१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
श्रवण थापा सर्लाही
२o८१ बैशाख २१ शुक्रबार o६:o८:oo
Read Time : > 2 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

बरहथवा घटना : मृतकको शव  दुई दिनसम्म घटनास्थलमै 

तीन सदस्यीय छानबिन समिति गठन

Read Time : > 2 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o६:o८:oo

बरहथवा नगरपालिका– ६ मा निर्माण भएको १५ शय्याको नगर अस्पताल सञ्चालनका विषयमा शुक्रबार दिउँसो भएको आन्दोलनमा प्रहरी गोली लागेर ज्यान गुमाएका युवकको शव दुई दिनसम्म घटनास्थलमै छ । बरहथवा– ६ का २८ वर्षीय जयशंकर साहको शव उठाउने प्रयास गरे पनि स्थानीयको अवरोधका कारण शनिबार रातिसम्म नयाँ रोड–बरहथवा सडकखण्डअन्तर्गत चोर्निया पुलमै छ । 

शव व्यवस्थापनका लागि प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमला नेतृत्वमा शनिबार राति इलाका प्रहरी कार्यालय बरहथवामा बसेको सुरक्षा समिति, आन्दोलित समूह र मृतकका आफन्तबीच छलफल भए पनि सहमति जुटेन । सिडिओ धमलाका अनुसार बैठक आइतबार बिहान फेरि बस्नेछ । 

पीडित र स्थानीयले मृतकलाई सहिद घोषणा गर्नुपर्ने, अस्पतालमा मृतकको सालिक निर्माण गर्नुपर्ने, बरहथवाका मेयर कल्पनाकुमारी कटुवालको राजीनामा र कारबाही हुनुपर्ने, इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख डिएसपी गंगाबहादुर थापालाई निलम्बन गर्नुपर्ने र घटनाका दोषी प्रहरीमाथि कारबाही गर्नुपर्ने माग राखेका छन् । मृतकका भान्जा विवेक साहले आफूहरूले अघि सारेका मागको सुनुवाइ नभएसम्म शव उठाउन नदिने र आन्दोलन थप चर्काउने बताए ।

बरहथवा घटनालाई लिएर शुक्रबार जिल्ला प्रशासनमा बसेको सर्वदलीय बैठकले मृतकको शव व्यवस्थापन गर्ने, गोली चलेको घटनामा प्रहरी दोषी देखिए कारबाही गर्ने, मृतकप्रति समवेदना व्यक्त गर्ने, प्रमुख जिल्ला अधिकारीसहितका सुरक्षा अधिकारीले घटनास्थलको स्थलगत निरीक्षण गर्ने निर्णय गरेको थियो । तर, स्थानीयले शनिबार पनि निषेधाज्ञाबीच प्रदर्शन जारी राखे । स्थानीयले मृतकको शव घटनास्थलमै राखेर बजार क्षेत्रमा प्रदर्शन गरे राखे । बजार शनिबार पनि बन्द रह्यो ।

बरहथवा वितरण केन्द्रबाट बिजुलीको महसुल तिरेर फर्कंदै गर्दा जयशंकरमाथि प्रहरीले गोली चलाएको स्थानीयको आरोप छ । प्रदर्शनस्थलको अवस्था गम्भीर बनेपछि सुरक्षामा खटिएका प्रहरीले गोली चलाएको सुरक्षा निकायले दाबी गरिरहेको छ । आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली लागेर साहको घटनास्थलमै ज्यान गएको थियो । प्रदर्शनमा आठ सुरक्षाकर्मीसहित १० जना घाइते भएका थिए । 

कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), जनमत, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र बहुजन एकता पार्टी स्वास्थ्य केन्द्र प्रदेश सरकारलाई हस्तान्तरण गरी ५० शय्यामा स्तरोन्नति गर्नुपर्ने पक्षमा तीन महिनादेखि आन्दोलित थिए । मेयर कल्पनाकुमारी कटुवालसहित एमाले प्राथमिक स्वास्थ्य केन्द्र हस्तान्तरण नगर्ने पक्षमा थिए । गत ९ असोजमा नगर कार्यपालिकाको बैठकले स्वास्थ्य केन्द्र प्रदेश सरकारलाई हस्तान्तरण गर्ने निर्णय गरेको थियो । १७ पुसमा बसेको कार्यपालिका बैठकले सो निर्णय तत्काललाई स्थगित गर्ने निर्णय गरेपछि तनाव बढेको हो । 

निषेधाज्ञा कायमै
बरहथवा क्षेत्रमा निषेधाज्ञा जारी छ । जिल्ला सुरक्षा समितिले शनिबार बिहान ८ बजेबाट आइतबार बिहान ८ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो । सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राखेर निषेधाज्ञा घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिए । यसअघि शुक्रबार घटनालगत्तै यस क्षेत्रमा शनिबार बिहानसम्मका लागि कफ्र्यु जारी भएको थियो ।

घटनाले सर्लाही नै अशान्त 
बरहथवाको घटनालाई लिएर जिल्लाको मलंगवा–नवलपुर सडक खण्डको ठाउँठाउँमा प्रदर्शन भएको छ । स्थानीयले ठाउँठाउँमा टायर बालेर प्रदर्शन गर्नुका साथै सवारी आवागमनमा समेत अवरोध गरेका थिए । घटनालाई लिएर आक्रोशित युवाले शनिबार बिहानैदेखि बरहथवा, मलंगवा, सलेमपुर, कविलासी, गौरलगायत बजार क्षेत्र र सडकमा विरोध प्रदर्शन गरे । बाटोमा टायर बालेर प्रदर्शन गर्दा बिहानैदेखि मलंगवा–नवलपुर सडकखण्डमा सवारीसाधन चल्न सकेको थिएनन् । 

कांग्रेस सर्लाही र उसका भातृ संगठनले शुक्रबार साँझ सर्लाहीका विभिन्न स्थानमा राँके जुलुस निकालेका छन् । पूर्व–पश्चिम राजमार्गस्थित हरिवनमा कांग्रेस सर्लाहीका सचिव निरोज कार्कीको नेतृत्वमा राँके जुलुस निकालिएको हो । घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको मागसहित राजमार्गमा राँके जुलुस निकालेर केहीबर चक्काजाम गरिएको कांग्रेस नेताहरूले बताए । परिवारको एक मात्र सहारा एक युवक मारिएको विरोधमा राँके जुलुस निकालेर प्रदर्शन गरिएको नेविसंघका केन्द्रीय सदस्य विभुसिंह थापाले जानकारी दिए । 

छानविनका लागि समिति गठन
गृह मन्त्रालयले बरहथवा घटनाको विषयमा छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ । सात दिनभित्र प्रतिवेदन पेश गर्नेगरी गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा छानविन समिति गठन भएको हो । समितिमा प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक भीमबहादुर बुढाथोकी छन् । छानविन समितिले शुक्रवार बरहथवामा प्रहरीको गोली लागेर जयशङ्कर साहको ज्यान गएको सम्बन्धमा सत्यतथ्य छानबिन गरेर प्रतिवेदन पेस गर्ने उल्लेख छ । घटनामा ज्यान गुमाएका साहको परिवारलाई सरकारले १० लाख रुपैयाँ राहत उपलब्द गराउने पनि निर्णय गरेको छ । 
 

ad
ad