मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
रासस मस्को
Invalid date format १७:१४:oo
Read Time : > 1 मिनेट
विश्व डिजिटल संस्करण

रुसी निर्यात युरोपमा दुईतिहाइले घट्दा एसियामा ५.६ प्रतिशतले वृद्धि

Read Time : > 1 मिनेट
रासस, मस्को
नयाँ पत्रिका
Invalid date format १७:१४:oo

युरोपेली संघ (इयू)ले रुसी तेल तथा ग्यासको खरिदमा भारी कटौती गरेपछि सन् २०२३ मा युरोपमा हुने रुसी निर्यातमा दुईतिहाइभन्दा बढीले गिरावट आएको रुसको भन्सार कार्यालयले जनाएको छ।

युक्रेनविरुद्धको सैन्य आक्रमणलाई लिएर मस्कोमाथि आर्थिक दबाब सिर्जना गर्न इयूका देशहरूले रुसबाट हुने अधिकांश ऊर्जा खरिद रोकेका छन्।

सन् २०२३ मा युरोपमा हुने रुसी निर्यात ६८ प्रतिशतले घटेर ८४.९ अर्ब डलरमा झरेको रुसको संघीय भन्सार कार्यालयलाई उद्धृत गर्दै रुसी समाचार संस्था इन्टरफ्याक्सले जनाएको छ। युरोपलाई देशको मुख्य ऊर्जा ग्राहकको रूपमा प्रतिस्थापन गरेको एसियामा निर्यात ५.६ प्रतिशतले वृद्धि भई ३०६.६ अर्ब डलर पुगेको रुसले जनाएको छ।

पश्चिमा प्रतिबन्धहरूको मारमा परेपछि मस्कोले छुट्टाछट्टै देशहरूसँगको व्यापारसहितका आर्थिक तथ्यांकको विशाल श्रृंखला प्रकाशित गर्न बन्द गरेको छ। बेइजिङ र मस्कोबीचको बढ्दो आर्थिक, व्यापारिक र राजनीतिक सम्बन्धका बीच गत वर्ष दुई देशबीच दुईतर्फी व्यापार २४० अर्ब अमेरिकी डलर पुगेको चिनियाँ भन्सारसम्बन्धी छुट्टाछुट्टै तथ्यांकले देखाएका छन्।

रुसको केन्द्रीय बैंकले पनि गत हप्ता रुसी बैंक खातामा चिनियाँ युआनको होल्डिङ पहिलोपटक अमेरिकी डलरभन्दा बढी पुगेको जनाएको थियो। रुसको वित्तीय प्रणालीले डलरमा उसको पहुँचमा प्रतिबन्धको सामना गर्दै चिनियाँ मुद्रालाई अँगालेको छ।

रुसको समग्र व्यापार अधिशेष सन् २०२३ मा एक खर्ब ४० अर्बमा पुगेको छ। यो सन् २०२२ को तुलनामा ५८.५ प्रतिशत कम भएको छ। मस्कोले ऊर्जाबाट संकलन गर्ने विशाल राजस्व युक्रेनविरुद्ध गरेको आक्रमणपछि युरोपेली मुलुकले लगाएको प्रतिबन्धका कारण गुमाएको छ। यसले युरोपमा ऊर्जाको व्यापक अभाव हुनुका साथै मूल्यवृद्धिसमेत भएको छ।

तेल र ग्यासको मूल्यवृद्धिका कारण युरोपेली मुलुकले रुसबाट आयात गर्दै आएको ऊर्जा खरिदलाई शून्यमा झार्ने चेतावनीबीच रुसबाट युरोपतर्फ जाने ऊर्जा बजार पूर्ण रूपमा बन्द हुन सकेको छैन।

प्रत्येक महिना अर्बौँ डलरको आम्दानी हुने ऊर्जा निर्यात रुसको बजेटको लागि राजस्वको एक महत्त्वपूर्ण स्रोत हो। इन्टरफ्याक्सका अनुसार गत वर्ष युरोपबाट रुसी आयात पनि १२.३ प्रतिशतले घटेर ७८.५ अर्ब डलरमा झरेको थियो भने एसियाबाट खरिद गरिएका सामानको मूल्य २९.२ प्रतिशतले बढेर एक खर्ब ८७ अर्ब डलर पुगेको थियो।