१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०८० पौष ४ बुधबार ०६:१३:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एक वर्षमा निगमको आम्दानी सवा २२ अर्ब

Read Time : > 1 मिनेट
२०८० पौष ४ बुधबार ०६:१३:००

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेवानि)ले आर्थिक वर्ष ०७९/८० मा २२ अर्ब २४ करोड २० लाख आम्दानी गरेको छ । यो अघिल्लो वर्ष ०७८/७९ को तुलनामा ३५ प्रतिशत बढी हो । सो वर्ष १६ अर्ब ४६ करोड आम्दानी भएको महालेखा परीक्षकको लेखापरीक्षण प्रतिवेदनले देखाएको छ । त्यस्तै, आर्थिक वर्ष ०७७/७८ मा नौ अर्ब ११ करोड भएको निगमले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको छ । तर, कुन–कुन सेवा प्रवाहबाट कति आम्दानी भएको भनेर खुलाएको छैन । 

निगमको कुल आम्दानीमा ग्राउन्ड ह्यान्डलिङ र न्यारोबडी एयरबस ३२० जहाजको योगदान बढी छ । वाइडबडी एयरबस ३३० र आन्तरिक उडानमा भने निगमलाई घाटा रहेको छ । निगमले काठमाडौं, भैरहवा र पोखराका तीनवटै अन्तर्राष्ट्रिय विमानस्थलको भूमिस्थ (ग्राउन्ड ह्यान्डलिङ) सेवा प्रदान गर्दै आइरहेको छ । ग्राउन्ड ह्यान्डलिङ सेवा खोसिएको खण्डमा निगमले कर्मचारीलाई तलबसमेत खुवाउन नसक्ने स्थिति रहेको निगमका अधिकारीहरू बताउँछन् । 

पछिल्लो समय नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले निगमको ग्राउन्ड ह्यान्डलिङ सेवाप्रति असन्तुष्टि जनाउँदै अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट अनुभवी र सक्षम कम्पनी छनोटका लागि तयारी थालेको छ । तर, निगमका कर्मचारी संगठनले काम रोकेर आन्दोलनमा उत्रिएपछि पर्यटनमन्त्री सुदन किराँतीले तत्कालका लागि निगमको ग्राउन्ड ह्यान्डलिङ सेवा नखोसिने आश्वासन दिएका छन् ।

निगमसँग अन्तर्राष्ट्रिय दुईवटा न्यारोबडी र दुईवटा वाइडबडी जहाज छन् भने आन्तरिकतर्फ दुईवटा ट्विनअटर विमान रहेका छन् । जसमध्ये आन्तरिकतर्फ नियमित उडानमा भने एउटा मात्र जहाज हुने गर्छ ।निगमले युरोप, अस्ट्रेलिया, कोरिया, जापानलगायत लामो दूरीमा उडान गर्ने उद्देश्यसहित दुईवटा वाइडबडी जहाज खरिद गरेको थियो । तर, अहिले जापानबाहेक अन्य गन्तव्यतर्फ उडान गर्न नसक्दा वाइडबडीमा ठूलो घाटा व्यहोर्नुपरेको छ ।

वाइडबडी विमानलाई भारतको नयाँ दिल्लीजस्तो छोटो दुरीमा उडाउँदा निगमलाई घाटा भएको बताइन्छ । अहिले निगमले स्टल उडानका लागि तीनवटा जहाज खरिदको प्रक्रिया अगाडि बढाएको छ । यस्तै, आन्तरिक ट्रंक रुट र अन्तर्राष्ट्रिय उडानका लागि पनि नयाँ जहाज किन्ने निगमको तयारी छ । तर, भएकै जहाज पूर्ण क्षमतामा चलाउन नसकिरहेको वेलामा नयाँ जहाज खरिद गर्न लागेको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।

निगमको एउटा ट्विनअटर विमान १२ वर्षदेखि त्रिभुवन विमानस्थलमा ग्राउन्डेड अवस्थामा छ । आन्तरिक उडानका लागि भनेर चीनबाट खरिद गरेर ल्याइएका पाँचवटा जहाज ०७७ साउनदेखि त्रिभुवन विमानस्थलमा ग्राउन्डेड अवस्थामा छन् । जसका लागि वार्षिक ४८ करोड रुपैयाँ खर्च हुने गरेको राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री संयोजकत्वमा भएको एक अध्ययनले देखाएको छ ।  निगम व्यवस्थापन बिग्रिएको जहाज मर्मत गरेर उडाउनमा भन्दा नयाँ जहाज खरिदमा मात्र केन्द्रित हुँदै आएको देखिन्छ ।