१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
यानिस भारुफाकिस
लना अत्तलाह
जन किरियाकौ
२o८१ जेठ १ मंगलबार १o:१o:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

बाइडेन प्रशासन प्रेस स्वतन्त्रता अवसानको कारक नबनोस्

Read Time : > 2 मिनेट
यानिस भारुफाकिस
लना अत्तलाह
जन किरियाकौ
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १o:१o:oo

सन् २०२४ को सुरुवाती महिनामा पत्रकारिताको इतिहासकै सम्भवतः एक दुःखद अध्याय लेखिनेछ । समाचारयोग्य सूचना प्रकाशन गरेका विकिलिक्सका सम्पादक एवं प्रकाशक जुलियन असान्जलाई जासुसीको आरोपमा सन् २०२४को सुरुवाती महिनामा अमेरिका सुपर्दगी गरिनेछ । र, अमेरिकामा उनले एक सय ७५ वर्षसम्मको जेल सजाय पाउनेछन् । असान्जमाथि बाइडेन प्रशासनकालमा हुने सम्भावित राज्य–प्रताडनाका कारण अमेरिकाले वैश्विकस्तरमा दुष्परिणाम व्यहोर्नेछ । यसले अभिव्यक्ति स्वन्त्रताको प्रत्याभूति गर्ने अमेरिकी संविधानको पहिलो संशोधन(फस्ट एमेन्डमेन्ट)को हत्या गर्नेछ । 

बब वुडवार्ड र कार्ल बन्स्र्टाइनले वाटरगेट प्रकरणका वेला गरेको खुलासालाई सत्तामाथि सत्यको विजयका रूपमा हेरिएको थियो । दुवैजनालाई प्रेस स्वतन्त्रताको हिमायती बनाएको खोज पत्रकारिता तत्कालीन अमेरिकी राष्ट्रपति रिचार्ड निक्सनको पतनको कारक बन्यो । यदि त्यसवेला सो खोज पत्रकारिताका कारण दुवैजना पत्रकारलाई राष्ट्रिय सुरक्षाका नाममा जासुसीका आरोपमा प्रताडित गरिएको भए के हुन्थ्यो ? यसको काल्पनिक उत्तर एक आख्यानमै सीमित हुन्छ, तर अहिले असान्जमाथि बर्सिरहेको कहर भने वास्तविक हो ।

हाम्रो समयमा खोज पत्रकारिताको मानक तयार गर्ने असान्ज बेलायतको बेलमार्स जेलको कालकोठरीमा अमेरिकी सुपर्दगीको दिन गन्न अभिशप्त छन् । यदि उनले सुपुर्दगीको दुर्भाग्य व्यहोर्नुपर्‍यो भने उनले बोकेको पारदर्शिताको ध्वजा छियाछिया हुनेछ । विश्वभर पत्रकारलाई थुन्ने र हत्या गर्ने उपक्रम बढिरहँदा अर्थात् प्रेस स्वतन्त्रताको क्षयीकरण भइरहँदा असान्जको मामिलाले सत्तालाई चुनौती दिँदा र अप्ठ्यारा सत्य उजागर गर्दा व्यहोर्नुपर्ने परिणामलाई लिएर भय पैदा गरेको छ ।

विकिलिक्सको विरासतले सरकारी अनियमितता मात्रै नभई गोपनीयताका नाममा भइरहेको वैश्विक क्रियाकलापको पनि पर्दाफास गरेको छ । कोल्याटरल मर्डर शीर्षकको खुलासामा एक क्यामेरा फुटेज सतहमा आएको थियो, जहाँ बग्दादमा अमेरिकी सेनाको अपाचे हेलिकोप्टरबाट थुप्रै निहत्था मानिसको हत्या गरिएको बीभत्स दृश्य देखिएको थियो । सो हत्याकाण्डमा रोयटर्सका दुई पत्रकार पनि मारिएका थिए । यो खुलासाले सारा विश्वलाई स्तब्ध बनाएको थियो । 

युद्ध अपराधको खुलासा गर्नेलाई जासुसी ऐन प्रयोग गरेर जेलमा थुन्दासम्म न कुनै प्रकाशक, न कोही पत्रकार सुरक्षित हुनेछन् 

पछिल्ला दुई महिनादेखि युद्धमा आमनागरिक र पत्रकारको हत्या भइरहेको छ । कमिटी टु प्रोटेक्ट जर्नलिस्ट्सका अनुसार दुई महिनायता इजरायलले गाजा क्षेत्रमा गरिरहेको बमबारीका कारण दर्जनौँ पत्रकार मारिएका छन् । गत बिहीबार विभिन्न मानवअधिकार समूहले नांगो युद्ध अपराधको झल्को दिने गरी इजरायलले नियतवश रोयटर्सका पत्रकारको हत्या गरेको तथ्य सतहमा ल्याएका छन् । सूचनालाई आफूअनुकूल बनाउन सरकारले पत्रकारलाई तारो बनाउँदै आइरहेको छ । त्यसैकारण सत्ताधारीका हातबाट सूचना झिकेर आममानिसमाझ पु¥याउने विकिलिक्स सरकारका लागि जोखिम बनेको हो । 

विकिलिक्सले इराक वार लग्सजस्ता परियोजनाबाट नागरिक हताहती, यातना र अन्य मानवअधिकार उल्लंघनको खुलासा मात्रै गरेको छैन । यसले आजका समयमा भइरहेका द्वन्द्वबारे महत्वपूर्ण जानकारी दिने दस्ताबेजहरू पनि खुलासा गरेको छ । उदाहरणका लागि सन् २०१० मा केबलगेट लिक्सले गाजा क्षेत्रमा सन् २००६ को हमासको विजय र सन् २००७मा सत्ता आरोहणपछिको गाजाप्रतिको इजरायली नीतिको खुलासा गरेको थियो । सो खुलासाअनुसार गाजामा हमासको उदयले इजरायललाई फाइदा हुने जनाइएको सन्देश थियो । अर्थात्, खुलासामा हमासको उदय हुँदा इजरायली सेनालाई ‘गाजालाई शत्रु राज्यका रूपमा व्यवहार गर्न’ सजिलो भएको थियो । यसैकारण हमासलाई पराजित गर्नका लागि प्यालेस्टिनी अधिकारीले गरेको आग्रहलाई इजरायलले लत्याएका थिए । नाकाबन्दी लगाइएको गाजाका लागि इजरायली नीतिको उद्देश्य ‘मानवीय संकट ननिम्तिने गरी गाजाको अर्थतन्त्रलाई सबैभन्दा तल्लो स्तरमा राख्नु’ थियो ।  

यो सूचना आवश्यक थियो र हामीलाई यस्ता थप सूचना आवश्यक छन् । तसर्थ नियमित रूपमा असान्जको राज्य प्रताडनाविरुद्ध प्रमाण जुटाउने विशेषज्ञ समूह बेलमार्स ट्रिब्युनल सदस्यका नाताले हामी तीनजना लेखक सत्य र असान्जलाई मुक्त गर्नका लागि आवाज उठाइरहेका छौँ । असान्जको सुपर्दगी मुद्दा अन्तिम चरणमा पुगेको छ, अर्थात् बेलायतमा असान्जविरुद्ध सुपर्दगीको अन्तिम अदालती सुनुवाइ सन् २०२४को सुरुवाती महिनामा हुनेछ । त्यसपछि उनीविरुद्ध अमेरिकामा जासुसी ऐनअन्तर्गत मुद्दा चलाइनेछ ।

मुद्दापछि सत्तालाई चुनौती दिने र सत्यको खोजी गर्ने पत्रकारिताले व्यहोर्ने दुष्परिणामबारे धेरै कुरा बोल्नै परेन । यदि असान्जले अमेरिकामा जासुसी ऐनअन्तर्गत सजाय पाए भने यसले भयावह नजिर स्थापना गर्नेछ, जुन असान्जमा मात्रै सीमित हुनेछैन । सत्यको खोजीकर्तालाई चुप लगाउनुले खतरनाक सन्देश प्रवाह गर्नेछ, अर्थात् अधिनायकवादका अगाडि प्रेस स्वतन्त्रतालाई कमजोर बनाउनेछ । 

द नेसनको सहप्रायोजमा ९ डिसेम्बर शनिबारका दिन वासिंटन डिसीमा बेलमार्स ट्रिब्युनलको सबैभन्दा पछिल्लो बैठक भएको थियो । सो बैठकमा हामीमध्येकी एक लेखक एवं इजिप्टको अनलाइन पत्रिका मदा मस्रकी प्रधानसम्पादक लिना अत्तलाह उपस्थित हुन सकेकी थिइनन् । गाजामथिको हमलाबारेको मदा मस्रको हालैका रिपोर्टले अमेरिकी साझेदार इजिप्टलाई क्रुद्ध बनाएको थियो । यदि अमेरिका यातनाको खुलासा गर्नेलाई जेलमा जाक्न सक्छ र सत्य उजागर गर्नेलाई प्रताडित गर्न सक्छ भने अमेरिकी सरकारका अधिनायकवादी साझेदारलाई कसले रोक्ला र ? 

असान्जको प्रतिरक्षा गर्दै गर्दा हामी जान्न पाउने र सत्तालाई प्रश्न एवं चुनौती दिन पाउने अधिकारको प्रतिरक्षा गरिरहेका छाैँ । इतिहासको पुनरावृत्तिले हामीलाई प्रेस स्वतन्त्रताको संघर्ष जारी नै छ भनेर सम्झाइरहेको छ र जुलियन असान्जको सम्भावित भाग्यले उत्पीडनको कसीमा सत्यको क्षमताको मापन गर्नेछ । विश्वलाई निडर भई सत्ताको सामना गर्ने पत्रकारिताको थप आवश्यकता छ । युद्ध अपराधको खुलासा गर्नेलाई जासुसी ऐन प्रयोग गरेर जेलमा थुनिँदासम्म न कुनै प्रकाशक, न कुनै पत्रकार सुरक्षित हुनेछन् । 

(भारुफाकिस ग्रिसका पूर्वअर्थमन्त्री हुन् । अत्तलाह इजिप्टको अनलाइन पत्रिका मदा मस्रकी प्रधानसम्पादक र किरियाकौ अमेरिकी गुप्तचर निकाय सिआइएका पूर्व अधिकारी  हुन् ।) द नेसन  
 

ad
ad