१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
रासस पोखरा
२०८० पौष १७ मंगलबार १३:४६:००
Read Time : > 4 मिनेट
समाचार डिजिटल संस्करण

बास्ना गुमाउँदै पोखरेली ‘जेठोबुढो’

Read Time : > 4 मिनेट
रासस, पोखरा
२०८० पौष १७ मंगलबार १३:४६:००

‘खेतका फाँटहरूमा धानको बाला लाग्न थालेपछि मगमग बास्ना आउँथ्यो, घरमा भात पकाउँदा बाहिरसम्म बसाउँथ्यो, तर अहिले खै कता हरायो जेठोबुढोको बास्ना ?’ पोखरा महानगरपालिका– २३ घाँटीछिनाका ५३ वर्षीय लोकबहादुर गुरुङ भन्छन्, ‘एउटा घरमा जेठोबुढो पकाउँदा टोलमै मगमग बास्ना आउँथ्यो। पहिला गाईवस्तुकै मलले खेतीपाती लगाउन पुग्थ्यो, तर अहिले बाहिरबाट रासायनिक मल भन्दै थुप्रै किसिमका मल आए। अहिले खेती गर्दा कमिला मार्ने औषधि, पोटास के हो के हाल्नुपर्छ सबै विषाक्तको प्रयोगले माटो नै मरिसक्यो । अनि अर्ग्यानिक स्वाद कहाँ पाउनु।’

कृषि सञ्जालका संयोजकसमेत रहेका गुरुङ जेठोबुढोको बास्ना हराउनुमा वातावरण प्रतिकूलको असर, रासायनिक मलको प्रभाव र उन्नत जात (हाइब्रिड) धानको बिउ नै प्रमुख कारण भएको बताउँछन्। ‘तत्कालीन समयमा किसानलाई रैथाने स्वाद र बास्नाभन्दा धेरै फल्ने धानको बिउ अनुदानमा दिइयो। रासायनिक मल प्रयोग गर्न प्रेरित गरियो, किसानले उत्पादन बढेकामा खुसी माने, तर यता बास्नादार रैथाने जातका धानको बिउ मासिँदै गयो।’

विषादीको प्रयोग बढे धान मात्र नभई स्थानीय तरकारी, फलफूलमा पनि उस्तै असर परेको उनको भनाइ छ। ‘किसानलाई सबै कुरा जानकारी नहुने भएकाले कृषि विज्ञहरूले यसको महत्व बुझाएर रैथाने बाली प्रवर्द्धनका कार्यक्रम ल्याउनुपर्थ्यो, तर त्यो भएन,’ गुरुङले भने,  ‘बुझाउनेहरूले राम्रोसँग बुझाएनन्, उत्पादन बढ्छ भन्ने बहानामा उन्नत जातको धानको बिउ प्रयोग गर्न लगाउँदा र अनेक विषादीको प्रयोग गर्न सिकाउँदा रैथाने बालीहरू लोप हुँदै गए। योसँगै पहिले गुर्दी गुरुडा, ठिमाहालगायत धानहरू पनि विस्थापित हुँदै गए।’

अहिले महानगर, जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (लिबर्ड)जस्ता संस्थाले रैथाने बाली प्रवर्द्धनको कार्यक्रम ल्याएर केही  पहल गरेको उनको भनाइ छ।

पोखरा– १३ का किसान टेकनाथ बराल पनि प्रतिकूल वातावरण, रासायनिक मलको प्रयोग साथै मूलको पानीको अभावले जेठोबुढो धानको बास्ना हराउँदै गएको बताउँछन्। ‘पहिला मूलको चिसो पानीबाट सिँचाइ हुन्थ्यो, गाईवस्तुको मलले नै खेती लगाउन पुग्थ्यो, तर अहिले वातावरण बदलिएको छ। धानका बिउ पनि मासिन थाले, धेरै फल्ने धान लगाउन थाले,’ बरालले भने। उनले आफूले जेठोबुढो प्रवर्द्धनका लागि लिबर्डको सहयोगमा सुधारिएको जेठोबुढो बिउ उत्पादन र बिक्री–वितरण गरिरहेको बताए।

जेठोबुढोको मागलाई ध्यानमा राखेर स्थानीय धानका जात संरक्षणमा जुटेको लिबर्डले यो धान संरक्षणमा अगुवाइ गरेको सो संस्थाका वरिष्ठ कार्यक्रम अधिकृत इन्द्रप्रसाद पौडेल बताउँछन्। ‘पोखरा आउने पाहुनादेखि देश–विदेशमा समेत माग हुँदै आएको स्वादिलो जेठोबुढोको भातको बास्ना पहिलाजस्तो नभए पनि यो धानलाई लोप हुनबाट जोगाउन केही पहल भने भएका छन्,’ पौडेलले भने।

उनका अनुसार पोखरा आसपासका विभिन्न फाँटमा किसानले लगाएको जेठोबुढो धानमा एकरूपता थिएन। के कारणले विविधता आयो भन्ने विषयमा नेपाल कृषि अनुसन्धान परिषद् र लिबर्डले तत्कालीन जिल्ला कृषि विकास कार्यालय  मिलेर सातवटा फाँटबाट तीन सय ३८ वटा किसानबाट जेठोबुढो धानको नमुना संकलन गरेर लगातार परीक्षण गरेको थियो। परीक्षणपछि सन् २००६ मा सुधारिएको पोखरेली जेठोबुढो नामाकरण गरियो। राष्ट्रिय स्तरबाट सूचीकृत नभए बिक्री–वितरण गर्न नपाइने भएकाले सूचीकृतपश्चात् यसको प्रवर्द्धनमा अझ बढी चासो दिइएको उनको भनाइ छ।

किसानको अनुभवमा बगिरहने चिसो पानीमा यसको गुणस्तर उच्च हुने र पोखरा फेवाफाँटको जस्तो उत्पादन अन्तको फाँटमा नहुने उनको बुझाइ छ । पछिल्लो समय उन्नत जातले पेल्दै जाँदा र खेतीयोग्य जमिनमा चक्लाबन्दी हुन थालेपछि पनि यसको गुणस्तरमा ह्रास आएको उनी बताउँछन्।

लिबर्डले जेठोबुढो स्रोत बिउ जिम्मेवारी लिएको छ । कृषि ज्ञान केन्द्र र पोखरा महानगरपालिकाले सिफारिस गरेका किसानलाई बिउ उत्पादनका लागि दिँदै यसको संरक्षण र उत्पादनमा पहल गरिरहेको उनको भनाइ छ। उनका अनुसार गत वर्ष एक हजारदेखि १५ सय केजी बिउको बिक्री–वितरण हुने गरेको थियो। उत्पादनका हिसाबले कम फले पनि प्रतिक्विन्टल रु. नौदेखि १० हजारमा बिक्री–वितरण हुने भएकाले किसानको चाहना अझै पनि जेठोबुढोमा रहेको छ।

महानगरपालिकाले जेठोबुढो धानको प्रवर्द्धनका कार्यक्रम ल्याएकाले यसको बास्ना हराए पनि लोप हुनबाट जोगाउने पहल भइरहेको बताउँदै पौडेल थप्छन्, ‘यस धानका बारेमा अनुसन्धान गरेर अझै कसरी विस्तार गर्न सकिन्छ भन्ने विषयमा अनुसन्धान जारी छ।’ पोखरा महानगरपालिकाले सुधारिएको पोखरेली जेठोबुढो पुरानो रैथाने जातको धानको ०६३ सालमा नेपाल सरकारले सूचीकृत गर्‍याे। सुरुवाततिर जेठोबुढो मात्रै भनेर भनिए पनि अहिले यो जातको धानलाई पोखरेली जेठोबुढो भनेर चिनिन्छ।

पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनहर कडरिया पनि मगमग बास्ना आउने, लामो सीता भएको र खाँदा नरम हुने जेठोबुढोको विभिन्न कारणले बास्ना हराउँदै गएको बताउँछन्। उनले भने, ‘यो धानको पहिला बास्ना धेरै आउने गर्थ्यो, कम फले पनि मीठो बास्नासहित स्वादिलो थियो। तर, अहिले खेती गर्ने तौरतरिकामा फेरबदल, आयातित मलको प्रयोग, सिँचाइको अभावले यसको रैथाने स्वादमा प्रभाव पार्‍याे।’ 

प्रमुख कडरियाका अनुसार जेठोबुढोमा एकरूपता नहुँदा तीन सबभन्दा बढी जातबाट  छनाेट गरेर ६ वटा जातलाई सम्मिश्रण गरेर एउटा जात बनाइएको थियो। यसभित्र बास्ना आउने, कम बास्ना आउने, उत्पादन बढी हुने र घटी हुने, कोही अग्लो, कोही होचो, कोही रोग पनि सहन सक्ने सबै पर्दछन् । चिसो पानीमा कहीँकतै अझै पनि बास्नादार जेठोबुढो फल्ने गरेको उनको भनाइ छ । उनले जेठोबुढोको महानगरपालिकाले ‘ब्रान्डिङ’ गरेर न्यूनतम समर्थन मूल्य तोकेपछि यसको महत्व झनै बढेको र अहिले पनि प्याकेजिङ र प्रशोधनमा सहयोग गर्न भनेर कार्यक्रम राखेको बताए।

अहिले ११ हजार दुई सय हेक्टरमध्ये ४० प्रतिशत जमिनमा जेठोबुढो लगाउने गरिएको पाइन्छ। पोखरामा करिब १५ मेट्रिक टन जेठोबुढो उत्पादन हुँदै आएको छ। ६ सयदेखि नौ सय मिटरसम्मको उचाइमा खेती हुने यो धान प्रतिरोपनी तीन मुरीसम्म फल्ने गर्दछ । पोखरा र आसपासका किसानले परापूर्वदेखि लगाउँदै आएको यो धानमा व्यापक अनुसन्धानको खाँचो रहेको कडरिया बताउँछन्।

तत्कालीन नगरप्रमुख मानबहादुर जिसीको कार्यकालमा पोखरा महानगरपालिकाले आर्थिक वर्ष ०७६/७७ को नीति तथा कार्यक्रममार्फत पोखरेली जेठोबुढो धानको ब्रान्डिङ गर्ने घोषणा गरेको थियो भने जेठोबुढो धान रोप्ने किसानलाई उत्पादनका आधारमा अनुदान दिने गरेको थियो। योसँगै जेठोबुढो धानको न्यूनतम मूल्य तोकेर महानगरले यो अभियानलाई व्यवहारमा उतारेको कडरियाले बताए। अहिले  महानगरले एक क्विन्टल जेठोबुढो धानको मूल्य नौ हजार पाँच सय तोकेको छ भने प्रतिकेजी रु. ९५ तोकिएको छ।

कडरियाका अनुसार पोखरेली ब्रान्ड जेठोबुढो उत्पादनमा किसानलाई आकर्षित गर्ने साथै यो जातको धानलाई जोगाइराख्ने हिसाबले धानको मूल्य निर्धारण गरिएको र व्यावसायिक हिसाबमै जेठोबुढो उत्पादन गर्न किसानलाई प्रोत्साहितसमेत गर्दै आइएको छ। पोखरा महमानगरपालिकाले आर्थिक वर्ष ०७९\८० मा ५० प्रतिशत अनुदानमा नौ टन जति जेठोबुढोको धानको बिउ वितरण गरेको छ । जेठोबुढोको निकै विविधता भएकाले यसलाई कृषि अनुसन्धान विधिबाटै बास्ना आउने धानको बिउ मात्र छुटाएर लगाउन सके यसको बास्ना कायम गर्न सकिने बताइएको छ । 

कृषि ज्ञान केन्द्र गण्डकी प्रदेशका प्रमुख किरण सिग्देलले पोखराको क्षेत्रमा प्रचलित जेठोबुढो सर्वत्र रुचाइएको भए पनि अहिले बास्ना हराएको गुनासो सर्वत्र आएको बताए। उनले भने, ‘बास्ना घटे पनि यसको उत्तिकै माग भएको र खाद्यान्न प्रवर्द्धन आयोजनाबाट आएका किसानलाई छनाेट गरेर जेठोबुढो बिए उत्पादनका लागि पनि पहल गर्दै आएका छौँ।’ उनले जेठोबुढोको बारेमा औपचारिक रूपमै कृषि प्रणालीमार्फत अनुसन्धान हुन जरुरी रहेको बताए।

आयातीत रासायनिक मलको प्रभावले जेठोबुढोको बास्न हराएको हुन सक्ने विज्ञहरूको भनाइ छ । ऋषि कृषि खोज पाठशालाका अध्यक्ष रामचन्द्र बराल पनि जेठोबुढो स्वाद निकै मीठो भएर काँचै खाँदा पनि स्वाद आउने गरेकामा अहिले त्यसको स्वाद हराउँदै गएको बताउँछन्। उनका अनुसार रासायनिक मलको प्रयोगले क्रमशः माटोमा अम्लीयपन ल्याई बालीको गुण बिगार्नाका साथै विभिन्न नयाँ–नयाँ रोगहरु देखिन थालेको छ। आयातीत बिउलाई प्राथमिकता दिँदा रैथाने बिउ मासिँदै गएको र यसको असर जेठोबुढो धानमा पनि परेको उनले बताए।