१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
रमेश सुवेदी काठमाडौं
२०८० माघ १४ आइतबार २०:४०:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

नेपालमा दक्षिण एसियाली सेपाकताक्रो च्याम्पियनसिप हुँदै

Read Time : < 1 मिनेट
रमेश सुवेदी, काठमाडौं
२०८० माघ १४ आइतबार २०:४०:००

नेपालमा तेस्रोपटक दक्षिण एसियाली सेपाकताक्रो च्याम्पियनसिप प्रतियोगिता आयोजना हुने भएको छ। नेपाल सेपाकताक्रो संघको आयोजनामा १७ देखि १९ माघसम्म त्रिपुरेश्वरस्थित राखेपको कवर्डहलमा प्रतियोगिताको पाँचाैँ संस्करण हुन लागेको हो। 

नेपालले यसअघि  सन् २०१३ र २०१८ मा यो प्रतियोगिता आयोजना गरेको थियो। सन् २०१६ मा श्रीलंका र सन् २०२२ मा बंगलादेशले दुई प्रतियोगिता आयोजना गरेका थिए। 

प्रतियोगितामा नेपालसहित उपाधि दाबेदार भारत, बंगलादेश, श्रीलंका र पाकिस्तानको सहभागिता रहनेछ। जसमा पुरुषको तीन र महिलाको दुई गरी पाँच इभेन्ट्समा प्रतिस्पर्धा हुने संघका अध्यक्ष नेत्रप्रसाद गुरुङले जानकारी दिए। 

प्रतियोगितामा महिला र पुरुष गरी ९० खेलाडीले भाग लिनेछन्। त्यसबाहेक रेफ्री, प्रशिक्षकसहित अन्य अधिकारीहरू गरी १५० जना प्रतिनिधि नेपाल आउनेछन्। 

अध्यक्ष गुरुङले दुई महिना अगाडिदेखि नै २५ नेपाली खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर तयारी गराइरहेको बताए। उनले उपाधि दाबेदार भारत भए पनि नेपालले चुनौती दिने बताए। ‘भारत प्रमुख दाबेदार हो। तर, यसपालि हामीले राम्रो तयारी गर्दै स्वर्ण जित्ने लक्ष्य राखेका छौँ,’ उनले भने। 

आयोजकको निमन्त्रणामा अन्तर्राष्ट्रिय सेपाक ताक्रो संघका कार्यबाहक अध्यक्ष बुन्चाई लोर्पिपात र अन्तर्राष्ट्रिय सेपाकताक्रो संघका महासचिव दातो अबदुलहालिम बिन कादेर प्रतियोगिता अवलोकनका लागि आउने भएका छन्। 

प्रतियोगिताको अनुमानित लागत ३६ लाख ६५ हजार रुपैयाँ छ। जसमा २० लाख रुपैयाँ राखेपसँग माग गरिएको अध्यक्ष गुरुङले बताए। बाँकी १६ लाख ६५ हजार रुपैयाँ संघको कोष तथा आर्थिक सहयोग संकलन गरिने जनाइएको छ। 

संघका संरक्षक ध्रुवबहादुर गुरुङले आफ्नो ७५ वर्षको जन्मदिनको अवसरमा संघको ट्रस्टमा एक लाख रुपैयाँ जम्मा गर्ने घोषणा गरेका छन्। सो रकमको १५ प्रतिशत खेलाडीहरूलाई पुरस्कृत गर्नका लागि उपयोग गर्न उनले संघलाई सुझाव दिएका छन्।