मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
रासस जुम्ला
Invalid date format १५:२५:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

जुम्लामा ५४ हजारलाई टाइफाइडविरुद्धको खोप दिइने

Read Time : > 1 मिनेट
रासस, जुम्ला
नयाँ पत्रिका
Invalid date format १५:२५:oo

जुम्लाका आठवटै स्थानीय तहका लक्षित जनसंख्याको १६ देखि ४५ वर्ष उमेर समूहका करिब ५४ हजार ६ सय ३५ जनालाई टाइफाइडविरुद्धको खोप दिइने भएको छ ।

सो खोपलाई अभियानका रूपमा सञ्चालन गर्नेबारे  जिल्लास्तरीय बैठक तथा अन्तर्क्रिया कार्यक्रममा जानकारी दिँदै जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख कृष्ण सापकोटाले भने, ‘जिल्लामा पहिलो चरणमा यही पुस ८ देखि १० गतेसम्म कनकासुन्दरी, सिँजा र हिमा गाउँपालिकामा टाइफाइडविरुद्धको खोप अभियान गरिनेछ।’

दोस्रो चरणमा पुस ११ देखि १३ गतेसम्म चन्दननाथ, पातारासी, गुठीचौर, तिला र तातोपानी गाउँपालिकामा खोप अभियान सञ्चालन हुने उनले बताए। यसका लागि एक सय २० खोप कार्यकर्ता परिचालन हुने भएका छन्। दुई सय ४० स्वयंसेवक र तीन सयवटा खोप सेसन रहेका छन्। खोप लगाउन छनोट भएका तालिमप्राप्त स्वास्थ्यकर्मीबाट मात्र खोप लगाइने कार्यालय प्रमुख सापकोटाले जानकारी दिए।

कर्णाली प्रदेशका जाजरकोट, रुकुम पश्चिम, दैलेख, जुम्ला, सल्यान, कालीकोट र सुर्खेत जिल्लामा पनि खोप अभियान सञ्चालन हुनेछ। १६ वर्षदेखि ४५ वर्ष उमेर समूहलाई टाइफाइडको खोप दिन लागिएको विश्व स्वास्थ्य संगठनका प्रतिनिधि डाक्टर पुरुषोत्तम सेडाईंले जानकारी दिए।

जाजरकोट र रुकुम पश्चिममा दादुरा र रुबेलाको खोप पनि दिइने कार्यक्रम छ। खोपका कारण बाल–मातृ मृत्युदर नेपालमा घट्दो अवस्थामा रहेको विश्व स्वास्थ्य संगठनका प्रतिनिधि डा. सेडाईंको भनाइ छ।

पछिल्लो समयमा टाइफाइडका बिरामी नेपालमा बढ्दो अवस्थामा रहेको छ । सरकारले राष्ट्रियस्तरमै सञ्चालन गरेको खोप अभियानलाई सफल बनाउनदेखि खोप सञ्चालन हुने स्थानमा शान्ति सुरक्षा कायम गर्न प्रशासन लागिपर्ने प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले बताए। 

जिल्ला खोप समन्वय समितिका संयोजक तथा जिसस प्रमुख गौरीनन्द आचार्यले जिल्लाका ग्रामीण भेगसम्म रहेका खोप केन्द्रसम्म सहज रूपमा खोप पुर्‍याउन स्थानीय तहदेखि जिल्लाका सबै सरोकारवालाको भूमिका महत्वपूर्ण रहेको बताए।

राज्यले जनताका लागि लगानी गरेको खोपलाई सुरक्षित रुपमा व्यवस्थापन गर्न र आमजनताको पहुँचसम्म पुग्नका लागि सचेतनाका कार्यक्रमलाई विशेष जोड दिनुपर्ने उनको भनाइ थियो।