१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार o५:५९:oo
Read Time : > 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

अस्पतालको विवादले सर्लाहीमा बन्दको आह्वान प्रहरीको गोलीबाट एक युवाले गुमाए ज्यान

प्रहरी भन्छ– हवाई फायर गर्दा टाउकोमा लाग्यो गोली

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o५:५९:oo

सत्तापक्षीय पाँच दलले आह्वान गरेको बन्दका क्रममा झडप हुँदा प्रहरीले चलाएको गोली लागेर सर्लाहीको बरहथवामा एक युवाको ज्यान गएको छ । एक घाइते भएका छन् । बरहथवा नगरपालिका– ६ का ३२ वर्षीय जयशंकर साहको प्रहरीको गोली लागेर मृत्यु भएको हो । उनको टाउकोमा गोली लागेको प्रहरीले जनाएको छ । बरहथवा नगरपालिका– ८ का अभिषेक राम घाइते छन् । उनको खुट्टामा गोली लागेको छ ।

सर्लाहीका प्रहरी नायब उपरीक्षक दीपेन्द्र पञ्जियार थारूले प्रदर्शनकारीले प्रहरीको हतियार खोस्न र बरहथवा नगरपालिकाका प्रमुखको घरमा आगजनी गर्ने प्रयास गरेपछि प्रहरीले गोली चलाएको दाबी गरे । उनले हवाई फायर गर्दा आन्दोलनकारीको टाउकोमा गोली लागेको पनि जिकिर गरे । ‘आन्दोलनकारीले उग्र भएर प्रहरीको हतियार खोस्ने तथा बरहथवा नगरपालिका प्रमुख कल्पनाकुमारी कटुवालको घरमा आगजनी गर्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको हो,’ डिएसपी थारूले भने । 

नगर अस्पताल प्रदेशमातहत लैजानुपर्ने माग राख्दै आन्दोलन थालेका कांग्रेस, जसपा, लोसपा, जनमत पार्टीले शुक्रबार बरहथवा बजार बन्दको घोषणा गरेका थिए । त्यस क्रममा आन्दोलनकारीले नगरपालिका कार्यालयमा ढुंगामुढा र तोडफोड गरेका थिए । प्रहरीले दर्जनौँ सेल अश्रुग्यास प्रहार गरेर आन्दोलनकारीलाई त्यहाँबाट तितरबितर गरेको थियो । त्यसपछि आन्दोलनकारी नगर प्रमुख कटुवालको घरतर्फ अघि बढेका थिए । त्यही क्रममा प्रहरीले गोली चलाएको हो । आन्दोलनकारीको आगजनीबाट कटुवालको घरमा क्षति पुगेको छ । उनीहरूले केही निजी सवारीसाधनमा पनि आगजनी गरेका छन् । आगजनीबाट एउटा भारतीय नम्बर प्लेटको कार जलेर नष्ट भएको छ । 

यस्तो थियो झडपको कारण
बरहथवा नगरपालिका– ६ मा निर्माण सम्पन्न १५ शय्याको अस्पताललाई कसको मातहत राख्ने भन्ने विवाद नै शुक्रबारको झडपको मुख्य कारण हो । एमालेबाट निर्वाचित नगर कार्यपालिकाका सदस्यहरू अस्पताललाई नगरपालिकामातहत राख्नुपर्ने तथा कांग्रेससहित अन्य दलबाट निर्वाचित कार्यपालिका सदस्य प्रदेशमातहत लैजानुपर्ने अडानमा छन् । विवाद बढ्दै जाँदा कांग्रेससहित पाँच दलीय गठबन्धनले शुक्रबार बन्दको आह्वान गरेको थियो । 

बरहथवामा कर्फ्यु
स्थिति तनावग्रस्त बनेपछि स्थानीय प्रशासनले बरहथवा बजार क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । जिल्ला सुरक्षा समितिको शुक्रबार बसेको आकस्मिक बैठकले बरहथवा बजार क्षेत्रमा शनिबार बिहान ८ बजेसम्मको लागि कर्फ्यु आदेश जारी गरेको हो । समितिले जारी गरेको आदेशमा पूर्वमा सीतापुर जाने बाटो ब्रह्मस्थान, पश्चिममा हजरिया जाने बाटो नहर, उत्तरमा सोती चोर्निया पुल र दक्षिणमा हनुमान मन्दिरलाई चार किल्ला कायम गरेर शुक्रबार साँझ ५:३० बजेदेखि कर्फ्यु आदेश जारी भएको हो । 

ad
ad