१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १४:५o:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

जुम्लाको भेरीखोलामा फोरजीसहितको टेलिफोन सेवा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १४:५o:oo

तातोपानी गाउँपालिका– ७ र ८ दुर्गम भेरीखोलामा फोरजीसहित टेलिफोन सेवा सञ्चालनमा आएको छ। थलालेडाँडामा टावर सञ्चालनमा आएपछि दुर्गम भेरीखोला फोरजीसहित सञ्चार सेवाको पहुँचमा आएको हो।

वर्षौँदेखि अलपत्र थलाले टावर बुधबारदेखि सञ्चालनमा आएको हो। आधारभूत सेवाभित्र पर्ने सञ्चार सेवाबाट वर्षौँदेखि वञ्चित हुँदै आएको भेरीखोला क्षेत्रका नागरिक थलाले टावर सञ्चालनमा आएसँगै उत्साहित भएका छन्। 

नेपाल टेलिकम शाखा जुम्लाका प्रमुख सूर्य यादवका अनुसार भेरीखोलाको थलाले टावरमा फोरजीसहित टेलिफोन सेवा सञ्चालन भएको छ। टुजीको पनि जडानको काम हुँदै गएको छ। यसले सूचना र सञ्चारमा सहज भएको छ। 

सूचना र प्रविधिको युगमा पनि भेरीखोलाका बासिन्दा टावर नहुँदा सूचना आदान–प्रदान गर्नबाटै वञ्चित भएका थिए। संघ प्रदेशका सांसददेखि स्थानीय सरकारसँग सधैँ सञ्चार सेवा विस्तारकै मागसमेत गर्दै आएका थिए।

ढिलै भए पनि थलालेमा रहेको नेपाल टेलिकमको टावर सञ्चालन आएसँगै सम्पूर्ण भेरीखोला क्षेत्र सञ्चार सेवाको पहुँचका पुगेको तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले बताए। वर्षौँदेखि अलपत्र रहेको थलाले टावर सञ्चालनका लागि पालिकाले निरन्तर ताकेता गरिरहेको थियो।

तातोपानी ७ नम्बर वडाध्यक्ष तिलक रावतले ढिलै भए पनि भेरीखोलाका नागरिकले सञ्चार सेवाको पहुँचमा पुगेको बताए। उनका अनुसार भेरीखोला क्षेत्रका दर्जनौँ गाउँका हजाराैँ नागरिक सञ्चार सेवा सुरु भएपछि उत्साहित छन्। 
 

ad
ad