१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार o७:१३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

संशोधित शिक्षा ऐन अविलम्ब ल्याउन राष्ट्रिय अभिभावक संघको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o७:१३:oo

नेपाल राष्ट्रिय अभिभावक संघले संशोधित शिक्षा ऐन अविलम्ब ल्याउन माग गरेको छ । अभिभावक संघले शनिबार काठमाडौंमा आयोजना गरेको दोस्रो बागमती प्रदेश अधिवेशनका क्रममा यस्तो माग गरिएको हो । 

अधिवेशनमा सहभागीले नेपालको शिक्षा क्षेत्रमा देखिएको अन्धाधुन्ध व्यापारीकरणलाई न्यूनीकरण गर्ने र सार्वजनिक शिक्षालाई प्रभावकारी बनाउन भूमिका खेल्ने प्रतिबद्धता पनि जनाएका छन् । साथै, नेपाल सरकार र नेपाल शिक्षक महासंघबीच भएको सम्झौताबमोजिम संसद्मा टेबल भएको ऐन तत्काल ल्याउन ध्यानाकर्षण गराएको छ । यसका लागि संस्थागत रूपमा सम्बद्ध पक्ष तथा निकायमा पक्षीकरण र बहस घनीभूत पार्न संघ तयार रहेको सहभागीको भनाइ छ । कार्यक्रममा संघका बागमती प्रदेश सचिव उद्धवराज पौडेलले प्रतिवेदन प्रस्तुत गरेका थिए । 

०५९ मा स्थापित संघको पहिलो अधिवेशन ०७५ मा भएको थियो । अघिल्लो कार्यसमितिले अपेक्षाकृत काम गर्न नसकेपछि गत २ भदौमा नीरबहादुर कार्कीको नेतृत्वमा कार्यसमिति पुनर्गठन गरिएको थियो । पुनर्गठित कार्यसमितिले बागमती प्रदेशका १३ वटै जिल्लामा संस्थाको सदस्यता विस्तारलाई तीव्रता दिएको छ । सोहीअनुसार हालसम्म काठमाडौं जिल्ला अधिवेशन सम्पन्न भइसकेको छ । 

अधिवेशनको प्रमुख आतिथ्य शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारीले गरेका थिए भने विशिष्ट अतिथिका रूपमा नेपाल राष्ट्रिय अभिभावक संघका केन्द्रीय अध्यक्ष कोषबहादुर जिसी थिए । यस्तै, अतिथिमा शैक्षिक गुणस्तर परीरक्षा केन्द्र सानोठिमी प्रमुख चन्द्रकान्त भुसाल, वाङछे शेर्पा, धर्मदत्त देवकोटा थिए । कार्यक्रमका सहभागीले पुनर्गठित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिएका थिए ।

ad
ad