१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार १५:११:oo
Read Time : > 2 मिनेट
ad
ad
साहित्य डिजिटल संस्करण

सम्पूर्ण किताबमा बालबालिकाको ‘म पनि पढ्छु’ शृंखला

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १५:११:oo

नारायणगढ बजारको लायन्सचोकबाट बालकुमारी कलेजतर्फ जाँदै गर्दा सय मिटर अगाडि छ, सम्पूर्ण किताब । यो पसल चितवनका साहित्यिक स्रस्टा तथा पुस्तक पारखीहरूको जमघटको थलो बनेको छ । साहित्यिक एवं समसामयिक किताब पाइने यो पसलमा व्यापार मात्रै हुँदैन, किताबको विमोचन, विमर्शलगायतका गतिविधि पनि भइरहेका हुन्छन्।

पसलका सञ्चालक लेखराम सापकोटा आफैँमा साहित्यमा रुचि भएका व्यक्ति भएको हुनाले उनले पसलमा वेलावेलामा विभिन्न साहित्यिक गतिविधि गरिरहेका हुन्छन् । पुस्तक बिक्री–वितरण गर्न र लेखकलाई मञ्च दिन पसलमा नै विभिन्न कार्यक्रम गरिरहेको उनी बताउँछन् ।

सम्पूर्ण किताबमा जिल्लाका स्रस्टाहरूको नियमित उपस्थिति हुने गर्छ । जिल्ला बाहिरका स्रस्टा पनि सम्पूर्ण किताबमा हुने गरेका गतिविधि देखेर यो बाटो भएर कतै जाँदै गर्दा समय मिलेसम्म यहाँ पसेर जाने गर्छन् । त्यसरी आउने पाहुनालाई स्वागत गर्दै यहाँका कवि, लेखक, पाठक जम्मा भएर सम्बन्धित स्रस्टाका कृतिको चर्चा गर्ने, कविता सुन्नेलगायत कार्यक्रम क्षणभरमै तय हुन्छन् ।

यस्ता कार्यक्रम र गतिविधिको सूचना र समाचारले स्रस्टाहरूलाई हौसला मिलेको बताउने कविडाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्री सम्पूर्ण किताबलाई साहित्यिक तीर्थस्थल मान्छन् ।

काठमाडौंबाहिरका पुस्तक पसलमध्ये सम्पूर्ण किताबले पठन संस्कार बढाउन महत्वपूर्ण भूमिका खेल्नुका साथै साहित्यिक किताबको बजार प्रवर्द्धनमा टेवा पुर्‍याएको छ । नेपालमा सम्पूर्ण किताबले जसरी अरूले पनि किताबको बजारीकरण गर्ने हो भने लेखक र प्रकाशकलाई राहत मिल्ने कतिपय लेखक र प्रकाशक बताउँछन् ।

‘म पनि पढ्छु’
नियमित रूपमा स्रस्टाहरूको बाक्लो उपस्थिति रहने सम्पूर्ण किताबको नारा हो, म पनि पढ्छु । यही नारालाई अघि बढाउँदै सम्पूर्णले शृंखलाबद्ध कार्यक्रम सुरु गरेको छ ।

गएको शनिबार सम्पूर्णमा एक हुल विद्यार्थी आए । विद्यार्थीमा पढ्ने संस्कार बसाउन र बोल्ने बानीको विकास गराउन सम्पूर्ण किताबले सुरु गरेको ‘म पनि पढ्छु’ कार्यक्रममा सहभागी हुन विद्यार्थी त्यहाँ आएका थिए । एक्स्पर्ट एजुकेसन एन्ड भिजा सर्भिस चितवनसँगको सहकार्यमा ‘म पनि पढ्छु–विद्यार्थीका अनुभव र अनुभूति’ कार्यक्रम सम्पूर्ण किताबले सुरु गरेको हो ।

कार्यक्रमको पहिलो शृंखलामा चितवन र नवलपरासीका विभिन्न विद्यालयका आठजना विद्यार्थी सहभागी थिए । विद्यार्थीले आफूले पढेका किताबबारे चर्चा गर्दै उक्त किताबबाट आफूले सिकेका कुरा सुनाएका थिए । कार्यक्रमको सुरुवातमा स्मल हेभन मोडल स्कुलमा कक्षा १० मा अध्ययनरत प्रशंसा पराजुलीले ‘मोम्चो’ कथासंग्रहको समीक्षा सुनाइन् । प्रशंसाले आफ्ना बुबा वसन्त पराजुलीको कथासंग्रह मोम्चोको लिखित समीक्षा पढेर सुनाएकी थिइन् । उनले मोम्चोमा सामाजिक कथाहरू भएको बताइन् ।

दोस्रो सहभागीका रूपमा अंकुरम् एकेडेमीमा कक्षा सातमा पढ्ने आशीर्वाद सापकोटाले आफ्नो पठन अनुभूति सुनाए । आशीर्वादले विश्वप्रसिद्ध कथाकार रोल्ड डालको ‘बिल्ली एन्ड द मिन्पिन्स’ पुस्तकको चर्चा गर्दै सोही पुस्तकबाट एउटा कथालाई आफ्नै ढंगले सुनाए । उनले उक्त कथा पढेर आमाले भनेको कुरा मान्नुपर्छ, कतै नजानेको ठाउँमा एक्लैएक्लै जान हुँदैन, त्यसो गरियो भने दुःख पाइन्छ भन्ने सन्देश लिएको बताए ।

त्यसैगरी गैँडाकोट इंग्लिस स्कुलमा कक्षा ६ मा पढ्ने छात्रा अभिश्री कँडेलले आफूले पुस्तक पढ्न रुचि राख्ने र थुप्रै किताब पढेको बताइन् । अतिरिक्त किताब पढ्दा आफूले धेरै कुरा सिकेको र आफ्नो व्यक्तित्व विकासमा सहयोग पुगेको बताइन् ।

सनराइज स्कुल कक्षा नाैमा पढ्ने आरोपा श्रेष्ठले आफूले पढेको पुस्तकको परिचय दिइन् । ‘म्याक्स वेल नलेज’का चारवटा भागको परिचय राख्दै आरोपाले यो पुस्तक विद्यार्थीका लागि अत्यन्तै उपयोगी भएको बताइन् ।

विश्वप्रकाश माविकी छात्रा वर्षा कार्कीले डाक्टर नवराज केसीको पुस्तक ‘शून्यको मूल्य’को चर्चा गरिन् । कक्षा १० मा पढ्ने वर्षाले शिक्षक विपिन पाठकबाट जन्मदिनमा यो पुस्तक उपहार पाएको बताउँदै यो पुस्तक प्रेरणादायी भएको उल्लेख गरिन् ।

अंकुरम् एकेडेमीमा कक्षा नाैमा पढ्ने विनिसा साहले ‘अ पाथ अफ हेभन’ उपन्यास पढेर सकेको बताइन् । उनले सोही किताबको कथा सुनाइन् । स्टेप बाई स्टेप स्कुलमा ११ कक्षामा पढ्ने सम्पदा चालिसेले आफूले पढेका किताब सेतो धर्ती, बाआमा, सखीलगायतका पुस्तकको चर्चा गरिन् । विद्यार्थी जीवनमा अतिरिक्त किताबले आफूलाई धेरै सहयोग मिलेको सम्पदाले बताइन् ।

आदर्श पब्लिक स्कुलमा कक्षा पाँचमा पढ्ने हिमेश कँडेलले तीन वर्षअघि देखि नै आफूले पाठ्यक्रमबाहिरका पुस्तक पनि पढ्ने गरेको सुनाए । उनले कथा पढ्नमा आफ्नो रुचि रहेको बताउँदै उनलाई मन परेको कथा ‘रीताको स्कुल’ कथाबारे चर्चा गरे ।

कार्यक्रममा सबै विद्यार्थीले निर्धक्कसँग आफ्ना कुरा राखेका थिए । कार्यक्रममा विद्यार्थीको प्रस्तुति सुन्न आएका उदय अधिकारी, प्रेम सिग्देल र उपेन्द्र त्रिपाठीले पढ्ने बानीले विद्यार्थीलाई धेरै कुरा सिक्न र जुनसुकै काम गर्न पनि सजिलो हुने बताए ।

ad
ad