१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० मङ्सिर १५ शुक्रबार ०६:११:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

अढाई महिना ग्राउन्डेड भएर उडेको  दुई महिनामै निगमको न्यारोबडी फेरि ग्राउन्डेड 

दिनकै सवा करोडसम्म आम्दानी गुम्ने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० मङ्सिर १५ शुक्रबार ०६:११:००

अढाई महिना ग्राउन्डेड भएर नियमित उडान सुरु गरेको दुई महिनामै नेपाल वायुसेवा निगम (नेवानि)को न्यारोबडी जहाज पुनः ग्राउन्डेड भएको छ । बायाँ इन्जिनमा समस्या आएपछि बुधबार राति बैंककबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरको ९एन–एकेएक्स कलसाइनको जहाज ग्राउन्डेड गरिएको हो । 

सो जहाजमा अब तीन साइकल (उडान–अवतरण) मात्र बाँकी छ, जुन इन्जिन मर्मत तथा फेरबदलका लागि राखिएको हो । १० मंसिरमा भारतको मुम्बईबाट काठमाडौंमा आएलगत्तै इन्जिनको बोरोस्कोप गरिएको थियो । बोरोस्कोप रिपोर्ट हेरेर इन्जिन निर्माता कम्पनीले जहाज १० साइकल मात्र उडाउन मिल्ने सुझाव दिएको थियो । त्यसयता जहाज हङकङ, दोहा र बैंककमा ६ साइकल उडान गरिसकेको छ । अब इन्जिन फेरेर मात्र जहाज उडाउन मिल्ने निगम स्रोतको भनाइ छ । ग्राउन्डेड एकेएक्सको दायाँ इन्जिन इजरायली कम्पनी इजरायल एरोस्पेस इन्डस्ट्रिज (आइएआई)बाट भाडामा ल्याइएको हो ।

यसअघि इन्जिनमै समस्या आएर ३१ असार ०८० मा ग्राउन्डेड भएको एकेएक्स जहाजलाई साढे दुई महिनापछि ११ असोजमा भाडाको इन्जिन राखेर नियमित उडान गरेको थियो । बिग्रिएको इन्जिन मर्मतका लागि इजरायली कम्पनी आइएआईलाई दिएर सोही कम्पनीबाट इन्जिन भाडामा ल्याइएको हो । निगम व्यवस्थापनले १७ सेप्टेम्बर (३१ भदौ)मा इन्जिन मर्मत तथा फेरबदलका लागि जहाज इजरायल पठाएको थियो । साढे दुई महिनासम्म आइएआईले एकेएक्सको इन्जिन मर्मत गरेर हस्तान्तरण गरेको छैन । त्यसअघि आइएआईले नै निगमको अर्को न्यारोबडी ९एन–एकेडब्लूको इन्जिन तीन महिनामा मर्मत सक्नुपर्ने भए पनि नौ महिना लगाएको थियो ।

निगम व्यवस्थापनको लापरबाहीले दुई महिनाअघि ७५ दिन जहाज ग्राउन्डेड हुँदा करिब ७९ करोड आम्दानी गुमेको थियो । साथै, अन्तर्राष्ट्रिय उडान पनि अस्तव्यस्त बनेको थियो । न्यारोबडी जहाज एक दिन ग्राउन्डेड हुँदा एक करोड पाँच लाख आम्दानी गुम्ने निगम स्रोत बताउँछ । अहिले ग्राउन्डेड भएको जहाजको इन्जिनमै समस्या आएको हुँदा कति दिनसम्म ग्राउन्डेड हुने पत्तो छैन ।

यस्तै, सन् २०२१ र सन् २०२२ मा निगमकै अर्को न्यारोबडी जहाज ९एन–एकेडब्लू दोहामा ७५ दिन र काठमाडौंमा ६२ दिन ग्राउन्डेड हुँदा निगमले ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको थियो । एकेडब्लूका दुईवटा इन्जिन मर्मतमा करिब ५२ करोड र ६३ करोड गरी कुल एक अर्ब १५ करोडभन्दा बढी खर्च भएको थियो । अहिले पनि निगम व्यवस्थापनले एकेएक्सको इन्जिन मर्मतका लागि आइएआईलाई नै दिएको छ । 

निगम व्यवस्थापनले न्यारोबडी जहाजको लिजसहित इन्जिन मर्मतका लागि आइएआईसँग चार वर्षको एमआरओ सम्झौता गरेको छ । इन्जिन बिग्रिएको जानकारी गराएको सात दिनभित्र भाडाको इन्जिन दिने र ६० दिनभित्र इन्जिन मर्मत गरेर दिने सम्झौतमा उल्लेख रहेको स्रोतको भनाइ छ । तर, एकेएक्सको इन्जिन जनवरीसम्म मर्मत गरेर दिन सक्ने आइएआईले बताएको स्रोतको भनाइ छ । ‘सम्झौताबमोजिम सात दिनभित्र भाडाको इन्जिन उपलब्ध गराउनुपर्छ, तर मिलेमतोमा छनोट भएको कम्पनीले समयमै इन्जिन दिनेमा शंका छ,’ स्रोत भन्छ ।