
बंगलादेशका अलराउन्डर नासिर हुसेनलाई एन्टी करप्सन संहिता उल्लंघन गरेको आरोपमा दुई वर्ष प्रतिबन्ध लगाइएको छ । २०२३ सेप्टेम्बरमा आइसिसीले लगाएका तीन आरोप हुसेनले स्वीकार गरेपछि उनलाई ६ महिनाको निलम्बनसहित दुई वर्ष प्रतिबन्ध लगाइएको हो । हुसेनलाई २०२०/२१ अबुधाबी टी–१० लिगमा इमिरेट्स क्रिकेट बोर्डको भ्रष्टाचारविरोधी संहिता उल्लंघन गरेको भन्दै आइसिसीले सबै प्रकारका क्रिकेटबाट दुई वर्ष प्रतिबन्ध लगाएको जनाएको छ । आइसिसीको विज्ञप्तिअनुसार हुसेन ७ अप्रिल २०२५ मा अन्तर्राष्ट्रिय क्रिकेटमा फर्कनेछन् ।
सन् २०२०/२१ मा अबुधाबीमा भएको टी–१० लिगमा अपरिचित व्यक्तिबाट महँगो गिफ्ट लिएको स्विकारेपछि बंगलादेशी अलराउन्डर हुसेन प्रतिबन्धित
सेप्टेम्बर २०२३ मा पुने डेभिल्स फ्रेन्चाइजको आरोपित आठ व्यक्तिमध्ये हुसेन एक हुन् । फ्रेन्चाइज लिगमा हुसेन उपहारको प्रलोभनमा परेको आइसिसीले ठहर गरेको छ । जसमा उनले आइफोन १२ पाएका थिए । हुसेनले बंगलादेशका लागि १९ टेस्ट, ६५ एकदिवसीय र ३१ अन्तर्राष्ट्रिय टी–२० खेलिसकेका छन् । हुसेनले बंगलादेशका लागि २०११ देखि २०१८ सम्म खेल्दा समग्रमा दुई हजार ६ सय ९५ रन र ३९ विकेट लिए ।
हुसेनले लिग चलिरहँदा अपरिचित व्यक्तिबाट उपहार लिएका थिए । अनुसन्धानका क्रममा उनले अनुसन्धान कमिटीलाई सहयोेग गरेको आइसिसीले जनाएको छ । महँगा गिफ्ट लिए पनि हुसेनले आइसिसीको २.४.३ अनुसार यस सम्बन्धमा एन्टी करप्सन अफिसरलाई जानकारी दिएनन् ।