मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८o माघ ९ मंगलबार
  • Tuesday, 05 August, 2025
पार्थ सारथी सेन गुप्त
२o८o माघ ९ मंगलबार १o:o४:oo
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

खेलकुदमा दीर्घकालीन योजनाको खाँचो 

Read Time : > 4 मिनेट
पार्थ सारथी सेन गुप्त
नयाँ पत्रिका
२o८o माघ ९ मंगलबार १o:o४:oo

राष्ट्रको खेलकुद विकासका लागि उत्कृष्ट खेलाडीले अवसर खोज्ने होइन, राज्यले उत्कृष्ट खेलाडी खोज्ने परिपाटी बनाउन सक्नुपर्छ 

खेलकुदमा नेपालले राम्रो प्रदर्शन किन गर्न सक्दैन ? मेगा स्टार जन्माउन किन सक्दैन ? ठूला प्रतियोगितामा नेपाली खेलाडी हार्नासाथ अन्य देशका खेलाडीसँग दाँजेर मानिस यस्ता जिज्ञासा राख्छन् । मलाई यस्ता प्रश्न अनौठो लाग्छ । जित्नका लागि आवश्यक तयारी हामीले गरेका छौँ त ? खेलाडीलाई प्रतियोगिता चल्दा दुई दिन फाइभ स्टारमा राख्दैमा पदक आउँछ र ? हामीले अहिले गरेको तयारीका आधारमा जितेको पदक पनि ठूलो हो । 

ठूला प्रतियोगितामा पदक जित्न सम्भव छ । तर, राज्यले दीर्घकालीन नीति बनाउनुपर्छ । अहिलेसम्म त खेलाडीहरू आफ्नै खर्चले डाइट खाएर, ट्रेनिङ गरेर छनोट वा प्रतिस्पर्धामा भिड्न आउने हुन् । त्यस्ता खेलाडीलाई चार महिना क्याम्पमा राखेकै भरमा पदक जित्ने सपना देख्नु मूर्खतासिवाय केही होइन । मेरो बुझाइमा ठूला प्रतियोगिताका लागि खेलाडी तयार गर्न खेलकुदलाई राष्ट्रिय गौरवको योजनाका रूपमा अगाडि बढाउनुपर्छ । राष्ट्रिय योजना आयोगले खेलकुद परिषद् तथा ओलम्पिक कमिटीसँग समन्वय गरेर त्यस प्रकारका योजना तय गर्नुपर्छ । कुन खेलमा कति वर्षमा कस्तो सफलता हासिल गर्ने भन्ने लक्ष्य निर्क्योल गरे, त्यहीअनुसार ‘रोडम्याप’ बनाउनुपर्छ । अनि, तत्कालीन र दीर्घकालीन प्राथमिकताका आधारमा त्यसको प्रभावकारी कार्यान्वयन, अनुगमन र मूल्यांकन गर्नुपर्छ । 

खेलाडी छनोट : हामी किन खेल्दै छौँ ? यो प्रश्न सबैभन्दा महत्वपूर्ण छ । स्वास्थ्यका लागि खेलकुद जरुरी छ । यसका लागि जुनसुकै उमेरका मानिसलाई पनि खेलकुदमा लाग्न उत्प्रेरित गर्नुपर्छ । खेलकुद मनोरञ्जनको माध्यम पनि हो, यस दृष्टीबाट हेर्दा पनि उमेरले फरक पार्दैन । तर, राष्ट्रलाई पदक जिताउन खेल्ने हो भने धेरै पक्षमा ध्यान दिन जरुरी छ । उमेर, शारीरिक शक्ति, मनोविज्ञान, पोषणलगायत वैज्ञानिक आधारसहित खेलाडी चयन गर्नुपर्छ र उनीहरूलाई वर्षौंसम्म निरन्तर ट्रेनिङ दिनुपर्छ । सानैमा (८–९) वर्षदेखि नै प्रतिभा पहिचान गरेर ट्रेनिङ दिनुपर्छ । तर, हाम्रोमा १६ वर्षको भइसकेपछि खेलाडीको प्रतिभा बल्ल उजागर हुन्छ । 

हुन त हाम्रोमा जिल्लाबाट क्षेत्र, प्रदेश, त्यसपछि नेसनल र इन्टरनेसनल प्रतियोगितामा खेलाडी छनोट भइरहेका छन् । तर, यो प्रक्रियाका क्रममा ‘सेन्टर अफ एक्सिलेन्स’ अर्थात् अति प्रतिभाशालीलाई चिनेर उनीहरूको सम्भावनालाई उजागर गर्ने काममा हामी चुकेका छौँ । 

ठूला प्रतियोगिताका लागि खेलाडी तयार गर्न खेलकुदलाई राष्ट्रिय गौरवको योजनाका रूपमा अगाडि बढाउनुपर्छ । राष्ट्रिय योजना आयोगले खेलकुद परिषद् तथा ओलम्पिक कमिटीसँग समन्वय गरेर त्यस प्रकारका योजना तय गर्नुपर्छ ।
 

खेलाडीको कमजोरी र सुदृढ पक्षबारे पर्याप्त विश्लेषण नै गरिएको छैन । खेलाडीले हारिसकेपछि हार्नुको कारण पहिल्याएर सुधारको दिशामा लैजाने जिम्मा प्रशिक्षक र विज्ञहरूको हो, हाम्रोमा त्यो प्रणाली छैन । पूर्वाधार र योग्य प्रशिक्षकको कमीका कारण राष्ट्रपति रनिङ सिल्डजस्ता प्रोजेक्टले सोचेजस्तो परिणाम दिन सकेका छैनन् । 

दीर्घकालीन लक्ष्य बनाएर कम्तीमा ५–१० वर्षको क्याम्प चलाएर खेलाडी पहिचान गर्ने, उनीहरूलाई आवश्यक सबै सुविधा उपलब्ध गराएर प्रशिक्षण दिने, प्राविधिक टिमले मूल्यांकनका आधारमा टिममै राख्ने वा ड्रप आउटको निर्णय गर्ने, नयाँ प्रतिभा भेटियो भने त्यसलाई पनि टिममा समावेश गर्नेलगायत काम नगरी सफलता हासिल गर्न सकिन्न ।

पूर्वाधार : हाम्रोमा आधुनिक सुविधासम्पन्न खेल पूर्वाधारको अभाव छ । वर्षौंअघि बनेका रंगशाला छन् । अहिलेको जमानामा प्रतिस्पर्धा गर्न सक्ने खेलाडी उत्पादन गर्न सोहीअनुसारका सुविधासम्पन्न रंगशाला र पूर्वाधार बन्नुपर्छ । नेपालमा मास गेम (जो सबैमाझ लोकप्रिय हुन्छ) लक्षित गरेर अधिकांश रंगशाला बनाइएका छन् । राष्ट्रिय गौरवका खेल (जसले अन्तर्राष्ट्रिय प्रतियोगितामा देशलाई पदक जिताउन सक्छ) लाई केन्द्रमा राखेर पूर्वाधार कमै बन्छन् । खेलकुद संघहरू आफैँ पूर्वाधार निर्माण गर्न सक्ने अवस्थामा छैनन्, त्यसैले यसमा राज्यले सहयोग गर्नुपर्छ । 

कम्तीमा प्रत्येक प्रदेशमा अन्तर्राष्ट्रिय रंगशाला हुुनुपर्‍यो । प्रत्येक जिल्लामा राष्ट्रियस्तरका तथा प्रत्येक स्थानीय तहमा आवश्यकताअनुसारका खेल पूर्वाधार निर्माण हुनुपर्छ । ट्रेनिङ सेन्टरहरू निर्र्माण गरेर विदेशी खेलाडीलाई पनि नेपालमा ल्याउन सकिन्छ । त्यस्ता ट्रेनिङ सेन्टर भए भने जाडोमा तराईमा र गर्मीमा पहाडी क्षेत्रमा क्याम्पहरू सञ्चालन गर्न सकिन्छ । उच्च स्थानमा हाई–अल्टिच्युट ट्रेनिङ सेन्टर स्थापना गर्न सकिन्छ । बिजनेस सेन्टर, लाइब्रेरी, होस्टल, होटेललगायत सबै कुरा उपलब्ध हुने गरी ट्रेनिङ सेन्टर तथा एकेडमी खोल्नुपर्छ । अहिलेको समयमा शिक्षासँग खेलकुदलाई जोड्न अनिवार्य छ । तर, स्कुल शिक्षकलाई प्रशिक्षण दिएर मात्र पुग्दैन । अब, स्पोर्टस् एकेडेमी खोल्न ढिला गर्नुहुँदैन । जहाँ, खेलकुदमा रुचि भएका विद्यार्थीले नियमित शिक्षासँगै खेलकुदको पर्याप्त प्रशिक्षण र अनुसन्धान गर्न पाऊन् । अन्य स्कुलमा पढिरहेका र खेलकुदमा विशेष दक्षता भएकालाई पनि यस्ता एकेडेमीमा छात्रवृत्ति दिएर पढाउने व्यवस्था हुनुपर्छ । 

प्रशिक्षक : अर्को महत्वपूर्ण पक्ष प्रशिक्षक तथा प्राविधिक हुन् । खेलाडीको जीवनको एउटा चक्र हुन्छ । पहिले उसको छनोट, त्यसपछि प्रतिभा उजागर, मोटिभेसन, ट्रेनिङ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहभागिता, उपलब्धि र निश्चित समयपछि अवकाश । यी सबै पक्षमा राज्यले ध्यान दिनुपर्छ । एउटा खेलाडी अवकाशपछि खेलकुद विज्ञ तथा प्रशिक्षक बन्न सक्छ । उसले अन्य दसौँ खेलाडी उत्पादन गर्न सक्छ । नेपालमा अवकाशपछिको भविष्य निश्चित नहुँदा पदक विजेता खेलाडी विदेश पलायन भइरहेका छन् । १५–२० वर्षसम्म खेलेका खेलाडी यसरी एकाएक पलायन हुनु विडम्बना हो । त्यस्ता प्रतिभालाई खेलक्षेत्रबाट टाढिन वा बिदेसिनबाट रोक्न राज्यसँग स्पष्ट नीति हुनुपर्छ । अवकाशपछि उनीहरूलाई प्रशिक्षक, प्राविधिक, व्यवस्थापकलगायत काममा इंगेज गराउन सक्नुपर्छ । 

राम्रो प्रशिक्षकविना राम्रो खेलाडी उत्पादन सम्भव छैन । हामीले स्कुल, गाउँ, जिल्ला, केन्द्र सबैतिर दक्ष प्रशिक्षक उत्पादनमा जोड दिनुपर्छ । यसका लागि प्रशिक्षकलाई पर्याप्त तालिम तथा कोर्स गराउन जरुरी छ । राष्ट्रिय खेलकुद परिषद्मा पनि समयअनुसार प्रशिक्षकको संख्या बढाउनुपर्ने आवश्यकता छ । भएका प्रशिक्षकलाई पनि राष्ट्रियस्तरमा सेमिनार तथा रिफ्रेसमेन्ट कोर्स गराएर समय र प्रविधिसँग अपडेट गराउँदै लैजानुपर्छ । 

अन्तर्राष्ट्रियस्तरमा विभिन्न कोर्स गराउन खेलाडीलाई पठाउन सकिन्छ । त्यसका लागि हाम्रो अन्तर्राष्ट्रिय कनेक्टिभिटी पनि राम्रो हुनुपर्छ । प्रत्येक खेलकुद संघले अन्तर्राष्ट्रिय सम्पर्क विभाग बनाएर खेलाडी तथा प्रशिक्षकलाई विदेशमा ट्रेनिङ तथा कोर्स गर्न पठाउने एवं विदेशका खेलाडी तथा प्रशिक्षकलाई नेपालमा अन्तर्राष्ट्रिय कार्यक्रम आयोजना गरेर निमन्त्रणा गर्नुपर्छ । पोषणविद्, व्यवस्थापक, फिजियोथेरापिस्ट, मनोविज्ञलगायत प्राविधिक जनशक्तिको भूमिका पनि उत्तिकै महत्वपूर्ण छ । चार महिना क्याम्पमा बस्दा मात्रै डाइट खर्च दिएर हुँदैन । खेलाडीलाई बाह्रै महिना स्वास्थ्यबद्र्धक र आवश्यकताअनुसारको डाइट उपलब्ध गराउनुपर्छ । चेकजाँच र चोटपटक लाग्दा उपचारको व्यवस्था हुनुपर्छ । यस्ता प्राविधिक पक्षमा ध्यान जानुपर्छ । 

मार्केटिङ : निजी क्षेत्रलाई आकर्षित नगरी खेलकुदले गति लिन सक्दैन । हामीले बिजनेस हाउस तथा खेलप्रेमीलाई जोड्ने गरी नीति बनाउनुपर्छ । विदेशमा फुटबलर वा अन्य खेलाडीको नाम र नम्बर अंकित आधिकारिक जर्सी बेचेर संघले राम्रो आम्दानी गरिरहेको हुन्छ । यस्ता आधिकारिक जर्सी लगाउन पाउँदा खेलप्रेमीले पनि गर्व गर्छन् । जर्सी धेरै बिकेको देखेपछि प्रायोजकले पनि संघसँग राम्रो रकममा सम्झौता गरिरहेका हुन्छन् । त्यही पैसालाई खेलकुद विकासमा लगाउन सकिन्छ । यसमा हामीले काम गर्न सकेका छैनौँ भने पनि हुन्छ । इच्छाशक्ति हुँदा हामीले क्याम्प, सेमिनार, अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गरेर पनि खेलकुदको विकासका लागि राम्रो रकम जम्मा गर्न सक्छौँ । 

समन्वयकारी भूमिका : सम्बन्धित खेलकुद संघ, राष्ट्रिय खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटीजस्ता संस्थाले समन्वयकारी भूमिका खेलेर अन्य निकायलाई खेलसँग जोड्नुपर्छ । स्थानीय तह र प्रदेशसँग कसरी समन्वय गर्ने भन्ने विषयमा राज्यसँग स्पष्ट नीति छैन । खेलकुद विकास ऐन बनेको छ, तर यसमा पनि सबै कुरा स्पष्ट छैनन् । प्रदेश ऐन बनेकै छैन । केन्द्र, प्रदेश र स्थानीय तहसम्मै ‘ल एन्ड अर्डर’ हुनुपर्छ । 

अहिले प्रदेश, स्थानीय सरकार र क्लब तथा निजी क्षेत्र सबैले आआफ्नै तरिकाले प्रतियोगिता आयोजना गरिरहेका छन् । यसरी आयोजना भएका प्रतियोगिताले मनोरञ्जन र सभा–समारोहमार्फत मानिसलाई सामाजिक रूपमा जोड्ने कामसम्म गर्न सक्लान्, राजनीतिक तथा सामाजिक व्यक्तित्वले मेडल वितरण गर्छन् र जान्छन् । तर, खेलाडी उत्पादनमा सहयोग गर्न नसकेसम्म प्रतियोगिता आयोजनाको औचित्य पुष्टि नहुने भएकाले आफूखुसी प्रतियोगिता गरेर हुँदैन । एउटा प्रतियोगितामा १० जना राम्रा खेलाडी देखिए भने उनीहरूलाई अघि बढाउने केही योजना हुनुपर्‍यो । नत्र प्रतियोगिता आयोजना गर्नुको अर्थ के ? अहिले त खेलाडीले उत्कृष्ट घोषित भइसकेपछि पनि अर्को अवसर खोज्दै धाउनुपर्ने अवस्था छ । एउटा प्रतियोगितामा राम्रो गर्ला, त्यसपछि फेरि डाइट, ट्रेनिङ र गाइडलाइन्स भएन भने अर्को प्रतियोगितासम्म पुग्दा कमजोर भइसकेको हुन्छ । उत्कृष्ट खेलाडीले अवसर खोज्ने होइन, राज्यले उत्कृष्ट खेलाडी खोज्ने परिपाटी बनाउन सक्नुपर्छ । 

एकीकृत रूपमै समन्वय गरेर, निश्चित क्यालेन्डर बनाएर प्रतियोगिता गर्दा गाउँ वा स्कुलमा प्रतिभा देखाएका खेलाडीबारे पनि सम्बन्धित खेलका संघ, खेलकुद परिषद्, ओलम्पिक कमिटीलगायत संस्थाहरू समयमै जानकार हुन्छन् । उनीहरूले थप एक्सपोजरका लागि पहल गर्न सक्छन् र गर्नुपर्छ । अनि मात्र देशको खेलकुद विकासले गति लिन सक्छ ।

(नेपाल स्पोर्टस् साइन्स एकेडेमीका पूर्वनिर्देशक गुप्त एसियाली भारोत्तोलन संघको कार्यकारी समितिका सदस्य हुन्)