१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
तिवारी यादव वीरगन्ज
२o८१ बैशाख २१ शुक्रबार १३:१९:oo
Read Time : > 2 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

श्रीमतीलाई कान्छी आमा बनाउन सिफारिस गरेका वडाध्यक्ष फरार

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १३:१९:oo

श्रीमतीलाई कान्छी आमा बनाउन सिफारिस गरेको अभियोग लागेका एक वडाध्यक्ष करिब तीन सातादेखि फरार छन्।

श्रीमतीलाई कान्छी आमा बनाउन सिफारिस गरेको अभियोगमा पर्साको बहुदरमाई नगरपालिका– २ का वडाध्यक्ष जितेन्द्र पटेल फरार भएका हुन्।

जिल्ला प्रहरी कार्यालय पर्साले किर्ते मुद्दामा अनुसन्धानका लागि वडाध्यक्ष पटेल र स्थानीय विकास यादवकी श्रीमती संगीता यादवलाई पक्राउ गर्नका लागि मातहतका कार्यालयमा पत्राचार गरेपछि वडाध्यक्ष पटेल फरार भएका हुन्। 

गत ०७५ असार १२ मा वडाध्यक्ष पटेलले गीतादेवी यादव विनोदप्रसाद यादवको श्रीमती भएको सिफारिस गरेका छन्। किर्ते मुद्दामा वडाध्यक्ष संलग्न रहेको अनुसन्धान मिसिल प्रहरीले मंगलबार सरकारी वकिल कार्यालयमा बुझाएको पर्सा प्रहरी प्रवक्ता डिएसपी कुमारविक्रम थापाले जानकारी दिए। 

बहुदरमाई नगरपालिका– २ सिसयाडीनिवासी विकास यादवले आफ्नै श्रीमतीलाई कान्छी आमा बनाएर निधन भइसकेका बुबाको निवृत्तिभरण (पेन्सन) लिइरहेका थिए। उक्त कुरा स्थानीयवासीले थाहा पाएपछि विकास यादव, उनकी श्रीमती संगीता यादव र वडाध्यक्ष जितेन्द्र पटेलविरुद्ध उजुरी दिएका थिए। 

अनुसन्धानका लागि प्रहरीले विकासलाई नियन्त्रणमा लिएको छ। आर्थिक मिलेमतोमा वडाध्यक्ष पटेलले श्रीमतीलाई कान्छी आमा बनाउन सहयोग पुर्‍याएको भन्दै स्थानीयले उनीमाथि पनि मुद्दा दर्ता गराएका हुन्।

बुबाको पेन्सन उठाउन श्रीमतीलाई कान्छी आमा 

मनकामना प्राथमिक विद्यालयका प्रधानाध्यापक रहेका विकासका बुबा विनोद यादवको अवकाशपछि २०७४ माघ १ मा मृत्यु भएको थियो। यसअघि उनकी श्रीमती मीनादेवी यादवको ०६० असार १९ मा मृत्यु भएको थियो।

बुबाले पाउने पेन्सनका लागि विकासले आफ्नै श्रीमती संगीतालाई गीतादेवीको नामले बुबासँगको नाता (कान्छी श्रीमती) प्रमाणित गराई अर्को नागरिकतासमेत निकालेका छन्।

बुबाको मृत्युपछि विकासले आफ्नी श्रीमती संगीतादेवीलाई कान्छी आमा बनाएर पेन्सन लिँदै आएको खुलेपछि स्थानीय प्रमोद यादवले सरोकारवाला निकायमा उजुरी गरेका थिए।  गएको पाँच वर्षमा विकासले पेन्सनको रूपमा करिब २२ लाख रुपैयाँ सरकारी ढुकुटीबाट बुझिसकेका छन्।

मृत्यु दर्ता किताबमा विनोदकी श्रीमतीको नाम मीनादेवी नै उल्लेख छ। ‘मृत्यु दर्ता प्रमाणपत्रमा समेत मीनादेवी नै उल्लेख छ। तर, नक्कली मृत्यु दर्ता प्रमाणपत्रमा मीनादेवी लेखिएको ठाउँमै गीतादेवी थपिएको छ। 

‘मृत्यु दर्ता प्रमाणपत्रमा गीतादेवी पछि थपिएको प्रस्टै देख्न सकिन्छ। विवाह दर्ता किताबमा समेत संगीतादेवीको नामको अगाडिको ‘स’ अक्षर मेटाइएको छ,’ उजुरीकर्ता प्रमोदले नयाँ पत्रिकासँग भने।  

वडाध्यक्ष पटेलले सिफारिस गरेको कागजातमा, ‘निवेदिका मेरो एकासगोलको कान्छी आमा हो। कुनै फरक पर्नेछैन। फरक परी झुटा व्यहोरा ठहर भए प्रचलित ऐन–कानुनबमोजिम सम्पूर्ण जवाफदेही मै हुनेछु,’ भनी विकास यादवले सनाखत गरेका छन्। 

उजुरीकर्ता प्रमोद यादव विनोद यादवका कान्छा भाइ हुन्। उनका अनुसार गैरकानुनी रूपले पेन्सन खानका लागि विकासले पत्नी संगीतादेवीलाई नै नक्कली कान्छी आमा बनाएको उनले बताए। 
 
वडाध्यक्षले आफ्नो काम, कर्तव्य र पदीय जिम्मेवारी नबुझी वडासचिवले गर्ने काम आफैँ गरी विकास र उनकी पत्नी संगीतादेवीको गलत नाता प्रमाणित गरी फर्जी नागरिकताका लागि सिफारिससमेत गरेका छन्।

नाता प्रमाणित गराउन अदालतको परमादेश 

सुरुमा विकासले नाता प्रमाणितका लागि वडा कार्यालयमा निवेदन दिँदा तत्कालीन वडासचिव रामअयोध्याप्रसाद साहले विनोदको एक मात्र पत्नी मीनादेवी यादव रहेकी र कुनै कान्छी पत्नी नभएको भन्दै कार्यालयबाट झुटाे नाता प्रमाणित गरेका थिएनन्। 

त्यसपछि विकासले ०७४ माघ २१ मा उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जमा वडा कार्यालयविरुद्ध नाता प्रमाणित गराउन परमादेश आदेशको लागि रिट निवेदन दिएका थिए।

उच्च अदालतले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा वडा समितिलाई नाता प्रमाणित गर्ने कार्य तोकिएको अवस्थामा निवेदकका नाता प्रमाणितका लागि आवश्यक कागजात लिई वडा कार्यालयमा आए कानुनबमोजिम प्रक्रिया पुर्‍याई नाता प्रमाणित गर्ने परमादेश गरेको थियो।

अदालतले आवश्यक कागजात लिई कानुन बमोजिम प्रक्रिया पुर्‍याई नाता प्रमाणित गर्ने आदेश गरेको भए पनि वडाध्यक्ष पटेलले ०७५ असार ४ मा आफ्नो काम, कर्तव्य र पदीय जिम्मेवारी नबुझी वडासचिवले गर्ने काम आफैँले गरी विनोद यादवको कान्छी श्रीमती भएको प्रमाणित गरेका थिए।

०७४ फागुन १५ वडा कार्यालयमा वडाध्यक्ष, वडासदस्य फुलेना साह, अक्षय यादव, रम्भा यादव, उमरावती देवी र वडासचिव रामअयोध्या साह उपस्थित भएको बैठकले विनोद यादवको एक मात्र श्रीमती मीनादेवी रहेकी र कुनै कान्छी श्रीमती नभएको हुँदा झुटाे नाता प्रमाणित गराई गैरकानुनी रूपले पेन्सन खाने प्रयोजन भएकाले विनोद यादवको छोरा विकास यादवले पत्नी संगीतादेवीलाई नै गीता यादव बनाएको झुटाे व्यहोरा प्रमाणित नगर्ने निर्णय गरेको थियो। 

उक्त निर्णयमा वडाध्यक्ष पटेलले समेत हस्ताक्षर गरेका छन्। पहिलोपटक स्वतन्त्रबाट वडाध्यक्षमा निर्वाचित भएका पटेल पछिल्लोपटक कांग्रेसबाट पुनः वडाध्यक्षमा विजयी भएका हुन्।
 

ad
ad