१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:४९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सार्क महासचिवले भेटे उपराष्ट्रपति यादव

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:४९:oo

उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग बिहीबार दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का नवनियुक्त महासचिव मोहम्मद गुलाम सरबरले शिष्टाचार भेट गरेका छन्।

उपराष्ट्रपति कार्यालयमा भएको भेटमा उपराष्ट्रपति यादवले सार्क सदस्य राष्ट्रहरूको आपसी सहयोग र समझदारीबाट संगठनले गतिशीलता प्राप्त गर्ने विश्वास व्यक्त गरे।

उपराष्ट्रपति यादवले नेपाल सार्क वडापत्रका अन्तरनिहित सिद्धान्त र लक्ष्यप्रति सदैव प्रतिबद्ध रहँदै आएको बताए। उनले दक्षिण एसियाली क्षेत्रको आर्थिक वृद्धि, सामाजिक प्रगति एवं सांस्कृतिक विकासलाई तीव्रता दिन सार्क प्रभावकारी माध्यम बन्न सक्ने उल्लेख गरे।

‘दक्षिण एसियाली क्षेत्रका जनताको आशा यस क्षेत्रीय संगठनको प्रभावकारितामा रहेको छ,’ उनले भने, ‘सदस्य राष्ट्रहरूले यस क्षेत्रीय संगठनलाई गतिशील र परिणाममुखी बनाउन प्रयत्न गर्नुपर्दछ।’

उपराष्ट्रपति यादवले १९औँ सार्क शिखर सम्मेलन आयोजनामा  भएको ढिलाइ र अन्य महत्त्पूर्ण बैठकहरूसमेत हुन नसकेको अवस्थाले सार्कको कार्यमा असर परेकोमा चिन्ता व्यक्त गरे। सार्क सदस्य राष्ट्रहरूले अवरुद्ध शिखर सम्मेलन आयोजना गर्न छिट्टै सहमति जुटाउने विश्वास उनले व्यक्त गरे। 

‘सार्कको संस्थापक सदस्य तथा वर्तमान अध्यक्षको हैसियतमा नेपाल सदस्य राष्ट्रहरूबीच एकता र ऐक्यबद्धताको भावनामा सार्क प्रक्रियालाई अगाडि बढाउन पूर्ण रूपमा प्रतिबद्ध छ,’ उपराष्ट्रपतिले भने, ‘सदस्य राष्ट्रहरूले सहयोग र समझदारीको माध्यमबाट सार्कलाई गति दिनेमा म आशावादी छु।’

उपराष्ट्रपति यादवले सार्क प्रक्रियालाई अगाडि बढाउने सम्बन्धमा महासचिवको विचार र योजनाप्रति धन्यवाद दिए।  महासचिवले आफ्नो सक्षम नेतृत्वबाट सार्क प्रक्रियालाई थप सक्रिय बनाउन र यस क्षेत्रले भोगिरहेका चुनौतीहरूको सामना गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्ने पनि उपराष्ट्रपतिको विश्वास थियो।

सार्क महासचिव सरबरले सदस्य राष्ट्रहरूको संयुक्त पहलमै सार्क अगाडि बढ्ने बताए। ‘म सबै सदस्य राष्ट्रहरूको भ्रमण गरी सार्कलाई अगाडि बढाउन सक्दो प्रयत्न गर्नेछु,’ उनले भने, ‘सार्कलाई अगाडि बढाउन नेपाल र नेपाली जनताको प्रतिबद्धताप्रति म आभार प्रकट गर्दछु।’