Skip This
कोरियामा स्पोर्टस् ग्लोबल टुरिजम सम्मेलन सम्पन्न, नेपालको खेल पर्यटन प्रवर्द्धन सम्मेलनको मुख्य उद्देश्य
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
२o८१ बैशाख २६ बुधबार १२:४५:oo
Read Time : > 2 मिनेट
ad
ad
प्रवास डिजिटल संस्करण

कोरियामा स्पोर्टस् ग्लोबल टुरिजम सम्मेलन सम्पन्न, नेपालको खेल पर्यटन प्रवर्द्धन सम्मेलनको मुख्य उद्देश्य

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार १२:४५:oo

दक्षिण कोरियाको राजधानी सोलमा स्पोर्टस् ग्लोबल टुरिजम २०२४ सम्मेलन भएको छ । नेपालको प्राकृतिक तथा भौगोलिक पर्यावरणअनुसारको पर्यटक खेलकुदलाई संवर्द्धन तथा प्रवर्द्धन गर्ने उद्देश्यले दक्षिण कोरियामा एकदिने सम्मेलन आयोजना गरिएको हो ।

सम्मेलन सोलस्थित हान्याङ विश्वविद्यालयमा भएको हो । नेपाली राजदूतावास दक्षिण कोरिया, गैरआवासीय नेपाली संघ (एनआरएनए)को ग्लोबल एनआरएन फाउन्डेसन, हान्याङ विश्वविद्यालय तथा एनआरएनएका पूर्वअध्यक्ष डा. शेष घले र पूर्वआइसिसी सदस्य जमुना घले गुरुङद्वारा स्थापित एमआइटी ग्रुपको एमआइटी फाउन्डेसनले संयुक्त रूपमा सम्मेलन आयोजना गरेको हो । सम्मेलनमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसिसी) दक्षिण कोरियाले सहकर्ताको भूमिका निर्वाह गरेको थियो ।

सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्रमन्त्री एनपी साउद, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सेर्पाली ठकुरीले पठाएको शुभकामना सन्देश पढेर सुनाइएको थियो । कार्यक्रममा द. कोरियाका लागि नेपाली राजदूत डा. ज्योति प्याकुरेल र एनआरएनए आइसिसीका सल्लाहकार तथा अमेरिकाको वासिङ्टन राज्यका लागि नेपालका अवैतनिक महावाणिज्यदूत एसी शेर्पा सहभागी थिए । 

प्रधानमन्त्री प्रचण्डले शुभकामना सन्देशमा अपार सम्भावना बोकेको नेपाली खेलकुद पर्यटनको विकासका लागि चासो र सोचसहितको सम्मेलन गरेकोमा खुसी व्यक्त गरेका थिए । विश्वमा एक सुन्दर पहिचान बोकेको नेपालसँग एक अर्को महत्वपूर्ण आर्थिक र समृद्धिको आधार खेलकुद पर्यटनको सम्भावना रहेको भन्दै उनले राष्ट्रको उन्नतिका लागि खेलकुद पर्यटनको अपार सम्भावनालाई सदुपयोग गर्ने हाम्रो यात्रामा सम्मेलन महत्वपूर्ण कोसेढुंगा साबित हुने विश्वास व्यक्त गरेका थिए । 

उनले खेल क्षेत्रको व्यापकता खेलमा मात्रै नभएर देशको आर्थिक, सामाजिक र संस्कृतिक विकास र उन्नतिमा पनि उत्तिनै महत्वपूर्ण हुने भन्दै त्यसलाई नेपालजस्तो अपार सुन्दरतासँग जोडेर लग्न सकिने भए पनि अझै सुरुवात गर्न नसकिएको बताएका थिए । 

परराष्ट्रमन्त्री एनपी साउदले लिखित सन्देशमा दक्षिण कोरियाले औद्योगिक र प्रविधिमा मात्रै विकास नगरेर खेलकुदको क्षेत्र र संस्कृति तथा पर्यटन क्षेत्रमा पनि अभूतपूर्व विकास गरेजस्तै नेपालले पनि विकास गर्न सक्ने बताएका थिए । नेपालले त्यसबाट धेरै सिक्न सक्ने भन्दै उनले नेपालमा पनि अथाह पर्यटकीय खेलको सम्भावना बोकेकाले यस विषयमा सम्मेलन गरेकोमा आयोजकलाई धन्यवाद दिए । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सेर्पाली ठकुरी कार्यक्रममा सहभागी थिइन् । उनले सरोकारवाला पक्षका रूपमा सँगै बसेर छलफल गर्न पाउँदा आफू निकै खुसी भएको बताइन् । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयकी उपसचिव कृष्णकुमारी श्रेष्ठले सन् २००८ को १५औँ आवधिक नीति तथा कार्यक्रममा नेपालको मुख्य आर्थिक आधारका रूपमा पर्यटनलाई पनि मानिएको र त्यसमा खेल क्षेत्र जोड्दा थप बिलयो हुने विश्वास रहेको बताइन् । 

सम्मेलनका मुख्य वक्ता गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष तथा निवर्तमान प्रमुख संरक्षक डा. शेष घलेले नेपालजस्तो प्राकृतिक सुन्दरताले भरिपूर्ण देशको विकासका लागि उचित नीति–नियम अख्तियार गर्ने, त्यसपछि पर्यटन क्षेत्रका क्षमतावान् तथा जानकार मान्छे भर्ती गर्ने र विश्वभरका पर्यटनसँग सम्बद्ध ख्यातिप्राप्त संघसंस्थासँग सहकार्य गर्न जरुरी रहेको बताए । 

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसिसी) तथा ग्लोबल एनआरएन फाउन्डेसनसमेतका अध्यक्ष विनोद कुँवरले सम्मेलनको मुख्य उद्देश्य नै पर्यटनमा खेल क्षेत्र जोडेर आर्थिक, सामाजिक र संस्कृतिक क्षेत्रको उन्नति गरी नेपाललाई समृद्धि बनाउनुरहेको चर्चा गरे ।

हिमालयमा गल्फ, प्याराग्लाइडिङ, ह्वाइटवाटर र्याफ्टिङ, साहसिक खेलहरूलगायतबाट विश्वभरका पर्यटक भित्र्याउन सकिने उनको भनाइ थियो । उनले हिमाली स्वर्गको रूपमा विश्वमा परिचित नेपालका हिमाली तथा पहाडी क्षेत्रमा अनेकन खेलहरू खेल्न सकिने बताए । 

सम्मेलनमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले नेपालले बिस्तारै खेल क्षेत्रमा प्रगति गर्दै गरेको भन्दै पर्यटन खेलकुदमा पनि जोड दिनुपर्ने धारणा राखेका थिए । 

सम्मेलनमा कोरियाको हान्याङ विश्वविद्यालयका अध्यक्ष डा. कि जेओङ लीले नेपालमा खेलकुद पर्यटनको निकै ठूलो सम्भावना रहेको बताए । खेल र पर्यटन क्षेत्रबीच आन्योन्याश्रित सम्बन्ध हुने भएकाले त्यसको उजागर गर्न सम्मेलन सफल हुने उनले विश्वास व्यक्त गरे । 

हान्याङ विश्वविद्यालयको कलेज अफ पर्फर्मिङ आर्टस् एन्ड स्पोर्टसका डिन प्राध्यापक सेओङ नो लीले केभिड– १९ पछि विश्वमा आर्थिक, सामाजिक र सांस्कृतिक हरेक हिसाबले परिवर्तन भएको परिवेशमा मानवजीवनलाई त्यही ढंगले अगाडि बढाउनुपर्ने धारणा राखेका थिए ।

हान्याङ विश्वविद्यालयको ग्लोबल हेल्थ एन्ड डेभलपमेन्टका अध्यक्ष डा. दोङउनहान, सिओल न्यासनल युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीका प्राध्यापक तथा सोलुसन एक्स को लिमिटेडका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत डा. सेवान चोई, एमआइटी ग्रुप फाउन्डेसनकी फाउन्डर जमुना गुरुङलगायतले खेलकुद पर्यटन सम्मेलनले आर्थिक, सामाजिक तथा संस्कृतिक क्षेत्रको बहुआयामिक विकासमा नयाँ दृष्टिकोणको विकास गरेको धारणा राखेका थिए ।

ad
ad