मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ३० शुक्रबार
  • Friday, 12 April, 2024
२०८० पौष २ सोमबार ०६:१७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

रुसी सेनामा कार्यरत टीकापुरका भरत शाहको मृत्यु, कुशको शव बनाएर दाहसंस्कार

Read Time : < 1 मिनेट
२०८० पौष २ सोमबार ०६:१७:००

रुसी सेनामा कार्यरत कैलालीको टीकापुरका एक युवकको मृत्यु भएको छ । रुसी सेनामा कार्यरत टीकापुर नगरपालिका–१ का ३६ वर्षीय भरत शाहको रुस–युक्रेन युद्धमा मृत्यु भएपछि परिवारले कुशको शव बनाएर आइतबार अन्तिम संस्कार गरेका छन् ।  मृतक भरतका दाइ नाता पर्ने बिर्ख शाहका अनुसार भरतको गत शुक्रबार मृत्यु भएको खबर प्राप्त भएपछि दौलतपुर घाटमा अन्तिम संस्कार गरिएको हो । 

शाहका अनुसार भरतसँगै रुसी सेनामा कार्यरत कञ्चनपुरका रोशन थापाले भरत मारिएको खबर पठाएका थिए । गत २६ नोभेम्बरमा रुसको सीमा क्षेत्रमा गोली लागेर भरतको मृत्यु भएको खबर रोशनले आफ्नो घरमा पठाएको र उनको परिवारमार्फत भरतको मृत्यु भएको खबर पाएको बिर्खले बताए ।

रोशनले आफ्नी श्रीमतीलाई भरतको गोली लागेकै स्थानमा मृत्यु भएको म्यासेज पठाएका थिए । गोली लागेर रोशन घाइते रहेको बताइएको छ । आफन्तका अनुसार दुबईमा काम गर्दै आएका भरत गत ३० साउनमा उतैबाट रुसी सेनामा भर्ना हुन गएका थिए । रुसी सेनामा भर्ना भएपछि पनि उनले घरमा कुराकानी गरेको आफन्तले बताएका छन् ।

शाह प्रहरीबाट राजीनामा गरेर तीन वर्षअघि दुबई गएको पारिवारिक स्रोतले जनाएको छ । उनले सात वर्ष प्रहरीमा काम गरेका थिए । दुबईमा उनी सुरक्षा गार्डको काम गर्थे । उनी गत वर्ष असोजमा घर आएर फागुनमा फर्किएको उनका दाइ बिर्खले बताए । भरतको मृत्युबारे परराष्ट्र मन्त्रालय र रुसी सरकारले परिवारलाई औपचारिक रूपमा जानकारी गराएको छैन ।

भरतको शव आउने÷नआउनेसमेत टुंगो नभएपछि कुशको शव बनाएर अन्तिम संस्कार गरिएको उनको परिवारले जनाएको छ । आफन्तका अनुसार मृतकका आमा, बुवा, श्रीमती, चार वर्षका छोरा र तीन महिनाकी छोरी छन् ।