१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०८० मङ्सिर २८ बिहीबार १४:०२:००
Read Time : > 1 मिनेट
विश्व डिजिटल संस्करण

अमेरिकी तल्लो सदनद्वारा राष्ट्रपति बाइडेनविरुद्ध महाभियोग लगाउने पक्षमा मतदान 

Read Time : > 1 मिनेट
२०८० मङ्सिर २८ बिहीबार १४:०२:००

अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले राष्ट्रपति जो बाइडेनविरुद्धको महाभियोगमाथि अनुसन्धान अगाडि बढाउने पक्षमा मतदान गरेको छ।

रिपब्लिकन नेतृत्वकाे तीनसदस्यीय समितिहरूले बाइडेनले उपराष्ट्रपतिको कार्यकालमा घुसखोरी र भ्रष्टाचार गरेको आरोप लगाउँदै बुधबार महाअभियाेगकाे प्रस्तावलाई अगाडि बढाउने पक्षमा मतदान गरेकाे हाे। 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार रिपब्लिकनहरूले अझै महाअभियाेगकाे आरोप प्रमाणित हुने प्रमाण जुटाउन भने सकेका छैनन्। 

यता बाइडेनले उक्त आरोपको खण्डन गर्दै विरोधीहरूले आक्रमण गरिरहेको प्रतिक्रिया दिए। उनले भने, ‘अत्यावश्यक काममा आफ्नो समय खर्च गर्नुको सट्टा, तिनीहरूले यो आधारहीन राजनीतिक स्टन्टमा समय बर्बाद गर्न खोजिरहेका छन्, जुन आरोपलाई तथ्यहरूले समर्थन गर्दैनन् भन्ने कुरा रिपब्लिकनहरूसमेत स्विकार्छन्।’

तल्लाे सदनमा डोमेक्र्याटभन्दा आठ सिट बढी रहेको रिपब्लिकन पार्टीका २२१ सदस्यमध्ये २१२ जनाले बुधबार दिउँसो बाइडेनविरुद्धको महाभियोगलाई अगाडि बढाउने पक्षमा मतदान गरे।  

सदनका अध्यक्ष माइक जोनसनले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘चेम्बरले अनुसन्धानको नतिजालाई पूर्वाग्रहका रूपमा लिनेछैन। तर, प्रमाणलाई बेवास्ता गर्न असम्भव छ।’

सदनले राष्ट्रपति बाइडेनलाई महाभियोग लगाउने निर्णय गरे पनि डेमोक्र्याटको नियन्त्रण रहेको सिनेटले उनलाई सफाइ दिने प्रायः निश्चित छ। 

सिनेटले उनलाई सफाइ दिए पनि महाभियोगको अनुसन्धान अगाडि बढे चुनावी दौडमा रहेका बाइडेनलाई याे प्रमुख टाउको दुःखाइ भने बन्न सक्छ। 

पूर्व–सभामुख केभिन म्याकार्थीले सेप्टेम्बरमा अनुसन्धान सुरु गरेर रिपब्लिकनहरूले बाइडेनवरिपरि रहेको भ्रष्टाचारको संस्कृति पत्ता लगाएको दाबी गरे। 

यता रिपब्लिकनहरूले अनुसन्धानसँग सम्बन्धित एउटा सुनुवाइ राखेका थिए। जसमा रिपब्लिकनहरूले बोलाइएका दुई विशेषज्ञले राष्ट्रपतिलाई महाभियोग लगाउन पर्याप्त प्रमाण नभएको बताएको बिबिसीले जनाएको छ। 

पर्यवेक्षण समितिले बाइडेन परिवार र यसका व्यापारिक सहयोगीहरूले २०१४ र २०१९ को बीचमा चीन, काजकिस्तान, रोमानिया, रुस र युक्रेनका विदेशी स्रोतहरूबाट २४ मिलियन प्राप्त गरेको दाबी गरेको छ।

समितिका अध्यक्ष जेम्स कमरले बाइडेनका छोरा हन्टरले तत्कालीन उपराष्ट्रपतिको पहुँचमा ‘बाइडेन ब्रान्ड’ लाई प्रभाव पारेको आरोप लगाएका छन्। बुधबारको मतदानपछि कमरले पत्रकारहरूसँग कुरा गर्दै अनुसन्धानको लागि सर्वसम्मत रिपब्लिकनहरूले प्रशासनलाई ‘बलियो सन्देश’ पठाएको प्रतिक्रिया दिए। 

८१ वर्षीय बाइडेन पुनः निर्वाचित हुने तयारीमा रहेकाले नोभेम्बर २०२४ को आमचुनावमा उनले दुईपटक महाभियोग लगाएका पूर्वराष्ट्रपति र वर्तमान रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प, भिड्ने सम्भावना छ।

आफ्ना राजनीतिक विपक्षीहरूविरुद्ध बदला लिने वाचा गरेका ट्रम्पले आफ्ना प्रतिद्वन्द्वीलाई महाभियोग लगाउन द्रुत गतिमा अघि बढ्न क्यापिटल हिल सहयोगीहरूलाई आग्रह गरेका छन्।

एजेन्सीकाे सहयाेगमा।