१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १८:१४:oo
Read Time : > 1 मिनेट
ad
ad
साहित्य डिजिटल संस्करण

काव्य परिक्रमामा नृपेशको एकल गजलवाचन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १८:१४:oo

युवा गजलकार नृपेश उप्रेतीको एकल गजल वाचन गरिएको छ। काव्यकुञ्ज साहित्य प्रतिष्ठान चितवनको आयोजना र रत्ननगर वाङ्मय परिषद्को सहकार्यमा शनिबार रत्ननगरमा आयोजित कार्यक्रममा गजलकार नृपेश उप्रेतीले गजल प्रस्तुत गरेका हुन्।

रत्ननगर नगरपालिकाको सभाहलमा आयोजना गरिएको कार्यक्रममा उप्रेतीका गजल सुन्न चितवन र नवलपरासीका स्रस्टाहरूको बाक्लो उपस्थिति थियो। कार्यक्रमको सुरुवात उनले तरन्नुमबाट गरेः

यो प्रेमपथ हो यसमा काँडा हुनेछ हरदम
गन्तव्य पास लाग्छ, टाढा हुनेछ हरदम ।

साम्राज्य ढल्छ हरएक, एउटा समय सीमामा
राजा जो हुन्छ मनको, राजा हुनेछ हरदम ।।

उप्रेतीले कार्यक्रममा शृंगाररस र समसामयिक गजलहरू सुनाएका थिए। रत्ननगर, चितवन घर भएका उनी पछिल्लो समय बेलायत बस्दै आएका छन्। विसं २०७४ सालमा ‘मुसाफिर’ गजलसंग्रह प्रकाशन गरेका उनका एक सय बढी गजल रेकर्ड पनि भएका छन्। केही नेपाली चलचित्रमा पनि उनका गीत समावेश छन्।

मौसम थियो बदलियो गुनासो के गरूँ
हावाले निभ्दा दियो गुनासो के गरूँ ।

सम्बन्ध यस्तो बन्यो जस्तो पुरानो लुगा 
टाल्दै गएँ च्यातियो गुनासो के गरूँ ।।

करिब दुई घण्टाको बसाइँमा नृपेशले २० वटा गजल प्रस्तुत गरे। अधिकांश गजल तरन्नुममा प्रस्तुत गरेका उनले केही गजललाई वाचन गरे। उनका हरेक शेरलाई स्रोताले ध्यानपूर्वक सुनेका थिए भने गजलमा तालीको लहर पनि उत्तिकै आएको थियो। 

थोपा हुँ पानीको म आफ्नै सफर छँदै छ
गंगा बनेर बग्ने मनमा रहर छँदै छ ।

हतियार खोज्नलाई पर्दैन भो तिमीले
मार्ने भए मलाई कातिल नजर छँदै छ ।।

प्रेमको प्राप्ति र समर्पणलाई सम्बोधन गरेर लेखेका गजल पनि उनले सुनाए। प्रणय भावका गजलले गजल सुन्न जम्मा भएको माहोल पनि मन्त्रमुग्ध बनेको थियो।

कार्यक्रममा बोल्दै गजल मञ्च चितवनका अध्यक्ष लेखराम सापकोटाले नृपेश उप्रेती गजलका क्षेत्रमा स्थापित नाम भएको बताए। ‘नृप्रेशजीले राम्रा गजल लेख्नुहुन्छ, चितवनको गजल गतिविधिमा उहाँको योगदान प्रशंसनीय छ,’ सापकोटाले भने।

रत्ननगर वाङ्मय परिषद्का अध्यक्ष रामबाबु घिमिरेले गजलकार उप्रेतीले गजल लेखेरै आफूलाई स्थापित गरेको बताए। कार्यक्रमलाई काव्यकुञ्ज साहित्य प्रतिष्ठानका अध्यक्ष कमल अर्यालले सहजीकरण गरेका थिए।

ad
ad