Skip This
पालभित्रको कक्षामा उकुसमुकुस, चउरमा बस्न रुचाउँछन् विद्यार्थी
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर ११ सोमबार
  • Saturday, 27 July, 2024
मनीष खड्का रुकुम पश्चिम
२o८o मङ्सिर ११ सोमबार o८:१३:oo
Read Time : > 2 मिनेट
समाचार प्रिन्ट संस्करण

पालभित्रको कक्षामा उकुसमुकुस, चउरमा बस्न रुचाउँछन् विद्यार्थी

भूकम्प प्रभावित क्षेत्रमा विद्यालयको चउरमा अस्थायी सिकाइ केन्द्र बनाएर कक्षा सञ्चालन हुुँदै, पालभित्र कोचिएर बस्नुपर्ने र हावा पास नहुँदा उकुसमुकुस हुने भएकाले चउरमा बसेर पढ्छन् विद्यार्थी

Read Time : > 2 मिनेट
मनीष खड्का, रुकुम पश्चिम
नयाँ पत्रिका
२o८o मङ्सिर ११ सोमबार o८:१३:oo

रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–११ स्थित नेपाल राष्ट्रिय माविका विद्यार्थी आइतबार चउरमा बसेर पढिरहेका थिए । विद्यालयको चउरमा सातवटा सिकाइ केन्द्र (प्लास्टिक, पाललगायतका सामग्री प्रयोग गरेर बनाइएका टहरा) निर्माण भइसकेका छन् । अझै तीनवटा निर्माणको चरणमा छन् ।

पालभित्र गर्मी हुने भएकाले खुला चउरमा बसेको बिद्यार्थीहरूले बताए । कक्षा ९ मा अध्ययनरत सिर्जना खत्रीले पालभित्र बस्दा उकुसमुकुस हुने गरेको बताइन् । ‘भूकम्पपछि कक्षा कोठामा बस्न सकेका छैनौँ । कक्षा नै पालभित्र छ । सानो ठाउँमा कोचिएर बस्नुपर्छ, गर्मी हुन्छ । हावा पास नहुँदा उकुसमुकुस हुन्छ,’ उनले भनिन्, ‘त्यही भएर चउरमा बसेर पढ्ने गरेका छौं ।’ राष्ट्रिय मावि ९ कक्षामा अध्ययनरत सलिन घर्तीले पनि पालभित्र बस्दा टाउको दुख्नेलगायतका समस्या हुने गरेको बताए । ‘घर भूकम्पले भत्कायो । पालभित्रै सुत्छौँ । घरमा साँझ, राति र बिहान पालमा बस्दा निकै चिसो हुन्छ,’ उनले भने, ‘स्कुल आएर पनि पालमा बस्नुपर्छ । दिउँसो भएकाले गर्मी हुन्छ ।’  

प्रध्यानाध्यापक विवेककुमार शाहले पनि अस्थायी सिकाइ केन्द्र प्रभावकारी नभएको बताए । ‘तत्कालका लागि पठनपाठनको अवस्था नभएका बेला विद्यार्थीलाई विद्यालयमा बोलाउने र त्रासको वातावरणबाट मुक्त गर्नुपर्ने छ,’ शाहले भने, ‘लामो समयसम्म विद्यार्थीलाई पालमुनि राखेर पढाउन सकिने अवस्था छैन । धेरै विद्यार्थीमा टाउको दुख्नेसमस्या देखिएको छ ।’ हावाहुरीसहित पानी परेमा पनि पालले थेग्न सक्ने अवस्था नरहेको उनले बताए  । ‘यस्तो चिसोका दिनमा पनि दिउँसो पालभित्र गर्मी हुन्छ । हावाहुरी चल्ने सिजन आउँदै छ,’ उनले भने, ‘हावा चल्यो, पानी प¥यो भने कुनै पनिपाल बाँकी रहने छैनन् ।’ जस्तापाताको व्यवस्था गरेर स्थानीयस्तरमै काठको प्रयोग गरेर अस्थायी संरचना बनाएर टहरा बनाउनुपर्ने उनले बताए ।  

आठबीसकोट नगरपालिकाका मेयर रवि केसीले अस्थायी संरचना निर्माण गरेर कक्षा सञ्चालन गर्ने योजना रहेको बताए । ‘अहिलेलाई बालबालिकालाई पालभित्र राखेर परामर्श गर्ने गरिएको छ, त्यसपछि विद्यालयमा अस्थायी संरचना बनाएर अगाडि बढ्ने सोचेका छौँ,’ उनले भने । रुकुम पश्चिमका आठबीसकोटमा एक सय ३९ र सानीभेरी गाउँपालिकामा ७४ गरी दुई सय १३ अस्थायी सिकाई केन्द्रमार्फत पठनपाठनको प्रयास भइरहेको छ । 

राष्ट्रिय माविमा चार सय १७ विद्यार्थी अध्यनरत छन् । छिमेकी जिल्ला जाजरकोटका विद्यार्थी पनि यो विद्यालयमा पढ्न आउछन् । तर, १७ कात्तिकको भूकम्पपछि विद्यालयका कक्षाकोठामा पठनपाठन भएको छैन । मंसिरबाट खुला चउर र सिकाइ केन्द्रमा पढने व्यवस्था गरिए पनि विद्यार्थीको उपस्थिति न्यून छ । यो विद्यालयमा आइतबार कक्षा चार र कक्षा तीन एउटै ठाउँमा सञ्चालन गरिएको थियो । कक्षा तीनका १८ मध्ये  तीन र कक्षा चारका ३१ मध्ये १० जना मात्र उपस्थित थिए । अन्य कक्षाका विद्यार्थी पनि निकै कम थियो । भूकम्पपछि आफ्ना साथीहरू विद्यालय आउनै छाडेको कक्षा चारमा अध्ययनरत् जाजरकोटको नलगाड नगरपालिका–७ चामखेतकी मिनिसा पुनले बताइन् । प्रधानाध्यापक शाहका अनुसार विद्यालयमा चार सय १७ विद्यार्थी अध्ययनरत रहे पनि  ७०–८० मात्र आउने गरेका छन् ।  

 जाजरकोटमा अस्थायी केन्द्र निर्माणमा बेवास्ता
जाजरकोटमा भने अझै भने अस्थायी सिकाइ केन्द्र निर्माण गरिएको छैन । शिक्षा विकास तथा समन्वय इकाइ जाजरकोटका सूचना अधिकारी तिलक भट्टराईले कुन ठाउँमा कति सिकाइ केन्द्र आवश्यक छ भनेर पालिकाबाट विवरण नआएकाले काम अगाडि बढ्न नसकेको बताए । यद्यपि, छेडागाड नगरपालिकामा भने २४ सिकाइ केन्द्र निर्माण गरिएको छ । त्यसबाहेक क्षेत्रमा सिकाइ केन्द्र निर्माण गरिएको छैन ।

भेरी नगरपालिका–१ रिम्नाको भेरी त्रिवेणी माविमा आइतबार विद्यार्थी चउरमा थिए । कक्षा–कक्षा विभाजन गरेर सबै विद्यार्थीलाई चउरमा राखिएको थियो । कक्षा ८ का विद्यार्थीलाई शिक्षक प्रचण्डजंग शाहले सम्हालिरहेका थिए । उनले विद्यार्थीलाई भूकम्प गएको रातको स्मरण लेख्न लगाएका थिए । कक्षाकोठा बस्न नमिल्ने नभएपछि सबै विद्यार्थीलाई चउरमै राखिएको शिक्षक शाहले बताए । अस्थायी सिकाइ केन्द्र नहुञ्जेलसम्मका लागि विद्यार्थीलाई खुला चउरमा राख्नुको विकल्प नभएको प्रध्यानाध्यापक प्रेम पुनले बताए । 

भूकम्पपीडितले अस्थायी आवासको अनुदानका लागि बैंक धाउन नपर्ने, नगद पाउने
 भूकम्पपीडितले अस्थायी आवासबापतको सरकारी अनुदानका लागि बैंक धाउनु नपर्ने भएको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा आइतबार बसेको विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २०औँ बैठकले अनुदानसम्बन्धीको व्यवस्थालाई थप सरलीकृत गरी बैंकिङ प्रणालीबाट हुन सक्ने विलम्ब घटाएर अनुदान रकम लाभग्राहीको हातमा पुग्ने सुनिश्चित गरेको हो । विपत् प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काका अनुसार अब लाभग्राही छनोटपछि अस्थायी आवासका लागि पालिकाले नगद अनुदान हस्तान्तरण गर्र्नेछन् । यसले अस्थायी आवास निर्माणको प्रक्रियालाई छरितो बनाउने उनले बताए ।