१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
शिवहरि घिमिरे काठमाडाैं
२o८१ बैशाख १७ सोमबार o६:३२:oo
Read Time : > 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

क्यान्सरका बिरामीलाई अब स्वदेशमै टोमोथेरापी नेपालमै पहिलोपटक वीर अस्पतालले २ पुसदेखि सेवा दिँदै

भारत गएर आठ लाख बुझाउन बाध्य बिरामीले अब देशमै डेढ लाखमा सेवा पाउने

Read Time : > 1 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o६:३२:oo

विश्वमै महँगो मानिने टोमोथेरापी सेवा नेपालमै पहिलोपटक वीर अस्पतालले २ पुसदेखि सुरु गर्दै छ । तीन महिनाअघि भित्र्याइएको ४० करोडको टोमोथेरापी मेसिन जडान गरेर ‘इन्स्टल’समेत भइसकेकाले सेवा सञ्चालनको तयारी गरेको हो ।

सुरुमा ०७५ मै टोमोथेरोपी मेसिन ल्याइए पनि जडान गर्ने ठाउँको अभावमा बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालको चौरमा राख्दा खिया लागेर बिग्रिएको थियो । पछि वीरले सप्लायर्स कम्पनी लाइफलाइन ट्रेड सप्लायर्ससँग मेसिन अस्वीकार गर्ने निर्णय गरेपछि उसले १८ भदौमा अकुरे कम्पनीको नयाँ मेसिन ल्याएर अस्पताललाई हस्तान्तरण गरेको थियो ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति प्रा.डा. भूपेन्द्रकुमार बस्नेतले अहिले मेसिन जडान सकेर भारतीय प्राविधिकबाट नेपाली जनशक्तिलाई उपकरण चलाउन सक्ने तालिम पनि दिलाइसकेको जानकारी दिए । ‘अब सबै तयारी पूरा भइसकेको छ, हामीले यसलाई कसरी सञ्चालन गर्ने भन्नेबारे आन्तरिक छलफल मात्रै गर्न बाँकी छ,’ उनले भने, ‘मेसिन फिट गरेर सञ्चालनको लागि तयारी पूरा भइसक्यो । सबै काम अब यहीँको जनशक्तिले गर्न सक्छ ।’

बिरामीको शरीरका भित्री कोष तथा नलीहरूमा हुने सूक्ष्म क्यान्सरको समेत उपचारमा यो मेसिन प्रभावकारी मानिन्छ । रेडियो थेरापीभन्दा निकै उच्चस्तरको यो उपकरणबाट निस्किने विकिरण (रेडियसन)ले क्यान्सर लागेको ठाउँका सेलहरू मात्रै मार्छ । यसले कपालको रौँबराबरको कोषलाई पनि छुट्याएर क्यान्सर लागेको र नलागेको वर्गीकरण गर्न सक्छ भने यसको प्रयोग गर्दा क्यान्सरले नछोएका सेलहरू मर्ने सम्भावना नहुने चिकित्सकहरू बताउँछन् ।

रेडियो थेरापीले भने क्यान्सर लागेको ठाउँमा विकिरण पठाउँदा अन्य ठाउँका सेल पनि मार्ने बढी सम्भावना हुन्छ । रेडियो थेरापीमा कतिपय अवस्थामा क्यान्सर निको भएको ठानिए पनि फेरि ब्युँतिने गर्छ भने टोमोथेरापीले विकिरण दिँदा क्यान्सर पूर्ण निको हुने बताइन्छ ।

अत्याधुनिक यो सेवा लिन नेपालका कयौँ बिरामी भारत पुग्ने गरेका छन् । भारतका निजी अस्पतालमा टोमोथेरापी सेवा लिन कम्तीमा पाँच लाख भारतीय रुपैयाँ (आठ लाख नेपाली रुपैयाँ)तिर्नुपर्छ । तर, वीरले डेढ लाखमै यो सेवा दिने गरी सञ्चालनको तयारी गरेको न्याम्सका उपकुलपति बस्नेतले बताए । 

भारत गएर आठ लाख बुझाउन बाध्य बिरामीले अब देशमै डेढ लाखमा सेवा पाउने
प्रा.डा.भूपेन्द्रकुमार बस्नेत, उपकुलपति, न्याम्स
अब सबै तयारी पूरा भइसकेको छ, हामीले यसलाई कसरी सञ्चालन गर्ने भन्नेबारे आन्तरिक छलफल मात्रै गर्न बाँकी छ । मेसिन फिट गरेर सञ्चालनका लागि तयारी पूरा भइसक्यो । सबै काम अब यहीँको जनशक्तिले गर्न सक्छ ।

इमोबिलाइजर पनि सप्लायर्सले नै दिएपछि सेवा सञ्चालन सहज
टोमोथेरापी सञ्चालनका लागि नभई नहुने उपकरण हो इमोबिलाइजर । उक्त उपकरण सप्लायर्स कम्पनीले नै दिएपछि छिटो सञ्चालन गर्न सम्भव भएको उपकुलपति बस्नेतले बताए । सुरुमा सप्लायर्स कम्पनीले वीरले नै उक्त उपकरण खरिद गर्नुपर्ने बताउँदै आएको थियो । तर, पछि बुझ्दा सप्लायर्स कम्पनीले नै टोमोथेरापीसँगै इमोबिलाइजर ल्याइदिने सम्झौता भएको पाइएपछि कम्पनीसँग माग गरिएको उपकुलपति बस्नेतको भनाइ छ ।

ad
ad