मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० फाल्गुण १० बिहीबार
  • Thursday, 22 February, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० मङ्सिर १० आइतबार १८:०३:००
Read Time : > 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

जात व्यवस्था र यौनिकता विषयमा चित्रकला प्रदर्शनी हुने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० मङ्सिर १० आइतबार १८:०३:००

‘जात व्यवस्था र यौनिकता : कलामार्फत प्रतिरोध’ शीर्षकमा चित्रकला प्रदर्शन हुने भएको छ। सामरी उत्थान सेवा र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा मंसिर १४ देखि २० गतेसम्म प्रतिष्ठानको प्रदर्शनी कक्षमा हुने भएको हो।

प्रदर्शनीमा देशभरबाट दलित समुदायका यौनिक तथा लैंगिक अल्पसंख्यक (एलजिबिटिआइक्यू) कलाकारहरूसहित ३८ कलाकारहरूका चित्रकला प्रदर्शनीमा राखिनेछ। 

प्रदर्शनीले दलित आन्दोलन र एलजिबिटिआइक्यू समुदायको आन्दोलनभित्र जातका आधारमा दलित एलजिबिटिआइक्यू व्यक्तिहरूले भोग्नुपरेको बहिष्करण र विभेदविरुद्ध आमबहसको वातावरण सिर्जना हुने  सामरी उत्थान सेवाकी निर्देशक विमला गायकले बताइन्।

‘प्रदर्शनीले दलित समुदायका लैंगिक तथा यौनिक अल्पसंख्यक व्यक्तिहरूको कला र क्षमताको मात्रै उजागर गर्ने छैन, बरु उनीहरूबीच अधिकारका लागि संगठित पहल गर्नका लागिसमेत प्रेरणा दिनेछ,’ उनले भनिन्।

नेपालको एलजिबिटिआइक्यू समुदायको आन्दोलनमा मात्र होइन दलित आन्दोलनभित्र समेत जात, लिंग र यौनिकताका विषयमा पर्याप्त बहस नभएको उनको भनाइ छ।

‘दुई दशकभन्दा लामो समय नेपालको लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको आन्दोलन भए पनि यो समस्या ज्युँकात्युँ छ,’ गायकले थप भनिन्, ‘हामीले समावेशी राज्य संरचना र लोकतान्त्रिक मूल्यहरूको वकालत गर्दैगर्दा हाम्रो आन्दोलन स्वयंले यी मूल्यहरूलाई आत्मसात गर्‍यो वा गरेन भन्ने प्रश्नबाट हामी पन्छिन मिल्दैन।’

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका हस्तकला विभाग प्रमुख प्राज्ञ अरुणा हिङमाङले यो चित्रकला प्रदर्शनी नेपाली कला इतिहासमै सम्भवतः पहिलो भएको बताइन्। उनले ललितकला प्रतिष्ठान सीमान्तकृत समुदायको कला र सिर्जनाको प्रवर्द्धनका लागि मात्रै नभएर उनीहरूको अधिकारका लागिसमेत प्रतिबद्ध रहेको बताउँदै भनिन्, ‘गणतन्त्र स्थापनापछि आमनागरिकमा मात्र नभएर कला क्षेत्र र कलासम्बन्धी राज्यका निकायमा पनि सीमान्तकृत समुदायको मुद्दामा चासो बढिरहेको उदाहरण चित्रकला प्रदर्शनीले देखाउनेछ।’

दलित क्विअर नेपालका संयोजक नतासा परियारले यो चित्रकला प्रदर्शनीले आन्दोलनभित्र जात व्यवस्थाका कारण दलित यौनिक तथा लैंगिक अल्पसंख्यक व्यक्तिहरूमाथिको ऐतिहासिक विभेद र बहिष्करणका अर्थ राजनीतिक प्रश्नहरूलाई स्थापित गर्न सहयोग पुग्ने बताइन्।

‘पितृसत्ताको अन्त्य मात्रले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको मुद्दालाई स्थापित गर्न सकिँदैन। निश्चित जातका महिला र पुरुषहरूबीचको विवाह, प्रेम र यौनलाई उच्च र पवित्र ठान्ने जात व्यवस्थामा आधारित पितृसत्ताको अन्त्यविना यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अधिकार स्थापित हुन सक्दैन,’ उनले भनिन्। अन्तरजातीय क्विअर प्रेम नै वास्तविक प्रेम भएकाले यो नै पितृसत्ता र जातविरोधी समाज निर्माणको अनिवार्य सर्त हुनेमा उनको जोड छ।

सामरी उत्थान सेवाले गत भदौमा सातै प्रदेशका २५ जना दलित समुदायका लैंगिक तथा यौनिक अल्पसंख्यक व्यक्तिहरूबीच गरेको एक अध्ययनमा ४४ प्रतिशतले आफू परिवारसँग छुट्टिएर सहरी क्षेत्रमा बसोबास गर्दै आएको बताएका थिए।

उनीहरूमध्ये ३२ प्रतिशतले आफ्नो यौनिक पहिचानकै कारण सबैभन्दा बढी परिवारबाट विभेद भोग्नुपरेको बताएका थिए भने ४८ प्रतिशतले जातकै आधारमा गैरदलित लैंगिक तथा यौनिक अल्पसंख्यक व्यक्तिहरूबाटसमेत हिंसा भोगेको बताएका थिए।