१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०८० माघ ४ बिहीबार २३:०९:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

हेटौँडा सिमेन्टका कर्मचारी धर्नामा, बन्द उद्योग सञ्चालन गर्न माग

महाप्रबन्धक पाण्डे भन्छन्- केही दिनमै उद्योग सञ्चालन हुन्छ

Read Time : > 1 मिनेट
२०८० माघ ४ बिहीबार २३:०९:००

तीन महिनादेखि बन्द उद्योग सञ्चालनको माग गर्दै हेटौँडा सिमेन्ट उद्योगका कर्मचारी धर्नामा बसेका छन् । हेटौँडामा रहेको सरकारी स्वामित्वको सिमेन्ट उद्योग गत असोजदेखि बन्द छ । 

क्लिंकर उत्पादन सुरु गर्न माग गर्दै कर्मचारीहरू उद्योगको प्रशासन भवनको गेटमा धर्नामा बसेका हुन् । धर्नामा बसेकाहरू माओवादी केन्द्रनिकट अखिल नेपाल औद्योगिक मजदुर संगठननिकट कर्मचारी हुन् । 

उनीहरू गत २४ पुसदेखि हातमा कालोपट्टी बाँधेर दैनिक धर्नामा बसिरहेको अखिल नेपाल औद्योगिक मजदुर संगठन हेटौँडा सिमेन्ट उद्योगका अध्यक्ष दीपक थोकरले जानकारी दिए ।

२४ पुसदेखि २ माघसम्म हातमा कालोपट्टी बाँधी धर्ना दिए पनि यस अवधिमा आफ्ना मागहरूको विषयमा प्रशासनको तर्फबाट सुनुवाइ नभएपछि ८ माघसम्म धर्नालाई निरन्तरता दिने अध्यक्ष दीपक थोकरले बताए । 

‘उद्योग नियमित सञ्चालन हुनुपर्‍याे भन्ने हाम्रो एक मात्र माग हो । उद्योगको उत्पादन नै बन्द गरिराख्दा झनै समस्या हुने देखिएकाले हामी चिन्तित बनेका हौँ,’ उनले भने । 

उद्योग प्रशासनले नियमित कोइला आपूर्ति गर्न नसक्दा क्लिंकर उत्पादन रोकिएपछि उद्योगको अवस्था धराशायी भएकाले आफूहरूले उद्योग नियमित सञ्चालनको माग गर्दै धर्ना दिनुपरेको अध्यक्ष थोकरको दाबी छ ।

‘कोइला आयात गर्ने ठेकेदारलाई दिनुपर्ने रकम दिन नसकिएको कारण देखाउँदै क्लिंकर उत्पादन बन्द गरिएको छ । उद्योगको समस्या चाँडै समाधान गर्नु प्रशासनको दायित्व हो । प्रशासनले गम्भीरतापूर्वक उद्योग नियमित सञ्चालनको वातावरण निर्माण गरोस् भनेर हाम्रो धर्ना हो,’ अध्यक्ष थोकरले भने । 

उद्योगका महाप्रबन्धक वसन्तकुमार पाण्डेले केही दिनभित्रै उद्योग सञ्चालन हुने बताए । उनले उद्योग सञ्चालनको वातावरण बनाइरहेको बताउँदै उद्योगबाट उत्पादित सिमेन्ट बिक्री नै अत्यन्त कम भएको र कोइला आयातकर्ताको भुक्तानी दिन पनि रकम नभएकाले तत्काललाई उद्योगको उत्पादन बन्द गर्नुपरेको स्पष्ट पारे ।

‘उद्योगको उत्पादन बन्द गरिए पनि उत्पादन भएको सिमेन्टको मौज्दात टन्नै छ । त्यही मौज्दात सिमेन्टको बिक्रीलाई निरन्तरता दिइरहेका छौँ । हाल दैनिक पाँच सयदेखि दुई हजार बोरासम्म मात्र सिमेन्ट बिक्री भइरहेको छ,’ उनले भने ।

अहिले पनि उद्योगमा करिब डेढ लाख बोरा सिमेन्ट मौज्दात रहेको महाप्रबन्धक पाण्डेले जानकारी दिए । उनले उद्योग सञ्चालनका लागि पनि अझै हजार टनभन्दा बढी कोइला स्टक रहेको जानकारी दिँदै मौज्दात सिमेन्ट घट्दै गएपछि उद्योग सञ्चालन गर्ने बताए ।

महाप्रबन्धक पाण्डेले कर्मचारीको धर्नाको कुनै औचित्य नरहेको दाबी गर्दै उद्योगको अवस्थाबारे सबै जानकार भएकाले सम्बन्धित सबैले मिलेर काम गर्नुपर्ने बताए । 

उद्योगलाई नियमित र सञ्चालनका लागि नयाँ मेसिन र उपकरणसहित स्तरवृद्धि गर्न र उत्पादन लागत घटाई दीर्घकालीन नाफा गराउने उद्देश्यसहित विस्तृत प्रस्ताव परियोजना उद्योग मन्त्रालय हुँदै अर्थ मन्त्रालयमा पठाइसकिएको उनले दाबी गरे ।

महाप्रबन्धक पाण्डेले केही दिनअघि मात्रै पनि उद्योगमन्त्री रमेशप्रसाद रिजालले उद्योगको अवलोकन गरी वास्तविक अवस्था बुझेर गएको र उद्योगलाई नियमित सञ्चालनका लागि आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता दिएको बताए ।