१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा शुक्रबार बसेको एमाले केन्द्रीय सचिवालय बैठक 
२o८१ बैशाख २१ शुक्रबार o६:१o:oo
Read Time : > 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

राष्ट्रिय सभा निर्वाचन : गठबन्धनमा सिट बाँडफाँट गर्न आज निर्णायक बैठक

एमालेसँग चुनावी सहकार्यको ‘च्याप्टर क्लोज’ भएको नेताहरूको भनाइ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o६:१o:oo

एमालेले राष्ट्रिय सभाका रिक्त १९ वटै सिटमा उम्मेदवार उठाउने निर्णय गरेसँगै सत्तागठबन्धनका दल सिट बाँडफाँटबारे निर्णायक छलफलमा जुटेका छन् । संक्रमणकालीन न्याय (टिआरसी)सम्बन्धी विधेयक पारित गर्न एमालेको सहयोगको सुनिश्चितता खोजेको गठबन्धनले एमालेबाट ठोस प्रस्ताव नआएको भन्दै आपसमै सिट बाँडफाँटबारे छलफल थालेको हो । गठबन्धनले शनिबार निर्णायक बैठक बोलाएको छ । 

आगामी २१ फागुनमा राष्ट्रिय सभा अध्यक्षसहित २० सांसदको कार्यकाल सकिँदै छ । त्यसमध्ये एकजना राष्ट्रपतिबाट मनोनीत छन् भने बाँकी १९ सांसदका लागि आगामी ११ माघमा निर्वाचन हुँदै छ । त्यसका लागि निर्वाचन आयोगले २३ पुसमा मनोनयन दर्ताको समय तोकेको छ ।

माओवादी उपमहासचिव वर्षमान पुनले एमाले निर्णयसँगै सहकार्यको सम्भावना टुंगिएको बताए । उनले शनिबार गठबन्धन दलबीचको छलफलबाट सिट बाँडफाँटको टुंगो लाग्ने बताए । ‘एमालेलाई समेटेर लाने विषयमा छलफल भएको हो, तर उहाँहरूले सबै सिटमा एक्लै उम्मेदवारी दिने निर्णय गरेपछि सहकार्य गरेर जाने अवस्था रहेन । अब गठबन्धनका दलबीच बाँडफाँटको टुंगो लगाउँछौँ,’ उनले नयाँ पत्रिकासँग भने ।

शुक्रबार एमाले सचिवालय बैठकले १९ वटै सिटमा उम्मेदवारी दिने निर्णय गरेको थियो । सहकार्यका लागि छलफल छाडेर एमालेले यस्तो निर्णय गरेपछि एमालेसँग प्रतिस्पर्धामा जानुको विकल्प नभएको नेताहरूको भनाइ छ । 

एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले शुक्रबारसम्म एमालेबाट सहकार्यको कुनै सुनिश्चितता नआउँदा सहकार्य गरेर जाने सम्भावना सकिएको बताए । यससँगै गठबन्धनका चार दलबीच सिट बाँडफाँटको चरणमा पुगेको उनको भनाइ छ । ‘एमालेको सहकार्यको छाँट देखिएन । उहाँहरू तयार नहुँदा शुक्रबार संसद्को कानुन समितिको बैठकमा टिआरसी विधेयकको प्रस्ताव पनि आएन । अब गठबन्धनका चार दलबीच छलफल गरेर सिट बाँडफाँटको बाटोमा जान्छौँ । शनिबार बैठकमा सबै विषयमा छलफल हुनेछ,’ पाण्डेले नयाँ पत्रिकासँग भने । 

दलहरू आन्तरिक छलफलमा
कांग्रेसले राष्ट्रिय सभाका उम्मेदवारको विषय टुंगो लगाउन शनिबार कार्यसम्पादन समितिको बैठक बोलाएको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बस्नेछ । कांग्रेस बैठकबाट उम्मेदवारको अन्तिम टुंगो लगाउने अधिकार सभापतिलाई दिने तयारी भएको छ । 

सत्तागठबन्धनको अर्को दल जसपाले गठबन्धनमा दाबी गर्ने सिट संख्या र सम्भावित उम्मेदवारको नाममा छलफल गरिरहेको छ । यसका लागि कार्यकारिणी समितिको बैठक बसिरहेको छ । प्रवक्ता मनीष सुमनका अनुसार कार्यकारिणी समितिको बैठकले अन्तिम निर्णय लिनेछ । ‘राष्ट्रिय सभामा के कसरी अघि बढ्ने भन्ने विषयमा कार्यकारिणी समिति बैठकमा छलफल गरिरहेका छौँ । सबै परिस्थितिलाई मध्यनजर गरेर निर्णयमा पुग्छौँ,’ उनले भने । 

प्रमुख प्रतिपक्षी दल एमाले र विपक्षी दल रास्वपाका अध्यक्षबीच शुक्रबार यसबारे छलफल भएको छ । एमाले अध्यक्ष केपी ओलीलाई भेट्न रास्वपा अध्यक्ष रवि लामिछाने ओलीनिवास बालकोट पुगेका थिए । दुईबीच लामो छलफल चलेको थियो ।

१९ सिटमै उम्मेदवारी दिँदै एमाले
एमालेले राष्ट्रिय सभा निर्वाचनमा सबै पदमा उम्मेदवारी दिने निर्णय गरेको छ । कतिपय क्लस्टरको प्रमाणीकरण गर्नुपर्ने विषय अझै स्पष्ट नभएकाले १९ वटै पदमा उम्मेदवारी दिने गरी सचिवालय बैठकमा प्रारम्भिक छलफल भएको महासचिव पोखरेलले जानकारी दिए । 

‘क्लस्टरगत रूपमा नामको छलफल भएको छ । कतिपय क्लस्टरको प्रमाणीकरण गर्नुपर्ने विषय स्पष्ट हुनुपर्ने भएकाले प्रारम्भिक छलफल मात्रै गरेका छौँ,’ उनले भने, ‘विषय स्पष्ट भएर २३ पुसमा १९ वटै ठाउँमा उम्मेदवारी दर्ताको तयारी गरेका छौँ ।’ सातवटै प्रदेशबाट प्रत्येक क्लस्टरबाट सिफारिस भएका तीनजनाको नाममाथि शुक्रबार प्रारम्भिक तहमा छलफल भएको उनको भनाइ छ । पार्टी र लोकतान्त्रिक आन्दोलनमा योगदान गरेका र सबै पक्षको विश्वास जित्न सक्ने नाम सात दिनभित्र सिफारिस गर्न एमालेले प्रदेश कमिटीहरूलाई निर्देशन दिएको थियो । 

ad
ad