Skip This
सरुवाको सकसमा कर्मचारी
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १४ बिहीबार
  • Saturday, 27 July, 2024
हरि शर्मा
२o८o मङ्सिर १४ बिहीबार o७:४९:oo
Read Time : > 5 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

सरुवाको सकसमा कर्मचारी

कर्मचारीतन्त्रलाई चलायमान बनाउने महत्वपूर्ण औजार मानिने सरुवा व्यवस्थापन उपयुक्त प्रणालीको अभावका कारण मुच्र्छित अवस्थामा रहेको छ

Read Time : > 5 मिनेट
हरि शर्मा
नयाँ पत्रिका
२o८o मङ्सिर १४ बिहीबार o७:४९:oo

राज्यको चौथो बाहु तथा स्थायी सरकारका नामले परिचित कर्मचारीतन्त्र नेपालका सन्दर्भमा राम्रो काम गर्न नसकेको भनेर सधैँ आलोचनाको सिकार हुने गरेको छ । सरकारी कर्मचारी आफूलाई मालिकजस्तो ठान्छन्, काम गर्दैनन्, अल्छी छन्, जिम्मेवारी पन्छाउँछन्, समयमै निर्णय गर्दैनन्, परिवर्तनका बाधक छन् जस्ता भाष्य यति जबर्जस्त किसिमले सिर्जना गरिएका छन् कि यसलाई चिर्न लामै समय लाग्ने देखिन्छ । केही अपवादलाई छोड्ने हो भने कर्मचारीले कामै गर्दैनन् भन्नु अधिकांश काम गर्न खोज्ने तर अवसर नपाउने कर्मचारीका लागि ठूलो अन्याय हुन्छ ।

अन्य मुलुकका तुलनामा निकै कम तलब सुविधा र कम प्रोत्साहनका बाबजुद देशका कुनाकुनामा गएर सेवा प्रवाहमा होमिएका कर्मचारीको वास्तविक जीवन र पेसागत जिम्मेवारीमा देखिएका अड्चनबारे बुझ्ने कोसिस गर्ने हो भने उनीहरूले जति र जसरी काम गरिरहेका छन्, त्यो यति धेरै आलोचना खेप्नुपर्ने विषय होइन । अझ कर्मचारीतन्त्रभित्रका अधिकांश कर्मचारी सरुवाका कारण कति धेरै मारमा परेका छन् भन्ने बुझ्ने हो भने त ‘उनीहरू के उत्साहले काम गरिरहेका होलान् ?’ भन्ने भावना नउब्जिने सायदै कोही होला । सरुवाको जाँतोमा पिसिएका कर्मचारी ‘यो जुनी राम्रो सरुवा व्यवस्थापन नदेखेरै जाने भो’ भन्दै उत्साह मरेको अवस्थामा काम गरिरहेका छन् । कर्मचारीतन्त्रलाई चलायमान बनाउने महत्वपूर्ण औजार मानिने सरुवा व्यवस्थापन उपयुक्त प्रणालीको अभावका कारण मुर्छित अवस्थामा रहेको देखिन्छ ।

सरुवा व्यवस्थापन कर्मचारीतन्त्रभित्रको मानव पुँजीलाई देशको आवश्यकताअनुसार परिचालन गरेर राजनीतिले लिएका समृद्धिका योजनालाई मूर्तरूप दिने महत्वपूर्ण औजार हो । यसले कर्मचारीको सीप र क्षमताको सही प्रयोग हुने सुनिश्चतता गर्छ । यसले ‘नलेज सेयर’ अर्थात् ज्ञान साझेदारी गर्ने अवसर दिने, कार्यसम्पादनमा उत्साह भर्ने, कर्मचारीतन्त्रलाई सांस्कृतिक रूपमा सक्षम बनाई परिचालन गर्ने, विविधता व्यवस्थापन गर्ने, कामप्रति उत्तरदायित्व बहन गर्ने वातावरण सिर्जना गर्ने र सबैभन्दा बढी कर्मचारीमा सन्तुष्टिको विकासमा महत्वपूर्ण भूमिका खेल्ने गर्छ । संगठनलाई चलायमान बनाउने सरुवा व्यवस्थापन नेपालको सन्दर्भमा भनसुन, नातावाद, कृपावाद तथा राजनीतिक चलखेलको सिकार बन्न पुगेको छ । यो नै यसको विडम्बना हो । 

सरकारी जागिर खाई देश र जनताको सेवा गर्नका लागि जुन उत्साहसाथ परीक्षार्थीले लोकसेवा आयोगको परीक्षा दिन्छन्, त्यो उत्साह सरकारी सेवामा प्रवेश गरेको एकाध वर्षमै सरुवा व्यवस्थापनका कारण ओइलाउन थाल्छ । विश्व परिवेशमा हेर्दा सरुवाका विषयमा विभिन्न नवप्रवर्तन गरी संगठनको उद्देश्य सकेसम्म छिटो हासिल गर्ने औजारका रूपमा यसलाई लिइएको हुन्छ । 

सरुवालाई सरकारको कार्यकुशलताको रक्तसञ्चारका रूपमा पनि लिइन्छ, किनकि यसले सही मान्छेलाई सही समयमा सही स्थानमा लैजाने व्यवस्था गर्छ । तर, हाम्रो परिवेशमा संगठनको उद्देश्य हासिल गर्नेभन्दा पनि व्यक्तिगत अभीष्ट हासिल गर्ने औजारका रूपमा सरुवा बदनाम हुन पुगेको छ । रातदिन काममा खटिइरहने इमानदार कर्मचारी सधैँ ओझेलमा पर्ने, तर कामभन्दा पनि पहुँचका लागि खटिने कर्मचारी अवसरका हिसाबले सधैँ अग्रस्थानमा पर्ने देशको माहोलले अधिकांश कर्मचारीको मनोबल गिर्दो अवस्थामा छ । कर्मचारीलाई अफिसको कामको भन्दा पनि बढी ‘अब मेरो सरुवा कहाँ हुने हो ?’ भन्ने पिरलोले अनवरत सताइरहेको हुन्छ । यसरी कर्मचारीमा सरुवाकेन्द्रित चासो मात्र प्रधान रहने प्रतिकूल परिस्थिति सिर्जना गरी हामी कस्तो प्रणालीको सपना देखिरहेका छौँ, गहन प्रश्न तेर्सिएको छ । यस प्रश्नको जवाफ नखोजी कर्मचारीमा ऊर्जा भर्न सकिन्न । तर, यसबारे सोच्ने फुर्सद कसैमा छैन । 

कर्मचारीमा सरुवाकेन्द्रित चासो मात्र प्रधान रहने प्रतिकूल परिस्थिति सिर्जना गरी हामी कस्तो प्रणालीको सपना देखिरहेका छौँ ? यस प्रश्नको जवाफ नखोजी कर्मचारीमा ऊर्जा भर्न सकिन्न । 

सरुवाका लागि अब आउने संघीय निजामती सेवा ऐनले केही राम्रो व्यवस्था गर्छ कि भनेर सबैले चासोसाथ हेरिरहेका छन् । पक्कै पनि अब आउने संघीय निजामती सेवा ऐन कर्मचारीको सरुवा व्यवस्थित गर्ने कोसेढुंगाका रूपमा आउनु जरुरी छ किनकि यो अब तीनै तहको प्रशासनिक व्यवस्थालाई दिशानिर्देश गर्ने ऐनका रूपमा रहनेछ । संविधान निर्माण भएको आठ वर्षसम्म पनि आउन नसकेको यो ऐनको विषयमा पुनः अहिले बहस चलिरहेका कारण यो बहसमा सरुवा व्यवस्थापनको विषयसमेत प्रखरतासाथ उठ्न जरुरी छ । 

हुन त हाल कार्यान्वयनमा रहेको निजामती सेवा ऐनले पनि सरुवाका विषयमा विविध प्रबन्ध गरेको छ । विषयगत मन्त्रालय तथा विभागकेन्द्रित सरुवाका मापदण्ड र कार्यविधि नबनेका पनि होइनन् । तर, मापदण्ड र कार्यविधिले निर्देश गरेको बाटो एकातिर र सरुवा अर्कोतिर हुँदा अधिकांश कर्मचारीमा निराशा छाएको देखिन्छ । यदि कार्यविधिमा केही कमी–कमजोरी छ भने त्यसलाई अझ उन्नत बनाउने हो, एउटा कार्यविधिको विकल्प अर्को कार्यविधि हुन सक्छ, तर कार्यविधिको विकल्पमा दबाब, प्रभाव वा भनसुनलाई अघि सार्ने प्रवृत्तिलाई निरन्तरता दिने बाटामै हामी गयौँ भने यसले निकै डरलाग्दो प्रशासनिक संस्कृतिको सिर्जना गर्नेछ ।

यो एक–अर्कालाई दोष दिनेभन्दा पनि हामीले पाएको जिम्मेवारीलाई खरोसाथ निर्वाह गर्ने पाटोसँग जोडिएको छ । विशेषतः विद्यमान प्रशासनिक तथा राजनीतिक नेतृत्वले सरुवाको पद्धतिलाई व्यवस्थित गर्ने पाटोतर्फ गम्भीर भई लाग्ने हो भने यसले सकारात्मक नतिजा दिने थियो र सधैँ सरुवाकै पिरलोले सताइरहने कर्मचारीलाई कार्यालयको कार्यसम्पादन गर्दा थप उत्साह मिल्ने थियो । अनि, वर्तमानमा जो नेतृत्वमा हुन्छ, उसैप्रति नै पद्धति निर्माणको गम्भीर अभिभारा तेर्सिइरहेको हुन्छ । 

सरुवालाई व्यवस्थित गराउन केही आधारभूत प्रश्नको जवाफ खोज्नु जरुरी छ । हाम्रो सरुवा नीति के हो ? जुनसुकै मन्त्रालयको कर्मचारी जुनसुकै वेला जहाँ पनि सरुवा गर्न सकिने परिपाटी ठीक हो त ? विश्व परिवेशमा सरुवा, बढुवाका लागि अनलाइन प्लेटफार्म प्रयोग भइरहेका वेला यसप्रति हाम्रो चासो कहिले आउने हो ? कुनै कर्मचारी कुनै ठाउँमा सरुवा भएको कति अवधिसम्म त्यहाँ रहनुपर्ने हो ?

कार्यसम्पादनमा अब्बल रहने कर्मचारीलाई पुरस्कृत गर्ने गरी सरुवाको परिपाटी विकास गर्न सकिन्छ कि सकिन्न ? अनि कार्यसम्पादनमा कमजोर कर्मचारीको हकमा कस्तो व्यवस्था गर्न सकिन्छ ? कर्मचारीको पारिवारिक जिम्मेवारी पनि हुन्छ भन्ने बुझेर कम्तीमा एक कार्यकाल पछाडिको सरुवा थाहा पाउन सकिने पद्धति निर्माण गर्न हामी सक्छौँ कि सक्दैनौँ ? सरुवाको कार्यविधि बनिसकेपछि त्यसको कार्यान्वयन गर्न तथा निरन्तरता दिन हामी प्रतिबद्ध छौँ कि छैनौँ ? यदि यी प्रश्नको उत्तर व्यक्ति होइन, संगठन प्रधान रहने किसिमले दिन सकियो भने सरुवाको पद्धति निर्माण गर्ने दिशातर्फ महŒवपूर्ण फड्को साबित हुन सक्छ ।

नेपालमा सरुवामा देखिएको बेथिति समाधानका लागि कर्मचारी प्रशासनको केन्द्रीय निकायका रूपमा रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै सरोकारवालासँगको समन्वय तथा सुझाबसमेतका आधारमा सरुवासम्बन्धी कार्यविधि तयार गरी सोका आधारमा सबै कर्मचारीको अद्यावधिक विवरणसहित सरुवाकेन्द्रित सरुवा व्यवस्थापन प्रणाली सफ्टवेयर निर्माण गरी कार्यान्वयन गर्नु जरुरी छ ।

सो सफ्टवेयरलाई राष्ट्रिय किताबखाना निजामतीको सफ्टवेयरसँग समेत आबद्ध गरी सबै कर्मचारीको योग्यता, विशेष क्षमता, अनुभव, ज्येष्ठतालगायत विषयमा डाटा प्रोसेसिङ हुने गरी कर्मचारीको प्राथमिकता निर्धारण गर्ने व्यवस्था गर्नुपर्छ । सफ्टवेयरलाई कर्मचारीको व्यक्तिगत विवरणसहित संगठनको दरबन्दी संरचना, कर्मचारी कार्यरत रहेको अवधि तथा रिक्त दरबन्दीको डाटासमेत निकाल्न, विश्लेषण गर्न तथा प्रतिवेदन निकाल्न सक्ने गरी विकास गर्नु जरुरी छ । निश्चित अवधि पुगेपछि प्रणालीले नै सरुवा गर्नुपर्ने कर्मचारी र रिक्त स्थानबारे अवगत गराउने व्यवस्था गर्नुपर्छ, जसले गर्दा दबाब र प्रभावका आधारमा अवधि नपुग्दै सरुवा गर्ने अभ्यास निरुत्साहित हुन पुग्छ । साथै ‘राइट पर्सन इन राइट प्लेस’ कायम गर्न तथा व्यक्तिगत चाहनाका विषयलाई समेत सम्बोधन गर्न अनलाइन प्रणालीबाटै सरुवाको निवेदन लिने व्यवस्था गर्नुपर्छ । 

यसैगरी विषयगत मन्त्रालय तथा विभागको कार्यसम्पादन स्तरलाई उकास्नसमेत सरुवा व्यवस्था प्रभावकारी हुनु जरुरी छ । यसका लागि मन्त्रालय तथा विभागस्तरीय सरुवा मापदण्ड तयार गरी त्यसलाई कार्यान्वयनमा ल्याउनुपर्छ । साथै, प्रदेश र स्थानीय तहको सरुवासमेत प्रणालीकै आधारमा हुने गरी व्यवस्था गर्नु जरुरी छ । सरुवाका लागि जति विशिष्टीकृत कार्यविधि, मापदण्ड वा कार्यविधि ल्याउन सकिन्छ, त्यति नै सरुवाका नाममा खेल्ने ठाउँ कम हुन्छ । 

सरुवा प्रणाली यस्तो किसिमले विकास हुन सकोस् कि कुनै कर्मचारीको कुनै स्थानमा सरुवा हुँदा नेतृत्वमा ‘तिम्रो सरुवामा मेरो हात छ’ भन्ने अहं होइन, ‘संगठनात्मक उद्देश्य हासिल गर्न मैले प्रणालीमैत्री सरुवा गर्न सकेँ’ भन्ने सन्तुष्टिको भावना जागृत हुन सकोस् । अनि कर्मचारीलाई आफ्नो सरुवाका लागि विभाग, मन्त्रालय र नेताको पछि धाउनुपर्ने नियतिको अन्त्य हुन सकोस् ।

संयुक्त राज्य अमेरिकामा संघीय सरकार तथा राज्य सरकारले डिजिटल प्लेटफर्म तथा डाटा एनालिटिक्सको प्रयोग गरी कामको मागअनुरूप कर्मचारीको सीप र क्षमतालाई मिलान गर्छन्, जसले गर्दा सही मान्छेलाई सही ठाउँमा पठाउन सकियोस् । छोटो समयमा निकै अब्बल कर्मचारीतन्त्र निर्माण गर्न सकेको सिंगापुरले सरुवा प्रणालीमा निकै राम्रोसँग नवप्रवर्तन गरेको छ, जहाँ ‘सिभिल सर्भिस मोबिलिटी स्किम’ अन्तर्गत डिजिटल प्रणाली तथा प्रविधि प्रयोग गरी योग्यता तथा कार्यसम्पादनलाई प्राथमिकता दिने गरी सरुवा प्रणाली व्यवस्थित गरिएको छ । विकसित देशका उदाहरणले के भन्छन् भने सरुवा कसैको निगाहले होइन, कर्मचारीको कार्यसम्पादन, योग्यता तथा संगठनको आवश्यकताका आधारमा हुने गर्छ । 

अहिलेको समयमा भनेको काम गरेनन् भनेर सरकारी कर्मचारीलाई गाली गर्नुभन्दा पनि पद्धति निर्माणका लागि माहोल बनाउने समय हो । आदेश र निर्देशनभन्दा पनि पद्धतिले काम नगरी नहुने वातावरण निर्माणमा हाम्रो जोड हुनुपर्छ । कर्मचारीतन्त्रलाई भुत्ते बनाइरहेको अहिलेको सरुवा शैलीलाई उपयुक्त पद्धतिमा रूपान्तरण गर्ने गरी सरोकारवाला निकायबीच सार्थक बहस हुन सकेको छैन । सधैँ देश विकासका लागि चिन्तित बुद्धिजीवीवर्गले समेत सरुवा व्यवस्थापनमा पद्धतिगत हस्तक्षेप हुने गरी दबाब सिर्जना गर्न सकेको देखिँदैन । यसरी हेर्दा सरुवा व्यवस्थापन सबैको उपेक्षामा परेको देखिन्छ ।

सरुवालाई अझै पनि पद्धतिविहीन बाटोमा हिँडाइराख्ने या यसलाई राष्ट्रनिर्माणको औजारका रूपमा विकास गर्ने भन्ने छनोट अब हाम्रै हातमा छ । यदि अहिले पनि हामीले सरुवालाई व्यवस्थित गर्न सकेनौँ भने राजनीतिका जतिसुकै ठूला सपना, योजना र नीति भए पनि तिनले मूर्तरूप लिन सक्दैनन्, किनकि नीति र योजनाको व्यावहारिक कार्यान्वयन राजनीतिले होइन, कर्मचारीतन्त्रले गर्ने हो । अनि मुर्झाएको कर्मचारीतन्त्र लतारिन मात्र सक्छ, सक्रियतासाथ अघि बढ्न सक्दैन ।
(शर्मा नेपाल सरकारका उपसचिव हुन्)