तर, जोनसनले मेक्सिकोको सीमापार संयुक्त राज्य अमेरिकामा अवैध आप्रवासन रोक्न कडा नयाँ उपायहरूविना युक्रेनको सुरक्षालाई सम्बोधन गर्न नसक्ने बताए। उनले भने, ‘हामी वास्तवमा यो सीमामा नियन्त्रण प्राप्त गर्न अमेरिकी जनताप्रति ऋणी छौँ।’

वास्तवमा, दशकौँमा सबैभन्दा कठोर नयाँ अमेरिकी सीमा सुरक्षा उपायहरू लागू नगरीकन विदेशी सहायता प्रदान गर्न सिनेटमा डेमोक्य्राटहरूले पहिले नै रिपब्लिकनहरूसँग मिलेर संयुक्त विधेयक तयार गर्न सहकार्य गरिसकेका छन्।

उक्त विधेयक सिनेटमा अनुमोदनका लागि राखिएको थियो, तर जोनसनले सदनमा यसलाई रोक्ने घोषणा गरेका छन्। यसले सिनेटलाई उक्त संस्करणलाई त्याग्न र मंगलबारको नयाँ विदेशी सहायता मात्र विधेयकमा प्रवेश गराउन उत्प्रेरित गरेको थियो। यसलाई जोनसनले फेरि एकपटक अस्वीकार गरेका छन्।

गत चुनावमा पराजित भए पनि रिपब्लिकन पार्टीमा प्रभुत्व जमाएका र अहिले चारवटा छुट्टाछुट्टै मुद्दामा ९१ वटा आपराधिक मुद्दा खेपिरहेका ट्रम्पले यो अवधिभरि नै कंग्रेसको लगाम खिच्न सफल भएका छन्।

उनले युक्रेनलाई रुसविरुद्धको लडाइँमा सहयोग गर्ने कुराको विरोध गर्दै आफू निर्वाचित भएमा एक दिनमै युद्धको वैकल्पिक समाधान गर्ने बताउँदै आएका छन्। उनले सांसदहरूलाई अमेरिकी सीमा सुधारसम्बन्धी विधेयकलाई पारित नगर्न खुलेआम अह्वानसमेत गरे।