१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
विश्व बैंक दक्षिण एसियाका उपाध्यक्ष मार्टिन रेजर र एडिबीकी उपाध्यक्ष फातिमा यस्मिन एमओयूमा हस्ताक्षर गरेपछि
२o८१ जेठ २ बुधबार o८:o५:oo
Read Time : > 2 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

अपर अरुण र दूधकोसी जलविद्युतमा विश्व बैंक र एडिबीले संयुक्त लगानी गर्ने

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o८:o५:oo

विश्व बैंक र एसियाली विकास बैंकले १०६२ मेगावाटको माथिल्लो अरुण र ६३५ मेगावाटको दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजनामा संयुक्त लगानी गर्ने भएका छन् । यसअघि विश्व बैंकले अपर अरुण र एडिबीले दूधकोसीमा एकल लगानी गर्ने तयारी गरेका थिए । तर, अहिले दुवै दातृ निकायले दुवै आयोजनामा संयुक्त रूपमा लगानी गर्ने घोषणा गरेका हुन् । 

साथै, उनीहरूले साझा रूपमा नेपालको जलविद्युत् क्षेत्रको विकासमा सहयोग गर्ने घोषणा पनि गरेका छन् । कोप– २८ सम्मेलनको अवसरमा बुधबार युएईमा विश्व बैंक र एडिबीले यससम्बन्धी समझदारीपत्र (एमओयू)मा हस्ताक्षर गरेका छन् । नेपालको ऊजा विकासमा वित्तीय सहयोग तथा नीतिगत सुझावमा सहकार्य गर्ने गरी गरिएको उक्त समझदारीको अवधि पाँच वर्षको रहेको छ । विश्व बैंकका दक्षिण एसियाका उपाध्यक्ष मार्टिन रेजर र एडिबीकी उपाध्यक्ष फातिमा यस्मिनले एमओयूमा हस्ताक्षर गरेका हुन् ।

कार्यक्रममा विश्व बैंकका उपाध्यक्ष रेजरले सरकार, विकास साझेदार र निजी क्षेत्रबीच साझेदारीविना प्रचुर सम्भावना बोकेको जलविद्युत् स्रोतको पूर्ण उपयोग गर्न नसकिने बताए । यो सम्झौताले एडिबी र विश्व बैंकले नेपालको ऊर्जा क्षेत्रमा वित्तीय सहयोग र नीतिगत सुझावमा सहकार्य गर्ने आधार तयार गरेको उनले बताए । यसको उद्देश्य नेपालको स्वच्छ, दिगो र समावेशी विकासलाई दशकौँसम्म सहयोग गर्ने भएको उनको भनाइ छ । 

यस्तै, एडिबी उपाध्यक्ष फातिमा यस्मिनले जनसंख्या वृद्धि र बढ्दो सहरीकरणका बीच यो सम्झौताले नेपालको ऊर्जा सुरक्षालाई सुदृढ बनाउने महत्वपूर्ण कदम रहेको बताइन् । यसले छिमेकी राष्ट्रहरूसँग ऊर्जा व्यापार, क्षेत्रीय सहायता, आर्थिक विकास, स्वच्छ र समावेशी विकास प्रवद्र्धनसमेत गर्ने उनको भनाइ छ । यसैगरी, उनले जलवायुसम्बन्धी लक्ष्य प्राप्ति गर्न एडिबी सकारात्मक रहेको उनले बताइन् । समझदारीअनुसार नेपालका ठूला जलविद्युत् आयोजनाको विकास गर्ने, नेपालका सम्बन्धित निकायको क्षमता विकास गर्ने विषयमा पनि एडिबी र विश्व बैंकले काम गर्नेछन् ।अपर अरुणमा यसअघि विश्व बैंकले ५० करोड डलर आफैँ र ५० करोड डलर साझेदारबाट गरेर एक अर्ब डलर लगानी गर्ने बताएको थियो, त्यसमा अब एडिबी र विश्व बैंकले लगानी गर्नेछन् । 

संखुवासभामा बन्ने उक्त आयोजनामा एक अर्ब ८० करोड डलर (दुई खर्ब ३६ अर्ब रुपैयाँ) लगानी अनुमान गरिएको छ, जुन मिश्रित लगानी (स्वदेशी र विदेशी) मा बनाइँदै छ । त्यसमा यसअघि नै स्वदेशी वित्तीय संस्थाहरूले ५३ अर्ब ३४ करोड ऋण लगानी गर्ने समझदारी गरिसकेका छन् । गत भदौ ०७९ मा जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेड (एचआइडिसिएल)को नेतृत्वमा नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र नागरिक लगानी कोषले उक्त आयोजनामा ऋण लगानी गर्न प्रवद्र्धक कम्पनी अपर अरुण हाइड्रोपावर लिमिटेड र नेपाल विद्युत् प्राधिकरणसँग समझदारी गरिसकेका छन् । सन् २०३० भित्रै यो परियोजनाको निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । परियोजना निर्माणका लागि गर्नुपर्ने पूर्वतयारीका जग्गा अधिग्रहण, रूख कटानलगायतका धेरैजसो काम सम्पन्न भइसकेका छन् । 

यसैगरी, यसअघि एडिबीले ६३५ मेगावाटको दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजनामा लगानी गर्ने प्रतिबद्धता गरेका थियो । अब भने यसमा विश्व बैंकले पनि साथ दिनेछ । आयोजनाको अनुमानित लागत निर्माण अवधिको ब्याजसहित दुई अर्ब २० करोड अमेरिकी डलर (करिब दुई खर्ब २५ अर्ब रुपैयाँ) रहेको छ । यसमध्ये ऋणबाट एक अर्ब ६८ करोड डलर ऋणबाट र बाँकी इक्विटीबाट जुटाएर वित्तीय व्यवस्थापन गर्ने योजना थियो । 

एडिबीको नेतृत्वमा विभिन्न अन्तर्राष्ट्रिय वित्तीय संस्थाबाट आयोजनामा एक अर्ब डलर सहुलितपूर्ण ऋण लगानी हुने भनिएको थियो । यसमध्ये एडिबीले आयोजनामा ५५ करोड डलरको सहुलियतपूर्ण ऋण लगानीको प्रतिबद्धता जनाएको थियो । अब भने यसमा विश्व बैंकले पनि साथ दिनेछ । खोटाङ, ओखलढुंगा र सोलुखुम्बुमा बन्ने यो आयोजनाबाट वार्षिक ३ अर्ब ४४ करोड युनिट विद्युत् उत्पादन हुनेछ । यसमध्ये सुक्खायाममा एक अर्ब ३६ करोड र वर्षायाममा दुई अर्ब आठ करोड युनिट विद्युत् उत्पादन हुनेछ । आयोजनाको निर्माण अवधि सात वर्षको रहेको छ । 

ad
ad