१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार १३:३९:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

विद्युत् आयात गर्नेबाट निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण उपलब्धि : राष्ट्रपति

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १३:३९:oo

राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो एक्स्पो २०२४ उद्घाटन गरेका छन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले नेपाल विद्युत् आयात गर्ने देशबाट विद्युत् निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण रहेको बताए। राष्ट्रपति पौडेलले यो सबैको लागि गौरव र खुसीको विषय रहेको उल्लेख गरे।

नेपालले १० वर्षभित्र १० हजार मेगावाट विद्युत् छिमेकी देश भारतमा बिक्रीका लागि बजार खुला गरिसकेको उल्लेख गर्दै उनले यस क्षेत्रमा थप लगानी हुने विश्वास व्यक्त गरे। ‘सरकारको सहजीकरण र समन्वय तथा निजी क्षेत्रको संलग्नताबाट विद्युत् उत्पादनका लागि राखिएका लक्ष्य हसिल हुन सम्भव छ,’ उनले भने।

एक्स्पोले ऊर्जा विकासमा सहभागी सबै पक्षलाई एकै ठाउँमा ल्याएर हातेमालो गर्न सहयोग पुग्ने उनको भनाइ छ। राष्ट्रपतिले हरित ऊर्जा विकासमा स्वदेशी र विदेशी सबै लगानीकर्ता एकजुट भएर अघि बढ्न आह्वान गरे।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलविद्युत् विकासको प्रचुर सम्भावना रहेको नेपालको उन्नतिको महत्वपूर्ण आधार रहेको बताए। ‘आगामी १२  वर्षभित्र २८ हजार सात सय मेगावाट विद्युत् उत्पादन गर्ने कार्ययोजना सरकारले ल्याएको र यो महत्वाकांक्षीजस्तो देखिए पनि यथार्थ र आवश्यकतामा आधारित भएर गरिएको हो,’ उनले भने।

लगानीका लागि देशभित्रको स्रोत मात्र होइन, वैदेशिक लगानी ल्याउनुपर्ने आवश्यकता रहेको उनले औँल्याए। अहिले संसदमा दर्ता भई दफावार छलफलमा रहेको विद्युत् विधेयक चाँडोभन्दा चाँडो पारित भई कार्यान्वयनमा आउने उनले उल्लेख गरे।

जलविद्युत् परियोजना विकासका लागि नयाँ विद्युत् ऐनले सहजीकरण गर्ने र लगानी अझ बढेर जाने ऊर्जामन्त्रीको विश्वास छ। ‘परियोजनाका लागि जग्गा प्राप्ति, वन र अन्य प्रक्रियागत विषयमा पनि सरकारले अझ सहजीकरण गर्दै जानेछ,’ मन्त्री बस्नेतले भने। अहिले जलविद्युत् परियोजना निर्माणसँगै वातावरण र जलवायुको मुद्दासमेत पेचिलो बन्दै गएको छ।’ यसबारेमा पर्याप्त छलफल हुनुपर्ने र भइरहेको उनको भनाइ छ । उनले आसन्न लगानी सम्मेलनका लागि समेत एक्स्पोले टेवा पुग्ने बताए।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले १३ खर्ब रुपैयाँ जलविद्युत् आयोजनामा लगानी भइसकेको बताए। ‘आर्थिक वृद्धि र रोजगारी सिर्जनामा महत्वपूर्ण भूमिका खेलिरहेको तथा दक्ष, अर्धदक्ष र अदक्ष गरी पाँच लाखभन्दा धेरै नागरिकले रोजगारी पाइरहेका छन्,’ उनले भने।

उनले पछिल्लो समयमा विद्युत् निर्यातमार्फत विदेशी मुद्रा आर्जन गर्नमा सफल भएको र याे अझ वृद्धि हुँदै जाने विश्वास व्यक्त गरे। सरकारले राखेको २८ हजार सात सय मेगावाट विद्युत् उत्पादन गर्न वन, जग्गालगायतका विषयमा सहजीकरण गर्नुपर्नेमा जोड दिए। एक्स्पोले आसन्न लगानी सम्मेलनका लागि पनि सहयोग पुग्ने अध्यक्ष कार्कीको भनाइ छ । विदेशी लगानी वृद्धि गर्न नीतिगत सुधार र प्रक्रियागत झमेलालाई सहज बनाउँदै लैजान उनले सरकारसँग आग्रह गरे। 

नेपालका लागि क्यानडाका राजदूत क्यामरुन म्याकीले भिडियो सन्देशमार्फत नेपालको समृद्धिको लागि जलविद्युतको विकास महत्वपूर्ण रहेको उल्लेख गरे। ‘नेपालमा जलविद्युत् परियोजनाको विकास गर्नका लागि क्यानडासँग रहेको सीप, ज्ञान र अनुभव उपयोगी हुने विश्वास छ,’ उनले भने । उनले नवीकरणीय ऊर्जा विकासका लागि अद्यावधिक प्रविधिको प्रयोगमा जोड दिनुपर्ने बताए।  समद्धिका लागि हरित ऊर्जा भन्ने नाराको साथ सुरु भएको एक्स्पो शुक्रबार सम्पन्न हुनेछ।

ad
ad