१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार o८:३५:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

गिरीमाथिको कारबाही सदर गरेकोमा सभामुखप्रति असन्तुष्टि

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o८:३५:oo

सुदूरपश्चिम प्रदेश सभा सदस्य इन्दिरा गिरीलाई गरिएको कारबाही सदर गरेको भन्दै नागरिक उन्मुक्ति र कांग्रेस सांसदले सभामुख भीमबहादुर भण्डारीसँग असन्तुष्टि जनाएका छन् । नागरिक उन्मुक्तिका रेशम चौधरीनिकट सांसद र कांग्रेस सांसदको टोलीले मंगलबार सभामुखलाई भेटेर कारबाही सदर गरेकोप्रति असन्तुष्टि जनाएको हो ।

घनश्याम चौधरी, सांसद, नाउपा
संसदीय दलले कारबाही गरेको छैन । संसदीय दलले सिफारिस नगरी संसद्ले सूचना टाँस गरेकोबारे सभामुखलाई भेटेर आपत्ति जनायौँ । कारबाहीका लागि अध्यक्षले पत्र पठाउनु विधिविधानविपरीत छ ।

नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीका समानुपातिक सांसद गिरीलाई पार्टीले फिर्ता बोलाउने निर्णयसहितको पत्र पठाएपछि सभामुखले सदर गरेका थिए । पार्टीले फिर्ता बोलाएको जानकारीसहितको सूचना प्रदेश सभाले सोमबार जारी गरेसँगै गिरी सांसद पदबाट हटेकी छिन् । 

नागरिक उन्मुक्तिको संसदीय दलले भने पार्टीको निर्णयका आधारमा कारबाही गरिएको भन्दै आपत्ति जनाएको छ । संसदीय दलको सिफारिसविना गरिएको कारबाही सदर गरेकाले सभामुखको ध्यानाकर्षण गराइएको नागरिक उन्मुक्ति संसदीय दलका नेता घनश्याम चौधरीले बताए । संसदीय दलको सिफारिसविना पार्टीले गरेको कारबाहीको सिफारिस वैधानिक नहुने उनले दाबी गरे । ‘संसदीय दलले कारबाही गरेको छैन । संसदीय दलले सिफारिस नगरी संसद्ले सूचना टाँस गरेकोबारे सभामुखलाई भेटेर आपत्ति जनायौँ,’ चौधरीले भने, ‘कारबाहीका लागि अध्यक्षले पत्र पठाउनु विधिविधानविपरीत छ ।’

नागरिक उन्मुक्तिकी अध्यक्ष श्रेष्ठले संसदीय दलको नेताबाट घनश्यामलाई हटाएको पत्रसमेत प्रदेश सभा सचिवालयलाई पठाएकी छिन् । उनले पठाएको पत्रमा पार्टी संसदीय दलको विधान तयार नभएकाले केन्द्रीय कमिटी बैठकले सांसद कैलाश चौधरीलाई दलको नेता नियुक्त गरेको जनाइएको छ । घनश्यामले भने दलको नेता हटाउने पार्टीको निर्णय पनि वैधानिक नभएको दाबी गरे ।

दलको नेता पार्टीले नभई संसदीय दलले फेरबदल गर्न सक्ने व्यवस्था विधानमा रहेको उनले बताए । उनले आफू सर्वसम्मत रूपमा दलको नेता चुनिएको उल्लेख गर्दै पार्टीले हटाउन नसक्ने बताए । ‘हाम्रो संसदीय दलको विधान प्रदेश सभा सचिवालयमा पनि दर्ता गरिएको छ । कारबाही गर्ने विभिन्न दफा, उपदाफा छन्, ह्विप उल्लंघनका विषय होलान् । हटाउनुको कारण दिनुपर्ने होला,’ उनले भने ।

ad
ad