१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार o८:१४:oo
Read Time : > 2 मिनेट
ad
ad
समाचार

लुम्बिनीमा सवारी दुर्घटना घट्यो, सवारी कारबाही बढ्यो

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o८:१४:oo

ट्राफिक प्रहरीलगायत सरोकारवालाहरूको सक्रियता बढेकाले लुम्बिनी प्रदेशमा विगतको तुलनामा सवारी दुर्घटनामा कमी आएको छ । प्रदेशको उद्योग, पर्यटन तथा यातायात व्यवस्था कार्यालयले सार्वजनिक गरेको त्रिवर्षीय तथ्यांकले यस्तो देखाएको हो ।

अघिल्ला दुई वर्षमा भन्दा आर्थिक वर्ष ०७९/८० मा दुर्घटना घट्दै गएको देखिन्छ । कार्यालयका अधिकृत टुकराज पाण्डेका अनुसार प्रदेशमा आर्थिक वर्ष ०७७/७८ मा सडक दुर्घटनामा परेर पाँच सय २६ जनाको मृत्यु भएको थियो भने ०७८/७९ मा पाँच सय ५१ जनाले ज्यान गुमाएका थिए । तर, आर्थिक वर्ष ०७९/८० मा भने यो संख्या चार सय ६२ मा झरेको छ ।

तथ्यांकअनुसार सवारी दुर्घटनाको संख्यामा पनि कमी आएको छ । ०७७/७८ मा एक हजार २११, ०७८/७९ मा एक हजार १६४ र ०७९/८० मा आठ सय ९२ वटा सवारी दुर्घटना भएको देखिन्छ । यस अवधिमा दुर्घटनामा परी क्रमशः एक हजार ८३, एक हजार एक सय २३ र सात सय ९९ जना गम्भीर घाइते भएका छन् भने तीनै आर्थिक वर्षमा गरी ८९ पशुचौपायाको मृत्यु भएको छ ।

राजस्व संकलनमा वृद्धि
पछिल्ला तीनअ आर्थिक वर्षमा यातायातका साधन चलाउँदा नियम उल्लंघन गरेका कारण कारबाहीमा पर्नेहरूको संख्या बढ्नुका साथै राजस्वमा समेत वृद्धि भएको छ । आर्थिक वर्ष ०७७/७८ मा दुई लाख ८६ हजार ३६९ सवारी कारबाहीमा परेका थिए । जसबाट १९ करोड ३२ लाख ४२ हजार पाँच सय रुपैयाँ राजस्व संकलन भएको थियो । त्यस्तै, आर्थिक वर्ष ०७८/७९ मा दुई लाख ८४ हजार आठ सय ९९ वटा सवारी कारबाहीमा परेकोमा २० करोड आठ लाख ९५ हजार रुपैयाँ राजस्व संकलन भएको देखिन्छ । गत आर्थिक वर्ष ०७९/८० मा दुई लाख ९६ हजार तीन सय ४५ वटा कारबाही भएको र २१ करोड ७१ लाख ७४ हजार पाँच सय रुपैयाँ राजस्व संकलन भएको थियो । गत आर्थिक वर्षमा प्रदेशभर तीन लाख ५८ हजार ७६३ जनालाई ट्राफिक सचेतनामूलक कार्यक्रम गरिएको भए पनि सवारी कारबाहीमा पर्नेको संख्यामा भने न्यूनीकरण हुन सकेको देखिँदैन ।

रोल्पामा साउनयता सातजनाको मृत्यु
जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाका अनुसार रोल्पामा चालू आर्थिक वर्षमा मात्र सातजनाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन् । सातवटा सवारी दुर्घटनामध्ये चालकको लापरबाहीका कारण चारवटा, यान्त्रिक गडबडीका कारण दुईवटा र यात्रुका कारण एउटा दुर्घटना भएको प्रहरी सहायक निरीक्षक नारायण भण्डारीले जानकारी दिए । गत आर्थिक वर्षमा २७ वटा सवारीसाधन दुर्घटनामा परेकोमा १४ पुरुष, तीन महिला र एक बालक गरी १८ जनाको मृत्यु भएको थियो ।

यातायात व्यवस्था स्थापना गर्न माग
यातायातसम्बन्धी सामान्य कामका लागि पनि दाङ पुग्नुपर्ने बाध्यता रहेको भन्दै सरोकारवालाहरूले रोल्पामै यातायात व्यवस्था कार्यालय स्थापना हुनुपर्ने माग गरेका छन् । ‘रोल्पामा यातायात कार्यालय नहुँदा सानो कामका लागि पनि दाङ पुग्नुपर्छ,’ रोल्पा जलजला यातायात प्रालिका यज्ञश्वर आचार्यले भने, ‘सवारी अनुमतिपत्र नवीकरण, पटकेलगायत सबै काममा बाहिर जानुपर्छ, त्यसको कुनै न कुनै संयन्त्र रोल्पामा हुनुपर्छ ।’

हिमताल यातायात प्रालिका सफल बुढामगरले पनि यातायातसम्बन्धी कुनै पनि सरकारी काम रोल्पामा नहुनु दुर्भाग्य भएको बताए । प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले एउटै प्रकृतिको सवारीसाधनमा फरक–फरक सिट क्षमताको अनुमति दिएर यातायात व्यवस्था कार्यालयले बेइमानी गरेको बताए । रोल्पामा यातायात व्यवस्था कार्यालय स्थापनाका लागि पहल गरिए पनि सम्बन्धित प्रदेश मन्त्रालयले आनाकानी गरिरहेको आरोप लगाए ।

प्रदेश यातायात मन्त्रालयका अधिकृत टुकराज पाण्डेले भने प्रदेशको दुई ठाउँमा यातायात व्यवस्था कार्यालय स्थापनाका लागि प्रस्ताव गरिए पनि रोल्पाको विषयमा ध्यानाकर्षण भएको बताए । कार्यालय स्थापनाको कुरा मन्त्रिपरिषद्को निर्णयबाट हुने भन्दै उनले कार्यालय स्थापनाका लागि राजनीतिक तहबाट पनि दबाब दिनुपर्ने बताए । लुम्बिनी प्रदेशअन्तर्गत उद्योग, पर्यटन तथा यातायात व्यवस्था कार्यालयको आयोजना तथा राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवल, जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पा र घरेलु तथा साना उद्योग विकास कार्यालय रोल्पाको व्यवस्थापनमा गत सोमबार रोल्पाको लिवाङमा आयोजित सवारीचालक सचेतना अभिवृद्धि कार्यक्रममा विभिन्न कार्यपत्रसमेत प्रस्तुत गरिएको थियो ।

ad
ad