१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १६ शनिबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौँ
२o८o मङ्सिर १६ शनिबार १o:५६:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

हिमालय एयरलाइन्सद्वारा काठमाडौं-सांघाई सीधा उडान सुरु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८o मङ्सिर १६ शनिबार १o:५६:oo

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज ९:२० बजे एक सय ३७ यात्रुसहितको हिमालयको जहाज सांघाई उडेको छ। काठमाडौं-सांघाई उडान पाँच घण्टा २० मिनेटको हुनेछ।

हिमालय एयरलाइन्सले चीनको सांघाई सहरमा सीधा उडान सुरु गरेको छ। एयरलाइन्सले चीनको ठूलो सहर सांघाईमा आजदेखि नियमित उडान प्रारम्भ गरेको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज बिहान ९:२० बजे एक सय ३७ यात्रुसहितको हिमालयको जहाज सांघाई उडेको हो। उक्त जहाज सांघाईबाट यात्रु लिएर आज राति नौ बजे काठमाडौं विमानस्थलमा अवतरण गर्ने एयरलाइन्सले जनाएको छ।

काठमाडौं-सांघाई उडान पाँच घण्टा २० मिनेटको हुनेछ। हरेक शनिबार बिहान नियमित उडान हुने कम्पनीले जनाएको छ। सांघाईमा हिमालय एयरलाइन्सको यो पहिलो उडान हो। योसहित कम्पनीले चीनको राजधानी बेइजिङसहित विभिन्न नौ सहरमा उडान विस्तार गरेको छ।

उद्घाटन उडानबारे जानकारी दिन आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले चीनको मुख्य व्यापारिक र पर्यटकीय सहरमा सीधा उडानले दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाउनुका साथै बढीभन्दा बढी चिनियाँ पर्यटक नेपाल आकर्षण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे।

उनले नेपाल–चीन सम्बन्धलाई थप उचाइमा लैजान, व्यावसायिक साझेदारी बढोत्तरीका साथै चिनियाँ पर्यटक भित्र्याउन काठमाडौं–सांघाई हवाई सम्पर्क सञ्जालले टेवा पुग्नेमा विश्वास व्यक्त गरे।

उपाध्यक्ष श्रेष्ठले कोभिड–१९ पछि नेपालमा चिनियाँ उडान बढेको, सीमा नाकाहरू खुलेकाले आगामी दिनमा उडान बढ्ने र पर्यटक आगमनमा पनि बढोत्तरी हुने बताए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले कोभिड महामारीपछि चीनबाट क्रमशः उडान विस्तार भइरहेकाले आगामी दिनमा चिनियाँ पर्यटक बढ्ने विश्वास व्यक्त गरे। उनले पछिल्लो समय काठमाडौं विमानस्थलमा अन्तर्राष्ट्रियतर्फ दैनिक एक सयभन्दा बढी उडानमार्फत करिब १५ हजार यात्रु आवत-जावत गरिरहेको जानकारी दिए।

नेपालका लागि चिनियाँ राजदूतावासका आर्थिक तथा वाणिज्य कन्सुलर छी यूले सांघाई-काठमाडौंमा हिमालय एयरलाइन्सको उडानले दुई देशबीचको सम्बन्ध बलियो हुनुका साथै व्यापारिक दृष्टिले पनि महत्त्वपूर्ण भएको बताए।

सांघाई जनवादी गणतन्त्र चीनको ठूलो सहरमध्ये एक हो। करिब ४० मिलियन जनसंख्या रहेको सांघाई चीनको उद्योग कलकारखानाको राजधानीका रूपमा पनि कहलिएको छ। यो चीनको मुख्य व्यापारिक केन्द्र पनि मानिन्छ।