१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १२:३५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

कीर्तिमानी धावक रोकाया एथलेटिक्स प्रशिक्षकबाट सेवा निवृत्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १२:३५:oo

कीर्तिमानी धावक तथा वरिष्ठ एथलेटिक्स प्रशिक्षक हरिबहादुर रोकाया प्रशिक्षकबाट सेवा निवृत्त भएका छन्। जिल्ला खेलकुद विकास समिति जुम्लामा कार्यरत एथलेटिक्स प्रशिक्षक रोकाया उमेर हदका कारण अनिवार्य सेवा निवृत्त भएका हुन्।

रोकाया सेवा निवृत्त भएपछि जिल्ला खेलकुद विकास समिति जुम्लाले शुक्रबार एक कार्यक्रमका बीच उनको बिदाइ गरेको छ। तीन दर्जनभन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी रोकायाले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नामसमेत लेखाएका छन्।

विश्व कीर्तिमानी धावक रोकायाले जीवनकालमा दर्जनौँ प्रतियोगितामा सहभागिता जनाएर स्वर्ण, रजत तथा कास्य पदक जितेका छन्।

शुक्रबार जिल्ला समन्वय समितिका कार्यबाहक प्रमुख जनक थकाली, प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे, खेलकुद विकास समितिका सदस्य सचिव संगीता आचार्यलगायतले दोसल्ला ओढाएर सम्मानपत्रसहित उनको बिदाइ गरे।

२०२२ सालमा जन्मिएका धावक रोकायाले खेलकुदकै माध्यमबाट जिल्लाको नाम विश्वसामु चिनाउन सफल भएको, एथलेटिक्सतर्फका खेलाडी उत्पादनमा जोड दिएको र समग्र जिल्लाको खेलक्षेत्रको विकासका लागि गरेको योगदानको कदर गर्दै स–सम्मान बिदाइ गरिएको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख बरमबहादुर महतले बताए।

जिल्ला समन्वय समितिका प्रमुख जनक थकालीले धावक रोकाया जुम्लाको मात्र नभई देशकै गहना भएको बताए। उनले भने, ‘उमेर हदले अनिवार्य अवकाश लिए पनि बाँकी जीवनमा जिल्लाको खेल क्षेत्रको विकासका लागि उल्लेखनीय भूमिका निभाउने अपेक्षा गरेका छौँ।’

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले रोकाया उमेर हदका कारण प्रशिक्षणबाट अनिवार्य अवकाश प्राप्त गरे पनि खेल क्षेत्रको विकासका लागि सधैँ सक्रिय रहने विश्वास गरेको बताए।

ad
ad