१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १४:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बुटवलकाे पहिचान झल्किने नयाँ नगर चिह्न सार्वजनिक 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १४:o५:oo

बुटवल उपमहानगरपालिकाले नगर प्रतीक चिह्न प्रचलनमा ल्याएको छ। नगर कार्यपालिकाको बैठकले गठन गरेको सिफारिस समितिको सिफारिसमध्ये बुटवल– ११ का सौरभ न्यौपानेले तयार गरेको प्रतीक चिह्न प्रचलनमा ल्याएको हो।

नगरले प्रचलनमा ल्याएको प्रतीक चिह्नमा बुटवलको नेपाल–अंग्रेज युद्धताकाको झलकसहित जितगढी किल्ला, उजिरसिंह थापा, मणिमुकुन्दसेन, बुटवल सहर, तिनाउ नदीजस्ता संकेत छन्।

नगर प्रवक्ता शिव रानाको संयोजकत्वमा रहेको सिफारिस समितिको बैठकले करिब एक सयभन्दा बढी प्रतीक चिह्नमध्येबाट तीनवटा प्रतीक चिह्न कार्यपालिका बैठकमा पठाएको थियो।

तीनवटा प्रतीक चिह्नमध्ये न्यौपानेको प्रतीक चिह्नले बुटवलको कला संस्कृति र परिवेश झल्काउने भएकाले सो प्रतीक चिह्न छनोट भएको प्रवक्ता रानाले बताए।

कार्यपालिकाको बैठकको निर्णयअनुसार गत भदौमा बुटवल उपमहानगरपालिकाले बुटवलको पहिचान झल्किने गरी लोगो निर्माण गरी पेस गर्न सार्वजनिक रूपमा आह्वान गरेको थियो।

लोगो निर्माण गर्दा उपमहानगरपालिकाको नाम र नेपालको झन्डा अनिवार्य, उपमहानगरपालिकाको ऐतिहासिक, भौगोलिक, प्राकृतिक, सामाजिक, सांस्कृतिक एवं विशिष्ट मौलिक पहिचान झल्किने हुनुपर्ने प्रावधान रहेको थियो।

छनोट भएको उत्कृष्ट प्रतिक चिह्न (लोगो) लाई बुटवल उपमहानगरपालिकाले आफ्नो प्रतीक चिह्नका रूपमा प्रयोग गर्ने र प्रतीक चिह्न बनाउने न्यौपानेलाई उपमहानगरपालिकाले २५ हजार रुपैयाँ नगद पुरस्कार र सम्मानपत्र प्रदान गर्ने प्रवक्ता रानाले बताए।

ad
ad