१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
वीरगन्जविरुद्ध गोल गरेपछि धनगढीका स्ट्राइकर अहमेद हिजाजी
नयाँ पत्रिका काठमाडाैं
२०८० मङ्सिर ११ सोमबार ०७:४३:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नेपाल सुपर लिग : धनगढीको जितमा लेबनानका हिजाजीको योगदान

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० मङ्सिर ११ सोमबार ०७:४३:००

लेबनानका स्ट्राइकर अहमेद हिजाजीले नेपाली फुटबलमा आफ्नो उपस्थिति कति महत्वपूर्ण रहेको प्रस्ट पारेका छन् । २९ वर्षीय अनुभवी खेलाडीले २८ मिनेट मैदानमा बिताउँदै गोल मात्रै गरेनन्, धनगढीलाई ३ अंकसमेत दिलाए । दरशथ रंगशालामा चलिरहेको दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल)मा आफ्नो पहिलो खेलमा धनगढीले आइतबार नयाँ टोली वीरगन्ज युनाइटेड एफसीलाई २–१ ले हरायो । धनगढीको जितमा दुवै गोल विदेशी खेलाडीले गरेका थिए । खेलभरि समग्रमा तीनै गोल विदेशी खेलाडीकै नाममा रह्यो । हिजाजीसँगै धनगढीका लागि फोडे फोफानाले गोल गरेका हुन् । वीरगन्जका लागि हान्स कोफीले पेनाल्टीमा एक गोल गरे ।

धनगढीको जितमा ९०औँ मिनेटमा हिजाजीले निर्णायक गोल गरेपछि प्रशिक्षक युगलकिशोर राईले उनको प्रशंसा गर्न कुनै कञ्जुस्याइँ गरेनन् । ‘हिजाजी नेपाली फुटबलमा आएका विदेशीमध्येकै उत्कृष्ट खेलाडी हुन्,’ राईले भने, ‘उनी टोलीमा ढिला जोडिन पुगे, त्यसैले पहिलो खेलमा थोरै समय मौका पाए ।’ हिजाजी तीन दिनअघि मात्रै लेबनानबाट नेपाल आइपुगेका हुन् । धनगढीले लिगभरि खेल्न उनलाई लोनमा झिकाएको हो । यसअघि हिजाजी सहिद स्मारक ‘ए’ डिभिजन लिगमा नेपाल पुलिस क्लबमा आबद्ध थिए । 

लिगमा उनले पुलिसका लागि १४ खेलमा आठ गोल गरेका थिए । १४ खेल नै पूरा समय खेलेका थिए । उनकै प्रभावशाली प्रदर्शनमा पुलिस क्लब गत वर्षको ‘ए’ डिभिजन लिगको रेलिगेसनबाट जोगिएको थियो । चेतन घिमिरेको प्रशिक्षणमा रहेको पुलिस लिगको समाप्तिमा तेस्रो स्थान प्राप्त गर्न सफल भयो ।

गत वर्ष नेपाल पुलिस क्लबलाई ‘ए’ डिभिजन लिगको रेलिगेसन रक्षा गरेका लेबनानका स्ट्राइकर अहमेद हिजाजीले धनगढीका लागि अन्तिम मिनेटमा विजयी गोल गरे
 

‘हिजाजी कस्तो खेलाडी सबैलाई थाहा छ । पुलिसलाई रेलिगेसनबाट मात्रै जोगाएन्, तेस्रो स्थानमा पुर्‍याउन सफल भए,’ गत सिजन धनगढीलाई उपविजेता बनाउँदासमेत प्रशिक्षक रहेका राईले भने, ‘यसपटक धेरै आशा गरेका छौँ ।’ सुपर लिगमा डेब्यु गरेको वीरगन्जले हारबाट प्रतियोगिता सुरु गरेको छ । डेब्युमै जित योजना बनाएका प्रशिक्षक सनोज श्रेष्ठले तालमेल नमिलेको प्रतिक्रिया दिए । ‘तालमेल नमिल्दा सुरुमै गोल बेहोर्‍यौँ, यसले हामीलाई गाह्रो बनायो, दोस्रो हाफमा बराबरतर्फ अग्रसर खेलमा डिफेन्समा गल्ती भयो,’ श्रेष्ठले भने । 

फोफानाको दोस्रो मिनेटमै गोल 
फोडे फोफानाले खेलको दोस्रो मिनेटमै धनगढीलाई १–० को अग्रता दिलाए । अर्का विदेशी खेलाडी आफिज ओलावालेले गरेको क्रसमा फोफानाले बक्सभित्रबाट सहज गोल गरेका थिए । अनमार्क रहेका फोफाना सुपर लिगमा छिटो गोल गर्ने पहिलो खेलाडी बनेका छन् । उनी वान टचमै वीरगन्जको पोस्टमा गोल गर्न सफल रहे । पहिलो गोल बेहोरेपछि वीरगन्ज आक्रामक बन्यो । बल पोसेसन राख्दै वीरगन्जले धनगढीमाथि दबाब बनायो । आइकोनिक खेलाडी तेज तामाङको साथ पाएको वीरगन्जले चार विदेशी खेलाडी उतारेको थियो । वीरगन्जका एक विदेशी खेलाडी घाइते भएका कारण मैदानमा प्रवेश गर्न सकेनन् । वीरगन्जले पहिलो हाफको इन्जुरी समयमा बराबरी गोल फर्काएको थियो । 

कोफीले पेनाल्टीमा गोल गर्दै वीरगन्जलाई १–१ को बराबरीमा ल्याए । बक्सभित्र धनगढीका रक्षक डियाग्ने फालोउले हातले बल छोएपछि रेफ्री प्रज्वल क्षेत्रीले वीरगन्जलाई पेनाल्टी दिए । कोफीले धनगढीका गोलरक्षकलाई छेक्ने मौका नै नदिई सहजै बराबरी गोल फर्काए । अन्तिम समय सम्हालिन नसक्दा हिजाजीले ९०औँ मिनेटमा गोल गर्न सफल रहे । उनी खेलको ६२औँ मिनेटमा डिआग्नेको स्थानमा मैदान प्रवेश गरेका थिए । 

हिजाजीले अट्याकिङ मिडफिल्डर तथा प्लेयर अफ दी म्याच छुन्जुको पासमा गोलरक्षक दीप कार्कीलाई जिल्याउँदै गोल गरेका हुन् । प्रशिक्षक सनोजले विदेशी खेलाडी घाइते हुँदा समस्या भएको बताए । ‘हाम्रो एक विदेशी खेलाडी घाइते छन्, अन्य खेलाडीबाट सन्तोषजनक प्रदर्शन रह्यो,’ श्रेष्ठले भने, ‘पहिलो खेलमा पराजित हुँदा केही बिग्रेको छैन, आगामी खेलमा राम्रो प्रदर्शन गर्नेछौँ ।’

राम्रो रेफ्री ल्याउनुपर्छ
युगलकिशोर राई, प्रशिक्षक, धनगढी 

हामीलाई पहिलो खेल भएकाले गाह्रो भयो । नयाँ खेलाडी मैदान प्रवेश गरेका थिए । हामीले ३ अंक डिजर्भ गरेका छौंँ । पहिलो हाफमा राम्रो खेल्यौँ, तर वीरगन्जले दबाबमा राख्यो । गोल पनि गरेको हो । त्यसमा हाम्रो गल्ती धेरै थियो । हामीले खेलमा धेरै गोलको अवसर गुमायौँ । राम्रो बल सदुपयोग भएन । दोस्रो हाफमा फाइनल गोल भयो । प्रतियोगितामा राम्रो रेफ्री ल्याउनुपर्छ । उहाँहरूको इमोसनल बढी भयो । तर, रेफ्रीमा कुनै कमेन्ट छैन । हामीले उहाँहरूलाई बुझेका छौँ । हाम्रो विदेशी खेलाडी व्यावसायिक छन् । मैदान मात्रै हेरेर हुँदैन, मैदानबाहिर सबै राम्रा छन् । 

डिफेन्समा समस्या देखियो 
सनोज श्रेष्ठ, प्रशिक्षक, वीरगन्ज युनाइटेड

खेलाडीबीच सुरुमा तालमेल नै मिल्न नसकेर गोल बेहोरियो । त्यसवेलासम्म टिम सेट नै भएको थिएन । खेलाडीमाथि मार्किङ गर्न पनि चुक्यौँ । यद्यपि, बल पोसेसन राख्दै आक्रमण गरिरह्यौँ । त्यसैले पेनाल्टी पनि प्राप्त भयो । सोचेको समयमै बराबरी गोल भयो । दोस्रो हाफ बराबरीको स्थितिमा थियो । डिफेन्समा चुक्न पुग्यौँ । जसका कारण दोस्रो गोल भयो । विदेशी खेलाडीको प्रदर्शन औसत रह्यो । एक विदेशी खेलाडी नहुँदा समस्या भयो । आगामी खेलमा राम्रो गर्दै पुनरागमन गर्नेछौँ ।