१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
मोहन विष्ट कञ्चनपुर
Invalid date format १६:३o:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

निर्माण व्यवसायीद्वारा गाउँपालिकाका इन्जिनियरमाथि कुटपिट

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
Invalid date format १६:३o:oo

कञ्चनपुरको लालझाडी गाउँपालिकाका इन्जिनियर रामप्रसाद अवस्थीमाथि एक निर्माण व्यवसायीले कुटपिट गरेका छन्। इन्जिनियर अवस्थीलाई सोमबार दिउँसो कन्दकला कन्स्ट्रक्सन प्रालिका सञ्चालक भीमबहादुर रानाले कुटपिट गरेका हुन्।

रानाको कम्पनीले गत आर्थिक वर्ष ०७९/०८० मा कञ्ज गाउँमा एक किलोमिटर कालोपत्रे गर्ने ठेक्का पाएको थियो। उक्त ठेक्कामा गुणस्तरको विषयलाई लिएर प्रश्न गर्दा आफूलाई फिल्डमै बोलाएर रानाले कुटपिट गरेका इन्जिनियर अवस्थीले बताए।

निर्माण व्यवसायी रानाले भने कुटपिट गरेको विषयलाई अस्वीकार गरेका छन्। उनले योजनाको सुरुवाती चरणदेखि नै इन्जिनियर अवस्थीले आफूलाई दुःख दिएको र सोही विषयको छलफलका क्रममा सामान्य धकेलाधकेल मात्रै भएको बताए। ‘यो योजना सुरु हुँदाकै बखत इन्जिनियर रामप्रसाद अवस्थीले मसँग डेढ लाख घुस मागे। मैले दिइनँ। त्यसपछि उनले मेरो काम र योजनामा जहिल्यै पनि दुःख दिन थाले,’ निर्माण व्यवसायी रानाले भने, ‘इन्जिनियर हुँ भन्दैमा निर्माण व्यवसायीबाट अनधिकृत घुस माग्ने र मैले नदिएपछि काम फरफारक नगरिदिएपछि सामान्य धकेलाधकेल भएको मात्रै हो।’

इन्जिनियर अवस्थीले घुस नपाएपछि दुःख दिएकै कारण तनावको अवस्था सिर्जना भएको निर्माण व्यवसायी रानाको भनाइ छ। लालझाडीका अन्य निर्माण व्यवसायी एवं उपभोक्ताहरूले पनि यसअघि इन्जिनियर अवस्थीले घुसविना कामै नगरिदिने र दुःख दिने गरेको आरोप लगाउँदै आएका थिए।

ठेकेदारबाट कर्मचारी कुटिएको विषयमा पालिकाका अन्य कर्मचारीले समेत विरोध जनाएका छन्। निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन कञ्चनपुरका अध्यक्ष खगेन्द्र पण्डितले कर्मचारीमाथि कुटपिट निन्दनीय र भर्त्सनायोग्य भएको बताए। अध्यक्ष पण्डितले कर्मचारीले गल्ती नै गरेको भए पनि कारबाहीका लागि सम्बन्धित ठाउँमा उजुरी गर्नुपर्नेमा जोड दिए।

कञ्चनपुर निर्माण व्यवसायी संघका अध्यक्ष निरञ्जनप्रसाद भट्टले निर्माण व्यवसायीले गुणस्तरीय काम गर्नुपर्ने, कर्मचारीलाई कुटपिट गर्न नहुने र कर्मचारीले अनुचित प्रत्यक्ष तथा अप्रत्यक्ष लाभ रकम माग्न नहुने बताएका छन्। ‘यदि इन्जिनियरले निर्माण व्यवसायीबाट घुस मागेर उनलाई दुःख दिएको विषय सत्य भए भ्रष्टाचार र गलत कार्य हो,’ अध्यक्ष भट्टले भने, ‘निर्माण व्यवसायीले पनि गुणस्तरीय काम नगरेर कुटपिट गरेको भए त्यो पनि गलत हो।’