१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार १२:१४:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

टिआइएमा नयाँ टर्मिनल भवन सञ्चालन

डिपार्चरमा पाँच सय र अराइभलमा चार सय यात्रुलाई सेवा प्रवाह गर्न सकिने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १२:१४:oo

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए)मा आन्तरिक यात्रुहरूको आगमन र प्रस्थानका लागि छुट्टाछुट्टै टर्मिनल भवन निर्माण भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले बुधबारदेखि प्रतिघन्टा चार सय यात्रु ह्यान्डल गर्न सकिने क्षमताको अराइभल टर्मिनल सञ्चालनमा ल्याएको हो । 

अहिलेसम्म टिआइएको आन्तरिक सेवातर्फ डिपार्चर टर्मिनल मात्र थियो । छुट्टै अराइभल टर्मिनल भवन बनेपछि यात्रुहरूलाई सहज सेवा दिन सकिने टिआइएका महाप्रबन्धक प्रताप तिवारीले बताए । अराइभल टर्मिनल नहुँदा पुरानो भवनको छेउमा एउटा कन्भेयर बेल्ट मात्र राखेर आन्तरिक यात्रुलाई सेवा दिइएको थियो ।

डिपार्चर टर्मिनलको क्षमता पाँच सय यात्रुको भए पनि अराइभल कक्षमा रहेको कन्भेयर बेल्टमार्फत एकपटकमा सयजनाभन्दा बढीलाई सेवा दिन नसक्ने स्थिति थियो । ‘सामन्यतया डिपार्चरमा जति क्षमता हुन्छ, करिब त्यति नै क्षमता अराइभल कक्षमा पनि हुनुपर्छ’ क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भने, ‘अब डिपार्चर अराइभल दुवै स्मुथ सञ्चालन हुनेछ, हाम्रो टार्गेट यही हो ।’ 

अराइभल टर्मिनल भवन ०७९ जेठमा निर्माण सुरु गरिएको थियो । ६ करोड ४० लाख रुपैयाँमा नयाँ टर्मिनल भवन तयार भएको टिआइएका महाप्रबन्धक तिवारीले बताए । नयाँ अराइभल कक्षमा दुईवटा कन्भेयर बेल्ट हुनेछन् । ‘अब अराइभल र डिपार्चरका छुट्टाछुट्टै भवन भएका छन्,’ उनले भने, ‘अराइभल टर्मिनलमा एउटा कन्भेयर बेल्ट राखिसकेको छ, अहिले भइरहेको अराइभल बेल्टलाई पनि नयाँ टर्मिनलमै सार्छौँ । दुईवटा कन्भेयर बेल्ट भएपछि यात्रुलाई स्मुथ सेवा प्रवाह गर्न सकिनेछ ।’

यात्रुको संख्या बढेपछि टिआइएले पाँच सय यात्रु क्षमताको प्रस्थान कक्षमा सात–आठ सयसम्म यात्रुलाई सेवा दिनुपरेको छ । तर, एउटै समयमा धेरै फ्लाइट हुँदा आगमन कक्षमा कोचाकोच हुन्थ्यो । प्रत्येक वर्ष यात्रुको संख्या बढ्दै जाँदा साँघुरो ठाउँमा सेवा दिन सकस भइरहेको थियो । ‘अब यात्रु सुविधा विस्तार भएको छ,’ तिवारीले भने, ‘नयाँ टर्मिनलमा दुईवटा शौचालय र फ्लाइट डिस्प्ले राखिएको छ, एउटा रेस्टुरेन्ट राख्ने योजना छ ।’ आवश्यकताअनुसार अरू सुविधा थप्दै जाने उनले बताए । पार्किङ क्षेत्रवरिपरि एक्सेस रोड पनि बनाइएको छ ।

अहिले सञ्चालनमा रहेको अराइभल कक्षलाई रिनोभेसन गरेर भिआइपी कक्ष बनाउन लागिएको महाप्रबन्धक तिवारीले बताए । उनले भने, ‘अहिले डिजाइनकै चरणमा छ, यो आर्थिक वर्षमा नै सम्पन्न गर्ने लक्ष्य हो ।’

 देशैभर क्षमता विस्तार
ट्विनअटर विमान उडानलाई मध्यनजर गरी बनाइएका अरू विमानस्थलका टर्मिनल भवन पनि धमाधम विस्तार गरिँदै छ । ‘अरू आन्तरिक एयरपोर्टमा पनि नयाँ सुविधासम्पन्न टर्मिनल भवन बनाउँदै जाने योजना छ,’ भुलले भने, ‘अहिले नेपालगन्ज, विराटनगर र भरतपुरमा काम सुरु भइसकेको छ, अरू विमानस्थलमा क्रमशः काम सुरु हुनेछ ।’

सुर्खेतमा पनि ठूलो क्षमताको टर्मिनल आवश्यक रहेको भुलले बताए । ‘पहिला ट्विनअटर जहाज र हेलिकोप्टर मात्र उड्ने हुँदा टर्मिनल पनि सानो बनाइएको थियो, अन्य सेवा–सुविधा पनि छैन,’ उनले भने, ‘अब ८० सिटका जहाज उड्न थाले, यात्रु बढ्दै गइरहेका छन्, छिट्टै त्यहाँ पनि नयाँ टर्मिनल भवन निर्माण सुरु गरेर क्षमता विस्तारमा लाग्नेछौँ ।’

ad
ad