१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
• वि.सं २o८१ बैशाख १७ सोमबार
• Monday, 29 April, 2024
मञ्जु टेलर काठमाडाैं
२o८१ बैशाख १७ सोमबार o६:३५:oo
Read Time : > 4 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

सुत्केरी र गर्भावस्थामा ज्यान गुमाउनेमध्ये ४३ प्रतिशतको एउटै कारण उपचार अभाव

Read Time : > 4 मिनेट
मञ्जु टेलर, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o६:३५:oo

घरमै, अस्पताल लैजाँदा बाटोमै र एउटा स्वास्थ्य संस्थाबाट अन्यत्र रेफर गर्दागर्दै ज्यान गुमाउँछन् गर्भवती र सुत्केरी

नेपालमा सुत्केरी र गर्भावस्थामा ज्यान गुमाउने (मातृ मृत्यु)मध्ये ४३ प्रतिशतले समयमै उपचार नपाउँदा यस्तो क्षति भोग्नुपरेको देखिएको छ । स्वास्थ्य सेवा विभागले राष्ट्रिय जनगणना, २०७८ अन्तर्गत ‘नेपाल मातृ मृत्यु अध्ययन’को विश्लेषणपछि यस्तो नतिजा देखिएको हो । मातृ मृत्यु तथ्यांकका आधारमा मृत्युको कारण पत्ता लगाइएको यो नै पहिलोपटक हो ।

०७८ को जनगणनाका क्रममा पछिल्लो १२ महिनाको मातृ मृत्यु तथ्यांक संकलन गरिएको थियो । उक्त अवधिमा ६२२ सुत्केरी तथा गर्भवतीको मृत्यु पुष्टि भएकोमा २६५ जनाले उपचार नपाएर ज्यान गुमाएको खुलेको थियो । त्यस्तै, ३४६ जनाको स्वास्थ्य संस्थामा उपचारकै क्रममा मृत्यु भएको तथा ११ जनाको मृत्युको कारण नखुलेको मातृ मृत्यु अध्ययनको रिपोर्टमा छ ।

तथ्यांकअनुसार उपचार नपाएर भएको मातृ मृत्युमध्ये कोशीमा ४१, मधेशमा ५९, बागमतीमा १८, गण्डकीमा १४, लुम्बिनीमा ७०, कर्णालीमा २७ र सुदूरपश्चिममा ३६ जना छन् । विश्व स्वास्थ्य संगठनले गर्भावस्थामा वा बच्चा जन्मेपछिको ४२ दिनभित्र आमाको मृत्यु हुनुलाई मातृ मृत्युका रूपमा परिभाषित गरेको छ ।

घरमै, अस्पताल लैजाँदा बाटोमै र एउटा स्वास्थ्य संस्थाबाट अन्यत्र रेफर गर्दागर्दै गर्भवती र सुत्केरीको मृत्यु हुने गरेको छ । खासगरी जटिल समस्याको उपचारका लागि पालिकास्तरको स्वास्थ्य संस्थामा सम्भव नहुनु र जिल्ला अस्पताल रेफर गर्दा निकै ढिला भइसक्ने भएकाले सुत्केरीको मृत्यु हुने गरेको हो । उपचार नपाएर ज्यान गुमाउनेमध्ये ४३ प्रतिशतमध्ये २६ प्रतिशतको घरमै, नौ प्रतिशतको अस्पताल लैजाँदै गर्दा बाटोमा र आठ प्रतिशतको एक स्वास्थ्य संस्थाबाट अन्यत्र रेफर गर्दागर्दै मृत्यु भएको स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाको तथ्यांक छ ।

समयमा उपचार नपाउँदा मातृ मृत्युदर अपेक्षाकृत रूपमा कम हुन नसकेको स्विकार्छन् परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लाल । ‘स्वास्थ्य संस्थामा लैजाने निर्णयमा ढिलाइ गर्ने, बाटोमै मृत्यु हुने र स्वास्थ्य संस्थासम्म पुर्‍याउँदा पनि स्वास्थ्यकर्मी तथा आवश्यक उपकरण र सुविधाको अभावमा मृत्यु हुने संख्या ठूलो छ, अपेक्षाकृत न्यूनीकरणमा चुनैती कायमै छ,’ उनले भने ।

दिगो विकासको लक्ष्यअनुरूप २०३० सम्म मातृ मृत्युदरलाई प्रति एक लाखमा ७० मा झार्ने लक्ष्य लिइएको छ । तर, राष्ट्रिय जनगणना, २०७८ अनुसार नेपालमा मातृ मृत्युदर प्रति एक लाखमा एक सय ५१ देखिएको छ । यसअघि २०१६ को जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण (एनडिएचएस)अनुसार प्रति एक लाख जीवित जन्ममा मातृ मृत्युदर दुई सय ३९ जना थियो । गर्भपतनदेखि बच्चा जन्माइसकेपछि हुने उच्च रक्तस्राव, संक्रमण, उच्च रक्तचाप, गर्भपतन आदिका कारण गर्भवती र सुत्केरीको ज्यान गइरहेको छ ।

परिवार कल्याण महाशाखासँग स्वास्थ्य संस्थामा मृत्यु भएकाको मात्रै तथ्यांक
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखासँग भने मातृ मृत्युदरको सिंगो तथ्यांक छैन । स्वास्थ्य संस्थामा मृत्यु भएकाको तथ्यांक मात्रै महाशाखासँग छ । स्वास्थ्य महाशाखाको मातृ तथा नवजात शिशु शाखाको तथ्यांकअनुसार आर्थिक वर्ष ०७५/७६ मा दुई सय ७३ आमाको मृत्यु भएको थियो । ०७६ असोजदेखि ०७७ चैतसम्म दुई सय ४१ गर्भवती र सुत्केरीले ज्यान गुमाएका थिए । त्यस्तै, ०७७/७८ मा एक सय ७८ र ०७८/७९ मा एक सय ७६ गर्भवती तथा सुत्केरीको ज्यान गएको थियो । ०७९/८० को रिपोर्ट भने विश्लेषण भइसकेको छैन ।

नेपालमा मातृशिशु मृत्युदरबारे बृहत् अध्ययन गर्न आमा सुरक्षा कार्यक्रमअन्र्तगत एमपिडिएसआर अर्थात् मृत्युको कारण पत्ता लगाएर न्यूनीकरण गर्न कार्यक्रम लागू गरिएको महाशाखाले जनाउँदै आएको छ । महाशाखा निर्देशक डा. विवेककुमार लाल भन्छन्, ‘मातृ मृत्यु कम गर्न दुर्गम भेगमा स्क्रिनिङका लागि गाउँस्तरमा अल्ट्रासाउन्ड गर्ने गर्भावस्थाको मानसिक स्वास्थ्य कार्यक्रम, रक्तस्राव कम गर्न प्रयोग गरिने प्रविधिजस्ता कार्यक्रम सुरु गरिएको छ ।

बच्चा जन्मिसकेपछि उच्च रक्तस्रावका कारण मृत्यु हुने, मानसिक समस्याका कारण आत्महत्या बढेको र समयमा परीक्षण नगर्दा जटिलता बढी हुने भएकाले यस्ता कार्यक्रम लागू गरिएको हो ।’ यसबाहेक गर्भावस्थामा आठपटक र बच्चा जन्मिसकेपछि चारपटक अनिवार्य स्वास्थ्य परीक्षण गराउनुपर्ने मापदण्ड बनाइएको पनि उनले बताए । ग्रामीण भेगमा ४२ दिनभित्रमा स्वास्थ्यकर्मी घरमै आएर आमा र बच्चाको स्वास्थ्य परीक्षण गर्नुपर्ने कार्यक्रम पनि लागू भइरहेको छ ।

गर्भवती र सुत्केरीको उद्धार गर्न हवाई सुविधा, तर झन्झटिलो प्रक्रियाले समस्या
समयमै अस्पताल पुर्‍याउन दुर्गम भेगका गर्भवती तथा सुत्केरीका लागि हवाई उद्धारको सुविधा दिए पनि झन्झटिलो प्रक्रियाका कारण प्रभावकारी हुन सकेको छैन । राष्ट्रपति उत्थान कार्यक्रमअन्तर्गतको यो सुविधा समयमै लिन नपाउँदा गर्भवती र सुत्केरीले ज्यान गुमाइरहेका छन् ।

उद्धारका लागि ढिला खबर आइपुग्ने, प्रमुख जिल्ला अधिकारीको सिफारिस पत्र लिनुपर्ने, सम्बन्धित महिलाको नागरिकताको प्रतिलिपि, स्थानीय स्वास्थ्य संस्थाको सिफारिस पत्रलगायत कागजात मिलाउनुपर्ने झन्झटका साथै भौगोलिक कठिनाइले हेलिकोप्टर समयमा पुर्‍याउन नसक्दा गर्भवती तथा सुत्केरीले अकालमा ज्यान गुमाउने गरेका छन् ।

यो कार्यक्रम हिमाली र पहाडी गरी १८ जिल्लामा पूर्ण रूपमा लागू गरिएको छ । ताप्लेजुङ, संखुवासभा, भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुंगा, मनाङ, मुस्ताङ, रुकुम पूर्व, जाजरकोट, रुकुम पश्चिम, डोल्पा, कालिकोट, मुगु, हुम्ला, बाजुरा, अछाम र दार्चुलामा कार्यक्रम पूर्ण रूपमा लागू गरिएको छ । यसबाहेक ३० जिल्लामा भने केही दुर्गमका पालिकामा मात्रै कार्यक्रम सञ्चालनमा छ ।

डा. विवेककुमार लाल
निर्देशक, परिवार कल्याण महाशाखा, स्वास्थ्य सेवा विभाग

स्वास्थ्य संस्थामा लैजाने निर्णयमा ढिलाइ गर्ने, बाटोमै मृत्यु हुने र स्वास्थ्य संस्थासम्म पुर्‍याउँदा पनि स्वास्थ्यकर्मी तथा आवश्यक उपकरण र सुविधाको अभावमा मृत्यु हुने संख्या ठूलो छ, अपेक्षाकृत न्यूनीकरणमा चुनाैती कायमै छ ।

उमेर समूहअनुसार मातृ मृत्यु
१५–१९ वर्ष उमेरका पनि १० प्रतिशत

०७८ को जनगणनाका क्रममा ९ मंसिर ०७८ भन्दा अगाडि १२ महिनाको मातृ मृत्यु तथ्यांक संकलन गरिएको थियो । उक्त अवधिमा ६२२ सुत्केरी तथा गर्भवतीको मृत्यु पुष्टि भएकोमा २६५ जनाले उपचार नपाएर ज्यान गुमाएको खुलेको थियो । त्यस्तै, ३४६ जनाको स्वास्थ्य संस्थामा उपचारकै क्रममा मृत्यु भएको तथा ११ जनाको मृत्युको कारण नखुलेको मातृ मृत्यु अध्ययनको रिपोर्टमा छ ।

मातृ मृत्युका प्रमुख ६ कारण
३२ प्रतिशत मृत्यु गैरप्रसूतिजन्य जटिलताका कारणले हुने गरेको राष्ट्रिय जनगणना, २०७८ अन्तर्गत ‘नेपाल मातृ मृत्यु अध्ययन’ले देखाएको छ । प्रसूतिको समयमा हुने उच्च रक्तस्रावबाट २६ प्रतिशत, उच्च रक्तचापले निम्त्याउने समस्याबाट १२ प्रतिशत, गर्भावस्थामा हुने विभिन्न संक्रमणबाट ७ प्रतिशतले ज्यान गुमाएका छन् । त्यस्तै, ६ प्रतिशत सुत्केरी तथा गर्भवतीले आत्महत्या गरेको र ५ प्रतिशतको गर्भपतनका कारण मृत्यु भएको अध्ययनको तथ्यांक छ ।

गर्भवती र सुत्केरी आमाहरू जसले समयमा उपचार नपाउँदा गुमाए अकालमा ज्यान
११ दिनकी सुत्केरी अन्सुले हेलिकोप्टर कुर्दाकुर्दै प्राण त्यागिन् : गत २४ पुसमा हुम्लाको ताजाँकोट गाउँपालिका– ५ की २० वर्षीया अन्सु बुढाले हेलिकोप्टरको प्रतीक्षा गर्दागर्दै ज्यान गुमाइन् । ११ दिनकी सुत्केरी बुढाको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उपचारका लागि बाजुरा हुँदै नेपालगन्ज ल्याउने तयारी थियो । तर, बाजुराको कोल्टी पुर्‍याउँदासम्म पनि हेलिकोप्टर नआउँदा उनको त्यहीँ मृत्यु भएको थियो ।

सुत्केरी गराउन जिल्ला अस्पताल पुर्‍याउँदासम्म जिउँदो रहिनन् गौबडीदेवी : गत १५ पुसमा बझाङको केदारस्युँ गाउँपालिका– ६ सिङराल्ली गाउँकी ३५ वर्षीया गौबडीदेवी धामीको सुत्केरी हुन नसक्दा उपचारका क्रममा ज्यान गयो । गर्भवतीको स्वास्थ्य अवस्था निकै जटिल भइसकेको भन्दै पालिकाकै देउरा बजारमा रहेको रायल प्राथमिक स्वास्थ्य केन्द्रले जिल्ला अस्पताल रेफर गरेको थियो । तर, जिल्ला अस्पताल पुर्‍याएलगत्तै अस्पतालले उनलाई मृत घोषित गर्‍यो ।

सुत्केरी बेथा लागेको ६ घन्टासम्म उपचार नपाउँदा रंगिताले संसार छाडिन् : गत १५ कात्तिकमा हुम्लाको अदानचुली गाउँपालिका– ५ काँखे गाउँकी २० वर्षीया रंगिता शाहीले पनि सुत्केरी बेथा लागेको ६ घन्टासम्म उपचार पाइनन् । गाउँको स्वास्थ्य चौकीमा सुरक्षित प्रसूति गराउने स्वास्थ्यकर्मी नहुँदा उनले उपचार नपाएकी हुन् । बच्चा जन्माउन नसक्दा अन्ततः उनको ज्यानै गयो ।

सुत्केरी बेथासँगै भएको उच्च रक्तस्रावले लियो पवित्राको ज्यान : गत असोजमा हुम्लाको सर्केगाड गाउँपालिका– ७ की २४ वर्षीया पवित्रा शाही छन्त्यालको अत्यधिक रक्तस्रावका कारण मृत्यु भयो । चार दिनदेखि सुत्केरी बेथाले थलिए पनि समयमा स्वास्थ्य संस्थामा पुर्‍याउन नसक्दा उनको मृत्यु भएको थियो ।

ad
ad