१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० माघ ५ शुक्रबार ०८:१६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

कार्टुनिस्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० माघ ५ शुक्रबार ०८:१६:००

कार्टुनिस्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ । नयाँ बानेश्वरको एनबी सेन्टरस्थित उमोजा कफीमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएका छन् । कार्टुनिस्ट क्लबका अध्यक्ष तथा कार्टुनिस्ट वासु क्षितिज, पूर्वअध्यक्ष अविन, नयाँ पत्रिका दैनिकका प्रधानसम्पादक कृष्णज्वाला देवकोटा, कान्तिपुर दैनिकका प्रधानसम्पादक उमेश चौहान र अनलाइनखबर डटकमका सम्पादक वसन्त बस्नेतले क्यानभासमा चित्र कोरेर प्रदर्शनीको उद्घाटन गरेका हुन् । 

सो अवसरमा मिश्रले समाजमा देखेका दृश्य कार्टुनमा उतार्ने गरेको बताए । उनले भने, ‘यो प्रदर्शनी मैले देखेको समाजको चित्र हो ।’ ‘डिपिक्सन’ नाम दिएको प्रदर्शनीमा ३५ कार्टुन राखिएका छन् । १७ वर्षदेखि कार्टुन बनाइरहेका मिश्रले तीन हजारभन्दा धेरै कार्टुन बनाइसकेका छन् । प्रदर्शनीमा मिश्रले पछिल्लो पाँच वर्षमा बनाएका कार्टुन राखेका छन् । कार्टुनलाई एकतर्फी सञ्चार मात्र नभई संवादका रूपमा स्थापित गर्न प्रदर्शनी गरिएको मिश्रले बताए ।

उनले भने, ‘कार्टुनलाई सञ्चार मात्रै नभई संवादको माध्यम पनि बनाउन प्रदर्शनी आवश्यक हुँदो रहेछ । पत्रिकामार्फत एकोहोरो संवाद गरिरहेको म यो प्रदर्शनीमार्फत दोहोरो संवाद गर्न आइपुगेको छु ।’ ‘कर्नर किक’ शीर्षकमा मिश्रका कार्टुन नयाँ पत्रिकामा प्रकाशित हुन्छन् । ‘यो प्रदर्शनी कार्टुनका लागि नयाँ जमिनको खोजी पनि हो । अखबारका कोलम र ग्यालरीको भित्ताभन्दा पर पनि कार्टुनलाई पुर्‍याउने रहर हो । कार्टुनलाई थप पहुँचयोग्य र सान्दर्भिक बनाउने प्रयत्न हो,’ मिश्रले भने । प्रदर्शनी १४ माघसम्म चल्नेछ ।