
सरकारले सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी गठन भएको जाँचबुझ आयोगमा चारजना जनशक्ति थप गर्ने निर्णय गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगमा रापत्रांकित द्वितीय श्रेणीका सरकारी वकिल, राजस्वबाट रापत्रांकित द्वितीय श्रेणीका उपसचिव, प्रहरी नायव उपरीक्षक र राजपत्रांकित तृतीय डाटा एनाइलाइटिस्टलाई नियुक्त गर्ने निर्णय गरेको हो।
यस्तै, सरकारले विद्युतीय सुशासन आयोगको सदस्यमा कञ्चनपुरनिवासी पूर्णबहादुर कुँवरलाई नियुक्त गर्ने निर्णय गरेको छ।
प्राविधिक शिक्षाको क्षेत्रमा स्विजरल्यान्ड सरकारले प्रदान गर्ने स्विस फ्रेंक ४.४६५ मिलियन (करिब ६५ करोड) अनुदान स्वीकृत गर्ने निर्णय भएको छ।
मन्त्रिपरिषद् बैठकले नेपाली सेनाका उपरथि ताराध्वज पाण्डेले व्यक्तिगत कारण दर्शाई आफ्नो पदबाट दिएको राजीनामा गत २४ कात्तिकबाट लागू हुने गरी स्वीकृत गर्ने र ऊर्जासचिव दिनेशकुमार घिमिरेले दिएको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको छ।