१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार २२:१८:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

भूकम्पपछिको पुनर्निर्माणका लागि तीन साताभित्र क्षतिकाे विस्तृत विवरण संकलन गरिने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार २२:१८:oo

सुदूरपश्चिम र कर्णालीका पाँच जिल्लामा भूकम्पपछिको पुनर्निर्माणका लागि तीन साताभित्र विस्तृत क्षति आकलन गरिने भएको छ । 

भूकम्पपछिको क्षति एवं आवश्यकता मूल्यांकनको आवश्यक कार्य गर्न र भूकम्पले निजी आवास एवं सार्वजनिक संरचनामा पुर्‍याएको क्षतिको ‘विस्तृत क्षति आकलन’ गर्न गठित छुट्टाछुट्टै समितिको मंगलबारको बैठकले तीन साताभित्र अन्तिम प्रतिवेदन तयार गर्ने गरी समय–तालिका निर्धारण गरेको हो । 

विपत् व्यवस्थापन कार्यकारी समितिका अध्यक्ष एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आइतबार छुट्टाछुट्टै समिति गठन गरेका थिए ।

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काका अनुसार हाल निजी आवासको पूर्ण क्षति र आंशिक क्षतिको प्रारम्भिक तथ्यांक उपलब्ध भए पनि अब निजी आवास एवं सार्वजनिक संरचना पुनर्निर्माणका लागि आवश्यक (पुनर्निर्माण गर्नुपर्ने आवास–भवन, मर्मत गर्नुपर्ने, रेक्टोफिट गर्नुपर्ने र पुनर्स्थापना गर्नुपर्ने)  विस्तृत तथ्यांक संकलन हुनेछ । त्यसका लागि इन्जिनियरसहितको टोली जाजरकोट, रुकुम पश्चिम, सल्यान, बाजुरा र बझाङमा खटाइने छ । 

निजी आवास पुनर्निर्माणका लागि मात्र कम्तीमा एक खर्ब अनुमान गरिए पनि सरकारसँग यकिन तथ्यांक छैन । प्रवक्ता खड्काका अनुसार अर्काे टोलीले क्षति एवं आवश्यकता मूल्यांकन गर्नेछ । 

पुनर्निर्माणको आकलनसँगै सामाजिक क्षतिको पाटो पनि केलाउनेछ । ‘भूकम्पले कतिको रोजगारी खोस्यो, गाउँमा अब के आवश्यक छ भनेर पनि आकलन गरेर पुनर्निर्माण आवश्यकताको पहिचान हुनेछ,’ उनले भने ।

भूकम्पपछिको क्षति एवं आवश्यकता मूल्यांकनको आवश्यक कार्य गर्न प्राधिकरणका सहसचिव भरतमणि पाण्डेको संयोजकत्वमा संघ सरकारका मन्त्रालय एवं निकायका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री एवं मन्त्रिपरिषद् कार्यालयका उपसचिवस्तरका प्रतिनिधि रहेको १८ सदस्यीय कार्यटोली गठन भएको छ । 

त्यसैगरी, भूकम्पले निजी आवास एवं सार्वजनिक संरचनामा पुर्‍याएको क्षतिको ‘विस्तृत क्षति आकलन गर्न आवश्यक कार्यका लागि प्राधिकरणका प्राविधिक सहसचिव रामेश्वर मरहट्टाको संयोजकत्वमा संघीय मन्त्रालय एवं निकायका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री एवं मन्त्रिपरिषद् कार्यालयका उपसचिवस्तरका प्रतिनिधि रहेको १० सदस्यीय कार्यटोली गठन भएको छ ।     

१७ कात्तिकमा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युड र १६ असोजमा बझाङ केन्द्रबिन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । 

हालसम्म प्राप्त विवरणअनुसार पाँच जिल्लामा प्रभावित घरपरिवार संख्या (अस्थायी आवास निर्माण गर्नुपर्ने) ८० हजार आठ सय ४८ पुगेको छ । ०७८ जनगणनाअनुसार रुकुम पश्चिम, जाजरकोट, सल्यान, बझाङ र बाजुरामा एक लाख ८७ हजार ८० घरधुरी संख्या छ । 

ad
ad