१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:४५:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

नगर सभाको १४औँ अधिवेशनमा नाै करोडकाे कार्यक्रम तथा बजेट संशोधन प्रस्ताव 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:४५:oo

काठमाडौं महानगरपालिकाको १४औँ नगर सभा आज सुरु भएको छ। महानगरका प्रमुख बालेन्द्र साह (बालेन)को अध्यक्षतामा प्रज्ञा प्रतिष्ठान, कमलादीमा सभाको पहिलाे बैठक बसेको हो। 

नगर सभाको १३औँ अधिवेशनबाट स्वीकृत चालू आर्थिक वर्ष ०८०/८१ को वार्षिक कार्यक्रम तथा बजेट कार्यान्वयनको क्रममा छ। 

चालू आर्थिक वर्षमा महानगरको सञ्चित कोषमा आय तथा खर्चका लागि २४ अर्ब चार करोड ५४ लाख एक हजार रुपैयाँ विनियोजन गरिएको छ। जसमध्ये पुस २६ गतेसम्ममाचार अर्ब २७ करोड ४१ लाख ५० हजार रुपैयाँ खर्च भएको छ। 

सभामा चालू आर्थिक वर्षमा गरिएको खर्चका विषयमा जानकारी गराउँदै उपप्रमुख सुनिता डंगोलले भनिन्, ‘अहिलेसम्म विनियोजन गरिएको रकमको १७.७८ प्रतिशत खर्च भएको छ। जसमध्ये पूर्वाधार विकासमा ११.६४ प्रतिशत, आर्थिक विकासमा १३.३४ प्रतिशत, सामाजिक विकासमा १८.७९ प्रतिशत खर्च भएको छ।’ 

सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ १०.८४ प्रतिशत खर्च भएको छ। कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा ३६.४७ प्रतिशत खर्च भएको ,’ उनले भनिन्, ‘विकास निर्माण कार्यको भौतिक प्रगति बढी भए पनि कतिपय खर्च भुक्तानी प्रक्रियामा भएर लेखांकन भइनसकेका कारण वित्तीय प्रगति कम देखिएको छ।’

चालू आर्थिक वर्षमा राजस्व आम्दानीतर्फ १० अर्ब ८० करोड ७८ लाख २० हजार रुपैयाँको लक्ष्य निर्धारण गरिएको थियो। त्यसमध्ये आन्तरिक राजस्व असुलीको लक्ष्य ६ अर्ब ३९ करोड २० लाख रुपैयाँ छ । यसमध्ये पुस २६ गतेसम्ममा चार अर्ब ७६ करोड ३३ लाख १२ हजार ६ सय २४ रुपैयाँ संकलन भएको छ। जसमा आन्तरिक आय अन्तर्गत  दुई अर्ब ८७ करोड ७८ लाख ९८ हजार आठ सय ७७ रुपैयाँ छ। समग्र प्रतिशतमा हेर्ने हो भने कुल आम्दानीको लक्ष्यअनुसार प्रगति ४४.०७ प्रतिशत छ। आन्तरिकतर्फ कुल लक्ष्यको ४५.०२ प्रतिशत प्रगति भएको छ।

सभामा बजेट तथा कार्यक्रमको संशोधन प्रस्ताव राख्दै उपप्रमुख डंगोलले स्वीकृत नीति तथा कार्यक्रम बजेटको लक्ष्य हासिल गर्न बजेट कार्यक्रममा केही हेरफेर गर्न जरुरी देखिएको बताइन्। 

डंगाेलका अनुसार चालू आ.व.को कार्यक्रम बजेटमा संशोधन प्रस्ताव तयार गर्दा स्वीकृत कुल बजेट रकममा कुनै थपघट नगरी केही क्रियाकलापमा मात्र संशोधनको प्रस्ताव पेस गरिएको छ। 

संशोधित प्रस्तावमा कार्यालय सञ्चालन र प्रशासनिक खर्च, आर्थिक विकास र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रबाट नाै करोड २१ लाख घटेको छ भने पूर्वाधार विकास र सामाजिक विकास क्षेत्रमा सोही बराबरको बजेट थप गरिएको छ। 

नगर सभाको १३औँ अधिवेशनबाट चालू आर्थिक वर्षको पुस मसान्तसम्म कर रकममा १० प्रतिशत र बक्यौतामा जरिवानासमेत छुट दिइएको थियो। 

हालको वित्तीय बजार र आर्थिक अवस्थालाई मध्यनजर गरी करको दायरामा नआएका जुनसुकै उमेरका महिला, जनजाति, दलित, अपांगता भएका र ३५ वर्षभन्दा कम उमेरका युवाको नाममा दर्ता भई सञ्चालनमा रहेका पाँच लाख रुपैयाँसम्म पुँजीगत लगानी भएका उद्योग, व्यवसाय, कम्पनी, संस्थाहरूले ०८१ असार मसान्तसम्म कर दाखिला गरेमा जम्मा कर रकमको ४० प्रतिशत र नियमित कर दाखिला गर्ने करदाताहरूका हकमा कर रकमको २५ प्रतिशत छुट दिने आर्थिक विधेयकमार्फत प्रस्ताव गरिएको छ। 

सभामा प्रवक्ता नवीन मानन्धरले सूचना तथा सञ्चार ऐन, २०८० को पहिलो संशोधन, राजस्व समितिका संयोजक नवराज पराजुलीले आर्थिक ऐन, २०८० को संशोधन विधेयक र सुशासन समितिका संयोजक ख्यामराज तिवारीले, जनप्रतिनिधिको सुविधासम्बन्धी ऐन, २०७९ को पहिलो संशोधन विधेयक पेस गरे। यी विधेयक र संशोधन बजेट तथा कार्यक्रमसम्बन्धी माघ ३ गते बस्ने अधिवेशनको दोस्रो बैठकमा छलफल हुनेछ।