१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार o८:४५:oo
Read Time : > 2 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

उत्कृष्ट विधामा क्रिकेट र एथलेटिक्सको दबदबा

२८ माघमा आयोजना हुने अवार्डको शुक्रबार चार व्यक्तिगत विधातर्फ तीन खेलाडी समेट्दै अन्तिम मनोनयन सार्वजनिक

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o८:४५:oo

एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड ०७९ को वर्ष उत्कृष्ट प्रशिक्षक, पुरुष र महिला खेलाडीको अन्तिम मनोनयन सार्वजनिक भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले २८ माघमा आयोजना गर्ने अवार्डको शुक्रबार चार व्यक्तिगत विधातर्फ तीन खेलाडी समेट्दै अन्तिम मनोनयन सार्वजनिक गरेको हो । यसपटक पहिलो चरणमा चार विधाका समान आठजनालाई मनोनयनमा राखिएको थियो । मञ्चको खेलाडी छनोट समितिले अन्तिम मनोनयनको घोषणा गरेको हो । यसमा क्रिकेट र एथलेटिक्सले दबदबा राखेका छन् । 

पुरुष :  वर्षको उत्कृष्ट पुरुष विधामा तीनजना खेलाडी सार्वजनिक हुँदा क्रिकेटका दुईजना परेका छन् । थप एकजना एथलेटिक्स खेलाडी हुन् । क्रिकेटबाट आसिफ सेख र कप्तान रोहितकुमार पौडेल छनोटमा परे । एथलेटिक्सका दीपक अधिकारी रहेका छन् । गत वर्ष रोहितको कप्तानीमा नेपालले आइसिसी विश्वकप लिग–२ मा १२ मध्ये ११ खेल जित्दै एकदिवसीय मान्यता रक्षा गरेको थियो । रोहितले ०७९ को वर्षमा २७ एकदिवसीयमा चार अर्धशतकसँगै ६ सय ७९ रन जोडेका थिए । यसैगरी, शेखले एकदिवसीय खेलमा एक हजार ९३ रन जोडे । उनले लिग–२ मा पपुवा न्युगिनीविरुद्ध एक सय १० रन बनाए । एथलेटिक्सका अधिकारीले एसियाली क्रस कन्ट्रीमा दुई स्वर्ण र घरेलु प्रतियोगितामा चार स्वर्ण हात पारेका थिए । उनले १६औँ एसियाली क्रस कन्ट्रीअन्तर्गत १० किमिमा स्वर्ण हात पारे । नवौँ राष्ट्रिय खेलकुदमा समेत उनले १० किमिमा शीर्ष स्थान रक्षा गरे । 

महिला :  यस विधामा एथलेटिक्सका दुई र बास्केटबलबाट एकजना खेलाडी अन्तिम छनोटमा परेका छन् ।बास्केटबलकी अनुशा मल्लले माल्दिभ्समा भएको साबा महिला च्याम्पियनसिपमा रजत जितेकी थिइन् । नेपालले खेलेका तीनमध्ये दुई खेलमा सर्वाधिक स्कोरकर्ता बनेकी थिइन् । यसैगरी, एथलेटिक्सकी पुष्पा भण्डारीले बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण हात पारेकी थिइन् । उनले सहारा र कान्तिपुर हाफ म्याराथनमा रजत जितेकी थिइन् । एथलेटिक्सकै राजपुरा पछाईले १६औँ एसियन क्रसकन्ट्री च्याम्पियनसिप १० किमिमा रजत पदक हात पारिन् । वीर गणेशमान सिंह र धरान १० किमि रोड रेसमा उनले स्वर्ण जितिन् । कान्तिपुर, पोखरा, लुम्बिनी, इलाम माइपोखरी र प्रधानसेनापति हाफ म्याराथनमा उनी स्वर्ण विजेता खेलाडी हुन् ।

 प्रशिक्षक :  मञ्चले सार्वजनिक गरेको वर्षको उत्कृष्ट प्रशिक्षकमा चन्द्र गुरुङ (एथलेटिक्स), बक्सिङका दीपक महर्जन र क्रिकेटका जगत टमाटा अन्तिम तीन सूचीमा परेका छन् । गुरुङको प्रशिक्षणमा नेपालले १६औँ एसियाली क्रसकन्ट्री च्याम्पियनसिपमा दुई स्वर्ण जितेको थियो । बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा नेपालले  एक स्वर्ण र दुई कांस्य जित्दाका उनी नै प्रशिक्षक थिए । यसैगरी, बक्सिङमा महर्जनको प्रशिक्षणमा नेपालले एएसबिसी यू–२२ एसियाली महिला तथा पुरुष बक्सिङ च्याम्पियनसिपमा एक रजत र तीन कांस्य पदक हात पारेको थियो । सो च्याम्पियनसिपमा सुष्मा तामाङले रजत जितेकी थिइन् । यसैगरी, क्रिकेटका टमाटाको प्रशिक्षणमा नेपालले आइसिसी यू–१९ विश्वकप क्रिकेटमा नेपाललाई आठ वर्षपछि स्थान बनाएको थियो । 

युवा :  यस विधामा क्रिकेटका देव खनाल, एथलेटिक्सकी राममाया बुढा र बक्सिङकी सुष्मा तामाङ अन्तिम मनोनयनमा परेका छन् । क्रिकेटका देवको कप्तानीमा नेपालले आठ वर्षपछि यू–१९ विश्वकपमा स्थान सुरक्षित गरेको थियो । उनकै कप्तानीमा नेपालले युएईलाई फाइनलमा पराजित गरी एसिया छनोटको उपाधि जितेको थियो । उनले पाँच खेलमा एक सय ९७ रन जोडेका थिए । यसैगरी, एथलेटिक्सकी राममायाले १६औँ एसियाली क्रसकन्ट्री च्याम्पियनसिपमा जुनियर व्यक्तिगत र टिम इभेन्टमा रजत हात पारेकी थिइन् । 

उनले एपिएफ परिवार महिला संघ हाफ म्याराथनमा स्वर्ण जितेकी थिइन् । गोल्डेन एथलेटिक्स मिटको १५ सय मिटर दौडमा स्वर्ण जितेकी राममाया देवदह हाफ म्याराथनमा शीर्ष स्थानमा रहिन् । यसैगरी, बक्सिङकी सुष्माले गत वर्ष एएसबिसी यू–२२ एसियन महिला तथा पुरुष बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक रूपमा रजत जितेकी थिइन् । नेपालले एसियालीस्तरमा जितेको अहिलेसम्मको ठूलो पदक हो । एएसबिसी यू–२२ च्याम्पियनसिपमा रजत जितेपछि उनी सीधै महिला वल्र्ड बक्सिङ च्याम्पियनसिपमा छनोट भइन् । नवौँ राष्ट्रिय खेलकुदमा महिला ४८ केजी तौलमा बागमती प्रदेशका लागि उनले स्वर्ण हात पारेकी थिइन् । 

ad
ad