१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नवराज मैनाली काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार o६:o७:oo
Read Time : > 2 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

१४ किलो सुन तस्करी गर्ने समूहको चिनियाँ गिरोहसँग सम्बन्ध

Read Time : > 2 मिनेट
नवराज मैनाली, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o६:o७:oo

विमानस्थलका कर्मचारीसँग सेटिङ मिलाएर सुन तस्करी गर्ने पछिल्लो समूहको यसअघि पक्राउ परेको चिनियाँ गिरोहसँग पनि सम्बन्ध रहेको भेटिएको छ । गत २१ मंसिरमा बरामद भएको १४ किलो सुन तस्करी गर्ने समूहका व्यक्तिहरूको वर्षौँदेखि तस्करी गर्दै आएकोलगायतका अन्य समूहसँग सम्पर्क देखिएको हो । 

दुबईबाट १४ किलो सुन लिएर आएका चन्द्र घलेमाथि अनुसन्धान गर्ने क्रममा सो समूहको विगतदेखि नै विमानस्थलबाट सुन तस्करी गर्ने अन्य समूहसँग सम्पर्क देखिएको विमानस्थल भन्सार कार्यालयले जनाएको छ । 

सो प्रकरणमा १० जनालाई पक्राउ गरी अनुसन्धान गर्दा माथिल्लो तहमा डिबी गुरुङ र जोन भन्ने जीवन गुरुङको संलग्नता खुलेको हो । फरार रहेका उनीहरू दुवैजनाको यसअघि सवारीसाधनका पार्टपुर्जामा लुकाएर हङकङबाट सुन तस्करी गर्ने गिरोहसँग पनि सम्पर्क पुष्टि भएको थियो । दावा छिरिङलगायतको सो गिरोहसँग उनीहरूको सम्पर्क देखिएपछि पर्याप्त प्रमाण नपुगेको भन्दै केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले कागज गरेर छाडेको थियो । 

पछिल्लो घटनामा भने प्रस्ट प्रमाण भएपछि उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सुन बरामद भएदेखि नै दुवैजना फरार छन् । सो गिरोहले वर्षाैँदेखि सुन तस्करी गरेको अनुसन्धानमा खुले पनि विस्तृत अनुसन्धान हुन नसक्दा यसमा संलग्न थप उच्च तहका व्यक्तिहरूको पहिचान खुल्न सकेको छैन ।

१४ केजी सुन तस्करीमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयले अनुसन्धान पूरा गरी मुद्दा चलाउने तयारी गरिसकेको छ । संगठित अपराधको कसुरमा प्रहरीबाट विस्तृत अनुसन्धान हुन नसक्दा यसमा मुख्य व्यक्तिहरूले उन्मुक्ति पाउने सम्भावना छ । 

पछिल्लो गिरोहका नाइके दनबहादुर (डिबी) गुरुङको काठमाडौंको बानियाँटार सूर्यदर्शन हाइटमा रहेको घरमै तस्करीको सुन स्टोर हुने गर्दथ्यो । त्यो सुन जीवन गुरुङले विभिन्न व्यापारीलाई बिक्री गर्थे । दुवैजना फरार हुँदा तस्करीको अनुसन्धान नै अपूरो हुने भएको छ । 

ब्रेकसुमार्फत सुन तस्करी गर्ने चिनियाँ गिरोहका दायोजिन वाङलाई जीवनले गाडी बिक्री गरेका थिए । साथै, सो तस्करीमा पक्राउ अनुसन्धानको दायरामा तानिएका अन्य धेरै व्यक्तिसँग उनको नियमित सम्पर्क थियो । दोस्रो चरणको अनुसन्धानमा उनी सिआइबीको निगरानीमै रहेका वेला विमानस्थलबाट अर्काे समूह खडा गरी सुन तस्करी गर्दै आएको पुष्टि भएको हो । डिल्लीबजारमा प्लाटिनम कलेजसमेत चलाउने गुरुङको रेस्टुरेन्टलगायत व्यवसायमा लगानी छ । उनी दुबईबाट सुन पठाउने अंकित अग्रवाल भनिएका व्यक्तिको निर्देशनमा सुनको कारोबार गर्ने व्यक्ति भएको भन्सार स्रोत बताउँछ । फरार रहँदा उनले तस्करीको सुन कसलाई दिन्थे र क–कसको लगानी छ भन्ने खुल्न सकेको छैन । 

राजनीतिक रूपमा जोन पहुँचवाला रहेको पाइएको छ । ‘माओवादी र एमालेका उच्च नेतासँग उनी नियमित सम्पर्कमा देखिन्छन्,’ भन्सार स्रोत भन्छ, ‘आफूलाई मुद्दा नचलाउन फरार अवस्थामै उनले सरकारी वकिल कार्यालयबाट चलखेल गरिरहेको सुन्न आएको छ ।’ भन्सारले अनुसन्धान सकेर रायका लागि सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको छ । गुरुङका तर्फबाट केही नेताले सो मुद्दामा भन्सार र सरकारी वकिलसँग चासो राखेका छन् । 

सो घटनामा सुन ल्याउने चन्द्र घले र कृष्ण श्रेष्ठ तथा काठमाडौंमा व्यवस्थापन गर्ने मीनबहादुर घलेलाई भन्सारले पक्राउ गरेको छ । पक्राउ पर्ने अन्यमा नागरिक उड्डयन कार्यालयका कर्मचारी तथा विमानस्थलका सरसरफाइ कर्मचारी छन् । विमानस्थलमा डिबी गुरुङले सेटिङ मिलाउने गर्दथे । उनी पक्राउ नपर्दा सेटिङमा संलग्न उच्च तहका व्यक्तिहरूसमेत पक्राउ परेका छैनन् । 

प्रमुख भन्सार प्रशासक डा. टोकराज पाण्डेले १४ किलो सुन तस्करीको अनुसन्धान सकाएर सरकारी वकिल कार्यालयमा रायका लागि पठाइएको बताए । सो समूहले पछिल्लो एक वर्षमा विमानस्थलबाट एक सय ३८ किलो सुन तस्करी गरेको निष्कर्ष निकालेको थियो । सिसिक्यामेराको स्टोरेज नहुँदा थप तस्करी खुल्न सकेको छैन । तस्करहरूले अध्यागमनको शौचालयमा ल्याएर सुन राख्ने र कर्मचारीहरूले विमानस्थलबाट पास गराउँदै आएका थिए ।
 

ad
ad