
त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेमबहादुर चलाउनेको मुद्दामा सुनुवाइ सुरु भएको छ । काठमाडौं जिल्ला अदालतमा बुधबारबाट सुनुवाइ सुरु भएको हो । यस मुद्दालाई बिहीबारका लागि हेर्दाहेर्दैमा राखिएको निवेदक चलाउनेले जानकारी दिए ।
उपप्राध्यापक चलाउनेमाथि २० असोज ०७७ मा सांघातिक आक्रमण भएको थियो । जसमा कांग्रेसनिकट विद्यार्थी नेताहरू योगेन्द्र रावल, हरि आचार्यलगायतले योजनाबद्ध आक्रमण गरेको भन्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा चलिरहेको छ । कुल सातजना प्रतिवादीमाथि २० कात्तिक ०७७ मा ज्यान मार्ने उद्योगको कसुर गरेको भन्दै मुद्दा दर्ता भएको छ । यसैमाथि सुनुवाइ सुरु भएको हो ।
बुधबार तीनजना सरकारी वकिलसहित चलाउनेका तर्फबाट नौजनाले बहस गरेका थिए भने प्रतिवादीका तर्फबाट चारजना कानुन व्यवसायीले बहस गरेका छन् । बिहीबार अझै पनि केही कानुन व्यवसायीले प्रतिवादीको प्रतिरक्षा गर्नेछन् । जसपछि निवेदकका तर्फबाट जवाफी बहस हुनेछ र फैसला आउने सम्भावना छ ।