१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
शिवहरि घिमिरे काठमाडाैं
२०८० माघ २२ सोमबार ०८:५५:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

वीरलाई बजेट दिन मन्त्रालयको कन्जुस्याइँ

बिरामीका खाना र अक्सिजनका लागि  साढे चार करोड दिए पनि अझै अभाव

Read Time : > 1 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
२०८० माघ २२ सोमबार ०८:५५:००

वीर अस्पतालका बिरामीका लागि खाना र अक्सिजन खरिद गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बजेट दिए पनि अन्य अत्यावश्यक खर्चका लागि बजेट दिन कन्जुस्याइँ गरेको छ । माघ पहिलो साता मन्त्रालयले बिरामी खाना र अक्सिजन खरिदका लागि साढे चार करोड रुपैयाँ खातामा पठाएको थियो । तर, यति बजेटले अस्पतालको अत्यावश्यक खर्च धान्न नसकिने वीर अस्पतालले जनाएको छ । हाल ल्याब मर्मत, सेक्युरिटी गार्डलाई तलब, मेडिकल तथा सर्जिकलको सामान खरिदलगायतका लागि बजेट अभाव देखिएको छ । 

वीरका मेडिकल स्टोर प्रमुख टीकाराम पनेरूका अनुसार स्वास्थ्य मन्त्रालयले पर्याप्त बजेट नदिँदा अस्पतालको खर्च धान्न कठिन परिरहेको छ । गत वर्ष मन्त्रालयले वीर अस्पताललाई बिरामीलाई दिइने खाना–खाजासहितको रकम गरी एक अर्ब ४३ करोड बजेट छुट्याएको थियो । तर, यस वर्ष मन्त्रालयले वीरको बजेटमा कटौती गरेको छ । चालू आवमा ७३ करोड मात्रै बजेट छुट्याएको थियो । तर, कर्मचारी थोरै रहेको वीरसँगै रहेको राष्ट्रिय ट्रमा सेन्टरलाई ६३ करोड बजेट दिएको थियो ।

स्वास्थ्यकर्मी, प्रशासन, सफाइकर्मी, सेक्युरिटीलगायत गरी दुई हजारहाराहारी कर्मचारी रहेको अस्पताललाई मन्त्रालयले बजेट विनियोजन गर्दा नै विभेद गरेका कारण त्यसको असर अहिले देखिएको अस्पताल प्रशासनले जनाएको छ । यस वर्ष दिएको बजेटले केन्द्र सरकारबाट नियुक्ति पाएका स्वास्थ्यकर्मीलाई तलब दिन मात्रै पुग्ने अस्पताल प्रशासनले जनाएको छ । अस्पतालका उपकरण मर्मतसम्भार, नयाँ उपकरण खरिद, स्वास्थ्यकर्मीलाई ओभरटाइम सुविधा, विपन्न तथा बेवारिसे बिरामीको उपचार खर्चलगायतका लागि खर्च पुग्दैन । अस्पताल प्रशासनले यस वर्षका लागि सबैखाले शीर्षकमा अझै करिब ५० करोड बजेट चाहिने जनाएको छ । 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकी भन्छन् ‘वीर अस्पताललाई चाहिने अत्यावश्यक बजेट दिन्छौँ, खाना र अक्सिजनको बजेट दिइसकेका छौँ । अब अन्य अत्यावश्यक बजेट कुन क्षेत्रमा चाहिन्छ त्यो हेरेर मात्रै दिन्छौँ ।’

९ पुसको नयाँ पत्रिका दैनिकमा ‘स्वास्थ्य मन्त्रालयले खोस्यो वीरका बिरामीले १३३ वर्षदेखि पाइरहेको खाना–खाजा’ शीर्षकको समाचार प्रकाशन भएको थियो । उक्त समाचार प्रकाशनपछि सर्वोच्चले खाना र अक्सिजनको बजेट नरोक्न अन्तरिम आदेश समेत जारी गरेको थियो । त्यसलगत्तै स्वास्थ्य मन्त्रालयले वीरका बिरामीको खाना र अक्सिजनबापतको साढे चार करोड रुपैयाँ बजेट अस्पतालको खातामा पठाएको थियो । खानामा कति र अक्सिजनमा कति भनेर मन्त्रालयले छुट्याएको छैन ।

चालू आव ०८०/८१ का लागि दशेको समग्र स्वास्थ्य क्षेत्रमा कुल ८३ अर्ब ८९ करोड बजेट विनियोजन गरिएको छ । तर, देशकै ठूलो र पुरानो वीर अस्पताललाई स्वास्थ्य मन्त्रालयले अपुग बजेट दिएपछि खर्च व्यवस्थापनमा समस्या देखिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले वीरमा अत्यावश्यक क्षेत्रको बजेट नरोक्ने दाबी गरे । ‘वीर अस्पताललाई चाहिने अत्यावश्यक बजेट दिन्छौँ, खाना र अक्सिजनको बजेट दिइसकेका छौँ,’ उनले भने, ‘अब अन्य अत्यावश्यक बजेट कुन क्षेत्रमा चाहिन्छ त्यो हेरेर मात्रै दिन्छौँ, यसपटक बजेटको आकार नै सानो थियो, गत वर्ष फालाफाल बजेट वीरलाई दिएका थियौँ ।’ उनले यस वर्ष समग्र स्वास्थ्य क्षेत्रको बजेट कम भएकाले अस्पताललाई दिने बजेटको आकार कम भएको जानकारी दिए । हाल अस्पतालको मासिक आम्दानी र खर्च बराबरी छ । मासिक तीन करोड आम्दानी हुन्छ भने खर्च पनि सोहीबराबर रहेको अस्पतालले जनाएको छ । अझ केन्द्रले दरबन्दी मिलान नगरेपछि आन्तरिक आम्दानीबाट तलब खुवाउने गरी स्वास्थ्यकर्मी तथा कर्मचारी थपिँदै आएका छन् ।