१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार o६:२२:oo
Read Time : > 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

प्राकृतिक स्रोत दोहनका आरोपितलाई सफाइ दिने फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o६:२२:oo

अख्तियारको पुनरावेदनमा भनिएको छ–प्राकृतिक स्रोत दोहन गरी बेहिसाब तरिकाले राज्यलाई हानि–नोक्सानी पुर्‍याएको, कानुनी व्यवस्थाको अनदेखा गरी राज्यलाई एक अर्ब २४ करोड ४५ लाख हानि पुर्‍याएको, प्रतिवादीबीच राजस्व चुहावटमा सहमति र मिलेमतो देखिएको, बदनियत राखेको र यस्तो कार्य प्रमाणद्वारा नै पुष्टि भइसकेकोमा विशेषको फैसला कानुनसम्मत नभएकाले बदरभागी छ । 

प्राकृतिक स्रोत दोहन गरेको अभियोगमा दायर गरेको मुद्दाका सबै आरोपितले विशेष अदालतबाट सफाइ पाएपछि उक्त फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ । झन्डै सवा अर्ब बिगो दाबीसहित २७ जनालाई प्रतिवादी बनाएर दायर गरेको मुद्दामा विशेष अदालतले सफाइ दिएपछि अख्तियार बिहीबार पुनरावेदनमा गएको हो । 

अनुमति पाएभन्दा अधिक परिमाणमा खानीबाट सिमेन्ट निकालेर प्राकृतिक स्रोत दोहन तथा राजस्व चुहावट गरी भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले खानी तथा भूगर्भ विभागका तत्कालीन महानिर्देशक रामप्रसाद घिमिरेसहित कर्मचारी, सिमेन्ट उद्योग र सञ्चालकहरूसहित २७ जनालाई प्रतिवादी कायम गर्दै १२ माघ ०७८ मा विशेषमा मुद्दा दायर गरेको थियो । उपमहानिर्देशक रहँदा घिमिरेसहितका कर्मचारीले सिमेन्ट उद्योगसँगको मिलेमतोमा राजस्व चुहावट गरी नेपाल सरकारलाई नोक्सानी पुर्‍याएको अख्तियारको अभियोजनमा उल्लेख थियो । त्यसक्रममा अख्तियारले घिमिरेसहित नौ कर्मचारी, नौ सिमेन्ट कम्पनी र तिनका सञ्चालकलाई प्रतिवादी कायम गरेर मुद्दा दायर गरेको थियो । 

अनुमति लिएभन्दा बढी परिमाणमा चुनढुंगा खानी दोहन गरेको भन्दै सबैभन्दा बढी पशुपति मुरारका सञ्चालक रहेको सिद्धार्थ मिनेरल्स प्रालिलाई ४९ करोड ४५ लाख रुपैयाँ बिगो दाबी गरिएको थियो । अख्तियारले शरद गोयल सञ्चालक रहेको मारुती सिमेन्ट्समाथि साढे २० करोड, विष्णुप्रसाद न्यौपाने सञ्चालक रहेको सर्वोत्तम सिमेन्टलाई १६ करोड ३१ लाख र ऋषि अग्रवाल सञ्चालक रहेको अन्नपूर्ण क्वेरिजलाई ११ करोड १७ लाख रुपैयाँ बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको थियो । यसैगरी, युनाइटेड सिमेन्ट्स प्रालि तथा सञ्चालक नरेश दुगडसँग नौ करोड ६९ लाख र सोनापुर मिनेरल्स एन्ड आयल लिमिटेड तथा सञ्चालक निपेश तायलसँग ६ करोड ९८ लाख रुपैयाँ बिगो माग दाबी गर्दै मुद्दा दायर भएको थियो । अख्तियारले डोलोमाइट चुनढुंगा उद्योग र सञ्चालक मानबहादुर श्रेष्ठमाथि पाँच करोड ४३ लाख तथा कञ्चन क्वेरिज प्रालि र सञ्चालक भीमबहादुर थापा क्षेत्रीमाथि तीन करोड आठ लाख रुपैयाँ बिगो माग गर्दै मुद्दा दायर गरेको थियो । उदयपुर मिनेरल्स टेक प्रालिका प्रबलजंग पाण्डे र उनको उद्योगलाई एक करोड ७९ लाख रुपैयाँ बिगो माग दाबी गर्दै प्रतिवादी बनाइएको थियो ।

त्यस्तै, खानी तथा भूगर्भ विभागका तत्कालीन महानिर्देशक रामप्रसाद घिमिरेविरुद्ध एक अर्ब २४ करोड ४५ लाख बिगो मागदाबी गरिएको थियो । सुपरिटेन्डेन्ट माइनिङ इन्जिनियर जयराज घिमिरे र कानुन उपसचिव सपना अधिकारीविरुद्ध पनि त्यति नै बिगो कायम गरिएको थियो । यस मुद्दामा उपन्यायाधिवक्ता चन्द्रकुमार पोखरेल, सिनियर डिभिजनल मेकानिकल इन्जिनियर प्रशान्त बोहरा, सिनियर डिभिजनल जियोलोजिस्ट धर्मराज खड्का, लेखा अधिकृत श्रीभद्र गौतम, रिसर्च अधिकृत वसन्त अधिकारी र जियोलोजिस्ट डा. सौनक भण्डारीलाई पनि अख्तियारले प्रतिवादी कायम गरेको थियो । 

तर, आरोपित सबैले विशेष अदालतबाट सफाइ पाएपछि अख्तियार पुनरावेदनमा गएको हो । ३ चैत ०७९ मा विशेष अदालतका सदस्यत्रय रमेशकुमार पोखरेल, बलभद्र बास्तोला र खुसीप्रसाद थारूको इजलासले सबै आरोपितलाई सफाइ दिने फैसला गरेको थियो । बेहिसाब तरिकाले राज्यलाई हानि–नोक्सानी पुर्‍याएको, कानुनी व्यवस्थाको अनदेखा गरी राज्यलाई एक अर्ब २४ करोड ४५ लाख हानि पुर्‍याएको, प्रतिवादीबीच राजस्व चुहावटमा सहमति र मिलेमतो देखिएको, बदनियत राखेको र यस्तो कार्य प्रमाणद्वारा नै पुष्टि भइसकेको अख्तियारको दाबी छ । विशेषको फैसला कानुनसम्मत नभएको भन्दै बदरका लागि अख्तियारले पुनरावेदन दर्ता गरेको हो । 

ad
ad