१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १२:४२:oo
Read Time : > 2 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

चम्पावती मावि विजयखर्कमा बेथितिको चाङ

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १२:४२:oo

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका– १५ विजयखर्कस्थित बसेरीमा सञ्चालित चम्पावती माध्यमिक विद्यालयमा बेथितिको चाङ देखिएको छ। 

विद्यालयमा सञ्चालित विज्ञान प्रयोगशाला, भवन निर्माण र खानेपानी योजनामा आर्थिक अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि यस्तो विषय सार्वजनिक भएको हो। 

आर्थिक वर्ष ०७६/७७ अर्थात् अघिल्लो जनप्रतिनिधिको कार्यकालमा नगरपालिका तथा भूकम्प पुनर्निर्माण प्राधिकरणमार्फत सञ्चालन भएको योजनामा अनियमितता भएको भन्दै स्थानीय बासिन्दाले विभिन्न निकायमा दिएको उजुरीको आधारमा नगरपालिकाको तर्फबाट छानबिन सुरु गरिएको नगर उपप्रमुख विशन राईले बताए। 

‘हामी निर्वाचित भएपछि शून्यसहनशीलतालाई मध्यनजर गरेर काम गरिरहेका छौँ। अनियमितता भए त्यसमा संलग्न जोसुकैलाई पनि छाडिँदैन,’ अनुगमन समितिका संयोजकसमेत रहेका नगर उपप्रमुख राईले भने, ‘विज्ञान प्रयोगशालामा रु. ६ लाख लाख ५० हजार, भवन निर्माणमा रु. १५ लाख र खानेपानी योजनामा रु. सात लाख ४० हजार बजेटमध्ये केही रकम अनियमितता भएको भनिएको छ । सञ्चालित योजनामा दोषी देखिएको खण्डमा कानुनबमोजिम कारबाहीको प्रक्रिया अगाडि बढाउँछौँ।’

विद्यालयमा भएको आर्थिक अनियमितताका विषयमा छानबिन गर्नका लागि विद्यालय प्रशासन पुग्दा त्यससम्बन्धी कुनै पनि कागजातहरू विद्यालयमा नभेटिएको नगर प्रमुख तीर्थराज भट्टराईले जानकारी दिए। 

कागजात नभेटिएपछि वडाध्यक्ष, वडासचिव, स्थानीय राजनीतिक दलका प्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलगायतको रोहवरमा मुचुल्का गरिएको जनाइएको छ। 

‘विद्यालयले सञ्चालन गरेका योजना अनुगमन गर्दा विज्ञान प्रयोगशाला खासै सञ्चालनमा आएको छैन। कम्प्युटर कक्षामा धेरैजसो कम्प्युटर नचल्ने, भूकम्प पुनर्निर्माण प्राधिकरणको योजनाबाट बनेको चारकोठे भवनमाथि नै विज्ञान प्रयोगशाला र कम्प्युटर कक्ष भवन थपिएको छ। यस्तै धाराभन्दा मुनि खानेपानी ट्यांकी बनाइएको छ।  

पुस्तकालय सञ्चालन नभएकोलगायतका बेथिति देखिएको नगर प्रमुख भट्टराईले बताए। उनले भने, ‘विद्यालयको खाजाबापतको रकमसमेत विजयखर्ककै गाउँबेँसी साना किसान कृषि सहकारी संस्थामा जम्मा गर्ने गरेको र उक्त रकमसमेत अपारदर्शी हिसाबले खर्च गरिएको पाइएको छ। सहकारीकी प्रबन्धक लीला ढुंगानाका अनुसार विभिन्न समयमा रकम जम्मा गरिए पनि खातामा अहिले रु. एक हजार ६०० मात्र देखिएको छ। विद्यार्थीको खाजाबापतको रकम सम्बन्धित विद्यार्थीलाई दिनुपर्नेमा सहकारीमा जम्मा गरिएकाले यस विषयमा पनि छानबिन हुने हुन्छ।’

विज्ञान प्रयोगशाला, कम्युटर कक्ष, खानेपानी योजनालगायतका योजनाहरूमा कुन प्रक्रियाबाट कति खर्च गरिएको भन्नेसमेत यकिन छैन। योजना सम्झौता, सञ्चालन, फरफारकलगायत कुनै पनि कागजात विद्यालय प्रशासनमा नभेटिएपछि झनै शंका उब्जिएको नगर प्रमुख भट्टराईले बताए। 

सबै आर्थिक कारोबार निवर्तमान प्रधानाध्यापक गोविन्द पोखरेलले गरेको र यसबारे गरिएका निर्णयहरूमा आफूले सही मात्र गरेको निवर्तमान अध्यक्ष उद्धव पोखरेलले जानकारी दिए। 

‘निर्णय गरेर मलाई सही गर्नुस् भन्नुहुन्थ्यो, ठीकै होला भनेर गर्थेँ। मलाई जहाँसुकै लगे पनि यही कुरा भन्छु,’ उनले भने, ‘सत्य बोल्दा कानुनले दोषी ठहराए भोग्न तयार छु । यस विषयमा मेरो कुनै संलग्नता छैन।’

यतिसम्म कि दाता तथा नगरपालिकाको लगानीमा खरिद गरेर २३ वटा कम्प्युटर जडान गरिएको त्यस विद्यालयमा हाल दुईवटा मात्र सञ्चालन हुने अवस्थामा रहेको पाइएको छ। कम्प्युटर कक्षा सञ्चालनका लागि जडान गरिएका सोलार प्यानेल विद्यालयको छानाभरि भए पनि उक्त सोलारको कुनै प्रयोग भएको छैन। 

विद्यालयमा स्थापना गरिएको पुस्तकालयको पनि उस्तै हालत देखिएको छ। धुलो र फोहाेरले पुरिने विद्यालय भवनमा स्थापना गरिएको पुस्तकालयमा राखिएका पुस्तक अधिकांश दाताले निःशुल्क उपलब्ध गराएकाहरू मात्र देखिएका छन्। 

विद्यालयमा देखिएको बेथितिको विषयलाई कसरी सुल्झाउने भन्नेबारे सरोकारवाला निकायसँग छलफल भइरहेको वर्तमान प्रधानाध्यापक जेनी राईले बताइन्।

‘नगरपालिकाले खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छनोट गर्दा मैले पनि निवेदन दिएकी थिएँ। प्रतिस्पर्धामा छनोट भएपछि यहाँको जिम्मेवारी लिएर आएकी छु,’ उनले भनिन्, ‘निवर्तमान प्रधानाध्यापकबाट कुनै पनि बरबुझारत लिएकी छैन। अहिले विभिन्न निकायले कागजातहरू मागिरहेका छन्। मसँग केही पनि छैन। यसलाई कसरी सुल्झाउने भन्नेमा आफैँ अन्याेलमा परेकी छु।’

पुस्तकालय स्थापना तथा कम्प्युटर कक्षा सञ्चालनका लागि स्थानीय बासिन्दाले समेत ठूलो मात्रामा आर्थिक सहयोग उपलब्ध गराएको देखिएको छ। 

विद्यालयको भित्तामा टाँसिएको दाताको नामावली हेर्दा त्यहाँको व्यवस्थापन निकै प्रभावकारी हुनुपर्ने हो। तर, अहिले त्यहाँ पुग्ने जोकोहीको मन अमिलो हुने गरेको छ। 
 

ad
ad