
भारतसँग सीमा जोडिएको कञ्चनपुरमा सीमास्तम्भहरूको मर्मत कार्य सुरु गरिएको छ। सशस्त्र प्रहरी बलले कञ्चनपुरका सीमास्तम्भहरूको मर्मत कार्य सुरु गरेको हो।
सशस्त्र प्रहरी बल नेपाल ३५ नम्बर शैलेश्वरी गणले भारतसँग जोडिएका सीमास्तम्भको मर्मत सम्भार कार्य सुरु गरेको छ। नेपाल–भारत कञ्चनपुरको पुनर्वास नगरपालिका- ११ डोकेबजारस्थित ७५३(१७१) नम्बर सीमापिलरदेखि मर्मत कार्य सुरु गरेको छ।
भारतीय प्रशासन, सीमा सुरक्षा बल(एसएसबी)सहितका अधिकारीको उपस्थितिमा सीमास्तम्भको मर्मत कार्य सुरु गरिएको हो।
सुदूरपश्चिम प्रदेश वैद्यनाथ बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) कुमार न्यौपानेले सरकारले दिएको जिम्मेवारीअनुरूप कञ्चनपुर, कैलालीका सीमास्तम्भको एकसाथ शुभारम्भ गरिएको बताए।
सशस्त्र प्रहरीका सुप प्रदेश प्रमुख समेत रहेका डिआइजी न्यौपानेले सन २०१४देखि यता निर्माण भएका सीमास्तम्भको मर्मत, रंगरोगन एवं पुनर्निर्माण गरिने बताए। सीमास्तम्भहरूको निर्माण मर्मतसम्भार र पुनर्स्थापनासम्बन्धी मापदण्ड ०८० अनुरूप नेपालका तर्फबाट बिजोर सीमापिलर पुनर्निर्माण गरिने बताए।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले सीमापिलर मर्मत कार्यबाट दुवै देशका सीमास्तम्भलाई स्पष्ट पारिदिने भएकाले विवाद उत्पन्न नहुने बताए। सीमालाई यथास्थितिमा राख्नदेखि दुवैतर्फ सीमा सुरक्षाका लागिसमेत जीर्णोद्धार भएका सीमापिलर मर्मत आवश्यक रहेकोसमेत बताए।
सशस्त्र प्रहरी बल नेपाल, ३५ नम्बर शैलेश्वरी गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेमबहादुर रावलले १८ मंसिरदेखि नेपालको भागमा परेका बिजोडा सीमापिलर निरन्तर मर्मत सम्भार गरिने बताए। एसपी रावलले कञ्चनपुरमा कुल ६६ सीमास्तम्भ पुनर्निर्माण, मर्मतसम्भार गरिने बताए।
उनका अनुसार रंगरोगन गर्नुपर्ने ३०, सामान्य मर्मत १६, मध्यमस्तरको मर्मत १७ र पूर्ण मर्मत ३ पिलर रहेकामा छन्। भारतीय पक्षले यसअघि नै जोडा सीमापिलर मर्मत गरिसकेको थियो।
जिल्लाको पुनर्वास नगरपालिका- ११ डोकेबजारदेखि पुनर्वास, बेलौरी, बेलडाँडी, शुक्लाफाँटा राष्ट्रिय, दोधारा-चाँदनी र भीमदत्त नगरपालिका ब्रह्मदेवसम्म मर्मत कार्य आगामी फागुनसम्मै सञ्चालन हुनेछ।
पुनर्वास नगरका मेयर तोयाप्रसाद शर्माले सीमापिलरको मर्मत, पुनर्निर्माण एव रंगरोगन कार्यबाट सीमा विवाद न्यूनीकरण हुने बताए। सीमा मर्मत कार्यक्रममा नेपाल भारत दुवै देशका सीमा सुरक्षा बल, प्रशासनसहितका अधिकारीहरुको सहभागिता थियो।