Skip This
आइसिसी यू–१९ विश्वकप क्रिकेट : नेपाल पाकिस्तानसँग पाँच विकेटले पराजित
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २७ बिहीबार
  • Thursday, 09 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २७ बिहीबार o८:२१:oo
Read Time : > 2 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

आइसिसी यू–१९ विश्वकप क्रिकेट : नेपाल पाकिस्तानसँग पाँच विकेटले पराजित

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २७ बिहीबार o८:२१:oo

आइसिसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल पाकिस्तानसँग पाँच विकेटले पराजित भएको छ । प्रतियोगितामा नेपालले लगातार दुई खेलमा पराजय बेहोरेको हो । यसअघि नेपाल न्युजिल्यान्डसँग ६४ ले हारेको थियो । समूह ‘डी’मा नेपाल र अफगानिस्तानले आफ्ना दुवै खेल गुमाएका छन् ।

पहिलो खेलमा अफगानिस्तानलाई हराएको पाकिस्तानले लगातार दोस्रो जित निकाली सुपर सिक्समा स्थान पक्का गरेको छ । लगातार दोस्रो हार बेहोरे पनि नेपालको सुपर सिक्समा पुग्ने सम्भावना बाँकी छ । नेपालले अब समूहको अन्तिम खेलमा शुक्रबार अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । यस समूहमा न्युजिल्यान्ड र पाकिस्तानले दुई खेलबाट समान ४ अंक बटुलेका छन् । रनरेटमा पाकिस्तान शीर्ष स्थानमा छ । नेपाल रनरेटका आधारमा तेस्रो स्थानमा छ । 

 नेपालको मध्यम योगफल
दक्षिण अफ्रिकाको इस्ट लन्डनमा नेपालले पहिलो ब्याटिङ गरेको थियो । पाकिस्तानी सिमर र स्पिनरले कसिलो बलिङ गर्दा नेपालले स्कोर बोर्डमा चुनौतीपूर्ण योगफल खडा गर्न सकेन । नेपालले ५० ओभरमा सबै विकेट गुमाएर १९७ रन मात्र बनाएको थियो । प्रतिओभर ३.९४ रनरेट आवश्यक परेको पाकिस्तानले संघर्ष गर्दै ४७.४ ओभरमा पाँच विकेटको क्षतिमा २०१ रन बनायो । पाकिस्तानले १४ बलअघि नै जित निकालेको हो ।

पाकिस्तानलाई लगातार दोस्रो खेलमा जित दिलाउने क्रममा अजान अवैसले नटआउट ६३ रनको योगदान दिए । उनले ८२ बलमा ६ चौका प्रहार गरे । उनले हारुन अर्सदसँग छैटौँ विकेटका लागि ३३ बलमा ३३ रनको साझेदारी गरे । अजानले दीपक डुम्रेको ०.४ ओभरमा चौका प्रहार गर्दै पाकिस्तानलाई जित दिलाए । हारुनले १८ बलमा दुई चौकाको मद्दतमा १५ रन बटुले । 

 आकाशले लिए एकै ओभरमा दुई विकेट 
पाकिस्तानले लक्ष्य पछ्याएको इनिङ्समा सामल हुसैन र सहजैव खानले पहिलो विकेटका लागि ८० रनको साझेदारी गरेका थिए । दुवै ओपनरले २० ओभरसम्म आफ्नो विकेट दिएनन् । इनिङ्सको २१औँ ओभरमा आकाश चन्दले बलिङ गरे । यसै ओभरमा उनले नेपाललाई एकैपटक दुई सफलता दिलाए । उनले २१.२ ओभरमा हुसैनलाई क्याच आउट गराए । त्यसवेला पाकिस्तान ८०–१ को स्थितिमा थियो । २१.४ ओभरमा आकाशले सहजैवलाई क्याच आउट गराउँदै पाकिस्तानमाथि दबाब राखे । दुई बलको अन्तरमा दुई विकेट गुमाउँदा पाकिस्तान एकाएक दबाबमा आएको थियो । हुसैनले ५९ बलमा चार चौका र एक छक्काको सहयोगमा ३७ रन जोडे । 

सहजैवले ७० बल खेलेर तीन चौका र एक छक्का प्रहार गरी ३७ रन नै जोडे । प्रतिस्पर्धामा आकाशले ९ ओभरमा ३४ रन खर्चेर सर्वाधिक तीन विकेट लिए । नेपालका कप्तान देवले पाकिस्तानविरुद्ध आठजना बलर प्रयोग गरेका थिए । सिनियर टोलीबाट खेलिरहेका गुल्सन झाले १० ओभरमा एक मेडन राखी २९ रन खर्चे । दुर्गेश गुप्ताले ३८ रन खर्चे । नेपालका लागि दीपेश कँडेल र आकाश त्रिपाठीले समान एक विकेट लिएका थिए । नेपालका पाँच बलर विकेटविहीन भए । नेपालले इनिङ्सको मध्यतिर पाकिस्तानलाई दबाबमा राखेको थियो । साद वैगको विकेट पतन हुँदा पाकिस्तान १०४–४ को स्थितिमा रह्यो ।

२०–३० रन कम भयो
देव खनाल, कप्तान, नेपाल

पाकिस्तानले नेपालविरुद्ध कसिलो बलिङ गर्‍यो । विशेष गरी पाकिस्तानी स्पिनरले कसिलो बलिङ गरेका कारण नै स्कोर बोर्डमा सोचेजस्तो योगफल खडा गर्न सकेनौँ । स्कोर बोर्डमा २०–३० रन कम बन्यो । प्रत्येकपल्ट पाकिस्तानी स्पिनरले कसिलो बलिङ गरे । खेलमा फर्कन हामीले बलिङमा राम्रो गर्‍यौँ । नेपालले फिल्डिङका क्रममा पाकिस्तानी खेलाडीलाई सहज रन दिएनौँ ।

पाकिस्तानको ब्याटिङ इनिङ्सको मध्यक्रमले राम्रो योगदान गरे । नेपालको मध्यक्रममा ब्याटिङ चल्न सकेन । हाम्रो ब्याटिङमा १–२ रनका लागि प्रयास नै भएन । उनीहरूले लगातार रन बटुले । अब अर्को खेलमा यो पक्षमा ध्यान दिनेछौँ । हाम्रा तीव्र गतिका बलरले राम्रो बलिङ गरे । त्यो क्षण हेर्न पनि निकै विशेष थियो । आकाश चन्द र गुल्सन झाले राम्रो स्थानमा बल फालेर विपक्षीलाई समस्यामा राखेका थिए । यसकारण एक समय हामी खेलमा फर्कियौँ, तर निरन्तरता दिन सकेनौँ ।

नेपालको मध्यक्रम चलेन
सुरुवाती ब्याटिङ गरेको नेपालको मध्यक्रम चल्न सकेन । न्युजिल्यान्डसँगको खेलमा ९० रन बटुलेका अर्जुन कुमाल पाकिस्तानविरुद्ध चल्न सकेनन् । उनले १२ बलमा ६ रन मात्र बटुले । उनी नेपालको पहिलो विकेटका रूपमा आउट भए । तेस्रो क्रममा ब्याटिङ गरेका आकाश त्रिपाठीले १० बलमा ६ रन बटुले । त्यसपछि विपिन रावल र कप्तान देव खनालबीच तेस्रो विकेटका लागि ३८ रनको साझेदारी भएको थियो । देवले ३७ बलमा तीन चौकाको सहयोगमा २३ रन बटुले । ओपनर विपिन इनिङ्सको २६.४ ओभरमा आउट भए । उनी आउट हुँदा नेपाल ९६–५ को स्थितिमा रह्यो । उनले ६८ बलमा चार चौका र एक छक्का प्रहार गरी सर्वाधिक ३९ रनको योगदान दिए । 

मध्यक्रमका गुल्सनले ४७ बलमा १८, दीपकले ५८ बलमा २६ तथा दीपेक कँडेलले १३ रन बनाए । दीपेश आउट हुँदा नेपाल ४२.२ ओभरमा १४८–७ को स्थितिमा रह्यो । त्यसपछि पुछारका सुवास भण्डारीले २४ बलमा २० तथा आकाश चन्दले ११ बलमा १६ रनको योगदान दिए । आकाशले समान एक चौका र छक्का प्रहार गरे । पाकिस्तानका लागि मिनहासले २३ रन खर्चेर सर्वाधिक तीन विकेट लिए । अहमाद हसनले दुई विकेट लिए । 

ad
ad